• २१ वैशाख २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थीबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ : सांसद खतिवडा

blog

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा ।

काठमाडौं, वैशाख २७ गते । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविनमाथि आशंका भइरहेका बेला उहाँले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानबिन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद खतिवडाले भन्नुभयो, ‘‘मैले यो भन्दा पनि पहिला बारम्बार कुरा उठाउने गरेको थिएँ–२०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताले अहिलेसम्म देशव्यापी रुपमा ६ हजार ११८ जना भूकम्प पीडितहरुले पहिलो किस्ता पाएर, दोस्रो र तेस्रो किस्ता नपाएर बस्नु भएको छ । वर्षातको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ ।’’

बुधबार प्रतिनिधि सभा बैठकका शून्य समयमा बोल्नुहुँदै सांसद खतिवडाले कतिपय भूकम्प पीडितहरुले अझै पनि अनुदान बापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्नुहुँदै  त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘घर निर्माण भइसके तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिइएको छैन । त्यो यथाशीघ्र यही महिना भित्र अथवा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी सरकारले भूकम्प पीडितहरुलाई रकम उपलब्ध गराओस् भन्ने अनुरोध गर्न चाहन्छु । त्यस्तै, थप एक लाख रुपैयाँ दिने भनेर पहिलाबाटै निर्णय भइसकेको थियो । त्यो आजसम्म जान सकेको छैन । त्यसमा पनि सरकारको ध्यान आकृष्ट होस् भन्ने अनुरोध गर्न चाहन्छु । चर्चित भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कियोस् । निर्दोष नफसोस् ।’’

सांसद खतिवडाले बाँकी रहेका भूकम्प पीडितहरु अनुदान दिने काममा ढिलाइ नगर्न आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।