• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै

blog

धनगढी, जेठ ५ गते । सुदूरपश्चिम प्रदेश सरकारको १०० पुगेकै दिन आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका १०० दिन पुगेको अवसरमा आयोजना गरेका कार्यक्रममा सो कुरा जानकारी दिनु भएको हो । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म भए पनि पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताउनुभयो ।

मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन् । आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद (अछाम)  सामाजिक विकास मन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, वन तथा वातावरण मन्त्री हुनु हुने भएको छ । माओवादीबाटै गीता माल (डडेलधुरा) राज्यमन्त्री हुने भए पनि उहाँको मन्त्रालय बारे टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताउनुभयो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेसम चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउँदा टीका थापा हुने चर्चा छ । 

यस्तै नेपाली कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुङ्गो लागेको छैन । अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिला मन्त्री हुनुहुन्छ ।

Author

प्रकाशविक्रम शाह