काठमाडौं, वैशाख २५ गते । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज (सोमबार) चीन प्रस्थान गर्नुभएको छ । सम्मेलन भोलि (मङ्गलबार)देखि शुक्रबारसम्म चल्नेछ । सम्मेलनका लागि वर्ल्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा गरेको हो । चार सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सिचुवान एअरलाइन्सबाट प्रस्थान गर्नुभएको हो । उहाँसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई हुनुहुन्छ । कार्यभार सम्हालेपछि उपप्रमुख डङ्गोलको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुनेछन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनः स्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस (बीटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ । बुधबार उपप्रमुख डङ्गोलले सम्मेलनमा काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतीकरण गर्नुहुनेछ । पर्यटन पूर्वाधार र महानगरको अनुभवका विषय प्रस्तुतीकरणमा समेटिनेछन् ।
सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मुख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्त्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो । सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ ।
बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासङ्घ सहरहरूमा केन्द्रित विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन सङ्गठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वास्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पुर्याउने अनुसन्धान र निष्कर्ष सङ्गठनका क्रियाकलाप हुन् । उपप्रमुख शनिवार स्वदेश फर्कनुहुनेछ ।