• १३ साउन २०८१, आइतबार

दुई वटा जहाज थप्दै नेपाल वायु सेवा निगम

blog

काठमाडौँ, वैशाख २९ गते । नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउन उपसमिति बनाएको छ । देशका सुगम गन्तव्यमा हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्ययोजना बनाउन उपसमिति बनाएको निगमले जनाएको छ । 

निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । नेपाल एयरलाइन्सले थप दुई वटा जहाज किन्ने तयारी गरेको छ । एयरलाइन्सले प्रादेशिक (अन्तरप्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रमा उडान भर्न सक्ने दुई वटा जहाज किन्न लागेको हो ।  

उक्त उपसमितिले २१ कार्य दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यसमेत सुरु गरिसकेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएका कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकेपछि नयाँ दुई जहाज किन्न लागेको हो । नयाँ जहाज खरिद गरेपश्चात् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सुगम गन्तव्यमा प्रादेशिक उडान गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । 

यसअघि निगमले आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज थप गर्ने लक्ष्यसहित व्यावसायिक योजना तय गरेको थियो । निगम सञ्चालक समितिको बैठकले १० वर्षे व्यावसायिक योजना (सन् २०२१–२०३०) अनुसार १० वर्षको अवधिमा निगमले अन्तर्राष्ट्रिय उडानमा छ र आन्तरिक उडानमा छ वटा जहाज थप गर्ने तयारी गरिरहेको छ । यसरी थप हुने जहाजमध्ये अन्तर्राष्ट्रियतर्फ चार वटा न्यारोबडी जहाज र दुई वटा वाइडबडी जहाज थप गरिने छ । 

यससँगै अन्तर्राष्ट्रिय उडानमा १० वर्षभित्र निगमसँग कुल १० वटा जहाज हुने छन् । उक्त १० वर्षे योजनामा आन्तरिकतर्फ छोटो धावन मार्ग भएका आन्तरिक विमानस्थलमा उठाउने गरी निगमले चार वटा जहाज किन्ने गरी व्यावसायिक योजना बनाए पनि हाललाई दुई वटा जहाज किन्ने योजना अघि सारेको हो ।