• ९ मंसिर २०८१, आइतबार

फिल्म 'हल्कारा'लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

blog

काठमाडौं, वैशाख २८ गते । नेपाली चलचित्र 'हल्कारा'को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो । शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिति थियो । 

चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागी एउटा परिपक्व चलचित्र थपिएको बताउनुभयो । हरेक घरमा भएको कथा ’हल्कारा’ले सुन्दर तवरले व्यक्त गरेको उहाँहरुको प्रतिक्रिया थियो । 

गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

यस्तै, चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमासमेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ’बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । 

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गर्नुभएको हो ।

महेश र बिनितासँगै शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।