• १३ असोज २०८१, आइतबार

विवाह दर्ताको प्रमाण नहुँदा रोकिएको प्रमाणीकरणले पिरोलेको शरणार्थीको जिन्दगी

blog

शिविरमा रहेका शरणार्थीहरू भेला भएर आफ्ना दुखसुख साटासाट गर्दै । तस्बिर: विष्णु

दमक, वैशाख ३० गते । सबै आफन्त र छरछिमेक तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके । तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनु भएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा रहेको पाइएको छ ।

भुटानी शरणार्थी शिविरमा रहेको ३१ वर्ष भएको उहाँले बताउनु भयो । शिविर नजिकै जङ्गलमा आएको हात्तीले आक्रमण गर्दा घाइते हुनु भएका उहाँको हातको एउटा पाखुरा अहिले पनि राम्रोसँग चल्दैन । विवाह दर्ताका लागि आवश्यक पैसा व्यवस्थापन गर्न नसक्दा आफू पुर्नवास हुन नपाएको उहाँको गुनासो छ ।

वर्षौँदेखि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरूलाई शिविर बाहिर आउजाउ गर्न रोक तोक नभएका कारण उहाँको विवाह शिविर बाहिर शरणार्थी प्रभावित क्षेत्रको महिलासँग भएको थियो । आफू विवाह दर्ताका लागि भनेर सदरमुकाम चन्द्रगढीस्थित भुटानी शरणार्थी समन्वय इकाईमा बारम्बार गएको तर विभिन्न बहानामा विवाह दर्ता नै नभएको उहाँको भनाई रहेको छ ।

त्यहाँ पनि पैसा मागे तर दिन सकिन, उहाँले भन्नुभयो । कार्यालय भित्रकै कर्मचारी र बाहिरकाले समेत पैसा मागेको उहाँले बताउनु भयो । बाहिरका लागि ५ देखि ८ हजार रुपियाँ चाहिन्छ भने र कार्यालय भित्रका लागि १६ हजार चाहिन्छ भने, उहाँको भनाई थियो । म सँग त्यत्रो पैसा नै थिएन, उहाँको भनाई छ ।

विवाह दर्ता नभएपछि शरणार्थी प्रमाणीकरण नै नभएका कारण उहाँको पुर्नवास हुन पाउनु भएको छैन । शिविरमा नै रहँदै आउनु भएको छ । शिविरमा कहिल्यै नटेकेकाहरू शरणार्थी बनेर जान मिल्ने रहेछ तर हामी खाट्टी भुटानी शरणार्थीहरूलाई भने लैजान नमिल्ने सुन्दा मन पिरोलिएको उहाँले बताउनुभयो । शरणार्थी भएको सबै प्रमाण हामी जहिल्यै पनि दिएका छौ र दिन्छौ, उहाँले भन्नुभयो ।

६२ वर्षीय खगेन्द्र भण्डारीको पनि पीडा उस्तै छ । उहाँले विवाह दर्ताका लागि विवाहका लागि आवश्यक प्रमाण जुटाउँदा जुटाउँदै प्रमाणीकरण टोली उठेको र अहिलेसम्म फेरी प्रमाणीकरण नभएको बताउनु भयो । मैले पनि शिविर बाहिरको महिला विवाह गरेको थिए तर विवाह दर्तामा विभिन्न वाहाना बनाएर रोकियो, उहाँले भन्नुभयो । 

गैह्र भुटानीका लागि आज सबै प्रमाण नक्कली बनाउँदा हुने रहेछ हाम्रा लागि सक्कली प्रमाणले पनि काम दिएन, उहाँको जनाउनु भयो । भण्डारीले भारतीय महिलालाई विवाह गरेर ल्याउनु भएको छ । वर्षौँदेखि शिविरमा बसेका छौ र शिविरमा बसेको रेकर्डहरू हेर्दा पर्याप्त प्रमाण पनि भेटिन्छ, उहाँको भनाई छ । हामीलाई रोकेर अरू बाहिरकालाई पठाउन यस्तो गरिएको रहेछ भन्ने लाग्न थालेको छ, उहाँको बुझाई छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विभिन्न कारणले प्रमाणीकरणमा छुटेका गरेर हाल शिविरमा ६ हजार तीन सय ६५ शरणार्थी रहेको बत्ताइन्छ । शिविरमा रहँदा विवाह गरेका तर विवाह दर्ता नभएकाहरूको सङ्ख्या पनि धेरै रहेको जनाइएको छ । उहाँहरू जस्ताका आफन्तहरू भने तेस्रो देश पुर्नवास भई सकेका छन् । स्वदेश फिर्तीको लागि अहिलेसम्म कुनै प्रयास नभएको र तेस्रो देश पुर्नवास रोकिएपछि उनीहरू चिन्तित छन् ।

Author

विष्णुप्रसाद पोखरेल