• २३ वैशाख २०८१, आइतबार

समृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : प्रधानमन्त्री

blog

काठमाडौं, जेठ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार ल्याउने र धेरै प्रतिफल प्राप्त गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि हासिल गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो । 

उहाँले सरकारले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जस्ता कार्यमा विशेष जोड बताउनुभयो । उहाँले त्यस्ता कार्यक्रमबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जाने विश्वास लिएको बताउनुभयो । 

उहाँले बजेट बनाउँदा आवश्यक पर्ने सुझाव विज्ञहरूबाट प्राप्त भएपछि त्यसले मुलुकलाई विकास र समृद्धितिर डोर्‍याउन सहयोग पुर्‍याउने बताउनुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको समयमा विज्ञको सुझावले ठुलो भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ को महामारी र पछिल्लो समयको रुस–युक्रेन युद्धबाट आपूर्तिमा आएको अवरोधले नेपालको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको बताउनुभयो । 

उहाँले सरकारले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न चालेका कदमका कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको दाबी गर्नुभयो । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति पनि बढेको बताउँदै उहाँले तरलता र ब्याजदरलगायतका परिसूचकमा समेत सुधार आएको बताउनुभयो । 

बजेट अर्थतन्त्रका क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो । अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्नेलगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अङ्ग, निजी क्षेत्रले समन्वयात्मक पहल गर्नुपर्ने बताउनुभयो । 

प्रचण्डले राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण 

परिवर्तन हासिल गर्न सफल भए पनि जनताको आर्थिक, सामाजिकस्तरमा परिवर्तन हुन नसकेको बताउँदै आमजनमानसमा एक प्रकारको निराशा र वितृष्णा पैदा भएको साँचो रहेको स्वीकार गर्नुभयो ।

मुलुक सङ्घीय संरचनामा गएपछि सङ्घ, प्रदेश तथा स्थानीय तहले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यलाई अझ छिटोछरितो र गुणस्तरीय बनाउन सक्ने आधार तयार भएको उहाँले दाबी गर्नुभयो ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्त्वपूर्ण कदम चालिएको बताउँदै उहाँले सुशासन, समृद्धि तथा सामाजिक न्यायलक्षित विभिन्न नीति र कार्यक्रम  कार्यान्वयन गरिएको भन्नुभयो । 

उहाँले भ्रष्टाचारीलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताको विभिन्न माध्यमबाट समर्थन र ऐक्यबद्धताले काम गर्ने ऊर्जा थपिएको बताउनुभयो । भ्रष्टाचारीलाई कुनै पनि बहानामा बचाउने नहुनेमा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो । 

बैङ्किङ क्षेत्रको विकास र विस्तारबाट मुलुकमा वित्तीय पहुँच बढेको बताउँदै उहाँले कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।