• १३ साउन २०८१, आइतबार

बुटवलमा ‍'स्काई साईक्लिङ' सुरु

blog

'स्काई साईक्लिङ' उद्घाटन गर्दै प्रदेश सभा सदस्य र बुटवल नगर प्रमुख ।

छविलाल पाण्डे 

वुटवल, वैशाख ३१ गते । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) मा साहसिक खेल मानिने 'स्काई साईक्लिङ' सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आईतवार बिहान स्काई साईक्लिङको उदघाटन गर्नुभयो ।

स्काई साईक्लिङ गर्नेहरु ७५ मिटर लम्बाई र ३२ फुट उचाईमा रहेको एउटा टावरबाट अर्को टावरमा करिव तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् ।

मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का अध्यक्ष खेमप्रसाद लुईंटेलले अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलवारी) मा साईक्लिङको सेवा शुभारम्भले बुटवलको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै, मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले अवको १० दिनसम्म परिक्षणका रुपमा सेवा सुरु गरिएको बताउनुहुँदै खासगरी आन्तरिक तथा भारतीय पर्यटक साईक्लिङका लागि आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले साईक्लिङका लागि प्रति व्यक्ति तीन सय रुपियाँ लाग्ने बताउँदै एकपटकमा दुईजनाले साईक्लिङ गर्न सक्ने जानकारी दिनुभयो । 

करिव ३५ लाख रुपियाँ लगानी गरि सेवा शुभारम्भ भएको हो । प्रमुख कार्यकारी अधिकृत सिलवालले स्काई साईक्लिङ जोखिमको रुपमासमेत लिइने भएकोले दिर्घरोगी तथा मुटुका रोगीले भने साईक्लिङ गर्दा विचार पुर्याउनुपर्ने बताउनुभयो । 

विक्रम सम्वत् १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष फूलवारी घुम्न आउने पर्यटकहरूको मुख्य आकर्षण बनेको छ । 

१२ विघा क्षेत्रफलमा फैलिएको मणिमुकुन्द सेन उद्यान भित्र पशुपन्छी संरक्षणका लागि चिडियाखाना रहेको छ । चिडियाखानामा निलगाई, खरायो, चितुवा, सारस, मयुर, बाज, स्याल, अजिङगर, मुसा, हरिण, भालु, बाँदर, हुडार, जापानीज कुखुरा लगायतका पशुपंछीहरु राखिएको छ ।