• १३ असोज २०८१, आइतबार

पाँचथरका शिक्षा अभियान्ता मिश्रको निधन

blog

टंकप्रसाद मिश्र । फाइल तस्बिर

राधा लुइटेल 

फिदिम, वैशाख २८ गते । पाँचथरको शैक्षिक क्षेत्रका अभियान्ता टङ्कप्रसाद मिश्रको बिहीबार निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा फिदिममा निधन भएको हो । 

उहाँले २०१९ सालदेखि निरन्तर शिक्षण गर्नुभयो । उहाँलाई जिल्लावासीले शैक्षिक क्षेत्रका धरोहरका रूपमा परिभाषित गर्दै आएका थिए । २०१९ देखि २०५८ सालसम्म जिल्लाको साबिक सुभाङ र अमरपुरसहित विभिन्न विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका उहाँ पछिल्लो समय फिदिमस्थित नयाँ नमुना मावि फिदिमको संस्थापक रहेर शिक्षण पेसामा सक्रिय हुनुहुन्थ्यो ।

विक्रम सम्बत १९९८ साल भदौ ९ गते पाँचथरको सुभाङ २ एकचेपामा जन्मनु भएका उहाँ अस्वस्थ भएपछि बुधबार साँझ पाँचथर अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा आज अपराह्न उहाँको निधन भएको हो ।

उहाँको छातीमा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । २०१९ सालमा सिद्वेश्वरी प्राविमा सुभाङ-२ मा शिक्षक नियुक्ति भएर शिक्षण सुरु गर्नुभएका मिश्रले २०२४ देखि २०३१ सालसम्म निलगिरी मा.वि. सुभाङ र २०३३ सालदेखि २०३८ अमरपुर माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२०३८ को जेठ १० गते पुनः निलगिरी माविमा सरुवा भएपछि उहाँले पुनः सो विद्यालयमा २०५८ सालसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उमेर हदका कारण २०५८ मा अनिवार्य अवकाश पाएपछि उहाँले शैक्षिक क्षेत्रमै जीवन यापन गर्ने भन्दै नयाँ नमुना मावि फिदिममा पुनः प्रिन्सिपलका रूपमा काम सुरु गर्नुभएको थियो । 

गणित विषयमा राम्रो दक्खल राख्नुभएका मिश्रले २०१९ सालदेखि मरणोपरान्त (६० वर्ष ) निरन्तर अध्यापन गर्नुभयो । उहाँलाई जिल्लाका नागरिकले शैक्षिक क्षेत्रको धरोहरका रूपमा लिँदै आएका छन्।

उहाँका दुई छोरा र दुई  छोरी छन् ।  उहाँको अन्त्येष्टि शुक्रबार तमोर नदी घाटमा गर्ने तयारी रहेको छोरा लक्ष्मी मिश्रले जानकारी दिनुभयो ।

उहाँको निधनले जिल्लाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको शिक्षा तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले बताउनुभयो ।