• १३ साउन २०८१, आइतबार

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

blog

छलफलमा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २९ गते । काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन ।

काठमाडौँमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता रहेको छ । बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । 

समिति सदस्यमा महानगर प्रहरी बलका  प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रालि र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन् ।   

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।  बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।