• १३ पुस २०८१, शनिबार

महिलाले ताने मत्स्येन्द्रनाथको रथ

blog

ललितपुर, वैशाख २६ गते ।मत्स्येन्द्रनाथको रथ तान्दा प्रायः पुरुषलाई मात्र देख्ने बटुवा सोमबार बिहानै महिलाले रथ तानेको देख्दा अचम्ममा परे । पहिलो पटक जात्रा हेर्न पुगेकालाई भने यो नौलो लाग्यो । यद्यपि रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालेको भोलिपल्ट बिहानै महिलाहरू मात्र रथ तान्न भेला हुने चलन भने पुरानै हो । नरिवल फालेको भोलिपल्ट सोमबार बिहानै महिलाहरू आफूलाई सहज हुने पोसाक लगाएर रथ तान्न तम्तयार अवस्थामा ललितपुरको लगनखेलमा भेला भएका थिए । उपस्थित करिब तीन सयदेखि पाँच सय महिलामा रथ तान्ने हुटहुटी मात्र थिएन, आत्मविश्वास पनि देखिन्थ्यो । रातो मत्स्येन्द्रनाथको रथलाई महिलाले मात्र लगनखेलबाट तानेर थतिटोलसम्म पु‍¥याउने चलन छ । 

यसै व्रmममा सोमबार बिहान ४ बजेदेखि महिलाहरू भेला भएर ६ बजेतिर रथ तान्न सुरु गरेका थिए । रथ तान्ने काम ७ बजे सकिएको थियो । रथको डोरी ६०/७० जनाले समाए पनि महिलाको सहभागिता उल्लेखनीय मात्रामा थियो । यसलाई नेपाल भाषामा याकः मिसाया भूज्याः (एकल महिलाको जात्रा) भनिन्छ । भक्तपुर थिमीदेखि रथ तान्न बिहान ५ः३० बजे लगनखेल पुग्नुभएकी रामकेशरी प्रजापती हरेक वर्ष बिहान ५ नै पुग्ने गरेको स्मरण गर्नुहुन्छ, आज ढिला भयो प्रजापती भन्नुहुन्छ, “अरू बेला पुरुषले मात्र तान्थे, आज महिलाले रथ तान्न पाएका छन् ।” हर्षित मुद्रामा देखिनुभएकी उहाँले महिलाले जस्तो पनि काम गर्न सक्ने विश्वासका साथ मत्स्येन्द्रनाथको रथ तान्न आएको बताउनुभयो ।

यस्तै स्थानीय प्रेक्षा शाक्य पनि रथ तान्न उत्सुक देखिनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “पहिलो पटक रथ तान्न आएकोमा खुसी र कौतुहलता दुवै लागेको छ ।” पहिले पहिले भए यो व्रmम बिहान झिसमिसेमा हुन्थ्यो, संस्कृतिविद् डा. चुन्दा वज्राचार्य सम्झनुहुन्छ, “एक दशकअघिदेखि यो बिहानको उज्यालोसँगसँगै हुन थालेको छ । एकल महिलालाई समाजमा स्थान दिएको प्रतीकस्वरूप एकल महिलाले मात्र रथ तान्ने परम्परामा हाल परिमार्जन भएपछि सबै महिला सहभागी हुन थालेका छन् ।”

अन्य दिनमा साँझतिर तानिने रथ यस दिन बिहान तानिन्छ । डा. वज्राचार्य भन्नुहुन्छ, “यस चलनलाई पुरातन समाजमा एकल महिलाको अस्तित्वलाई विशेष ठाउँ दिएको प्रमाणका रूपमा लिन सकिन्छ ।” कुनै समयमा रथ जात्रा गरिरहँदा लगनखेल पाढेटोलकी एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनुपर्छ भन्ने मान्यता अनुसार एक दिन मात्र महिलाले रथ तानी जात्रा सम्पन्न गरेका हुन् ।

महिलाहरूले सार्वजनिक रूपमा बाहिर निस्केर जात्रा पर्वमा सरिक हुन बन्देज जस्तै लगाएको समयमा पनि यो व्रmमले निरन्तरता पाएकोे थियो । महिलाको भूमिकालाई स्वीकारेर जात्रामा पनि स्थान दिएको यो नमुनालाई केही वर्षअघिदेखि काठमाडौँमा सम्पन्न इन्द्रजात्रामा कुमारी, भैरव र गणेशको रथ पनि तान्ने गरिन्छ । अन्य दिनभन्दा कम दूरीमा महिलाले रथ तानेका छन् । सोमबार पाढेटोलदेखि थतिटोलसम्म करिब एक सय मिटर दूरीमा महिलाले रथ तानेका हुन् । थतिटोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पु‍-याइने दिनको टुङ्गो लाग्छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ र खटमा राखेर त्यही दिन मत्स्येन्द्रनाथलाई बुङ्मती फर्काइन्छ ।