• १३ साउन २०८१, आइतबार

‘अर्थतन्त्र सुधारोन्मुख’

blog

काठमाडौँ, वैशाख २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताउनुभएको छ । राजधानीमा आयोजित व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले यसलाई प्रस्ट पारेकोसमेत बताउनुभयो ।

उहाँले केही समयदेखि शोधनान्तर घाटामा समेत उल्लेख्य मात्रामा सुधार आई शोधनान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिमा उल्लेख्य सुधार भएको, आयातको परिमाण घटेको र विप्रेषणमा उत्साहजनक वृद्धि भएकाले हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख रहेको जिकिर गर्नुभयो । “अन्य विकसित एवं विकासशील मुलकको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैङ्कको विभिन्न प्रक्षेपणका बाबजुद नेपालको अवस्था राम्रो छ,” उहाँले भन्नुभयो ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल, नेपाल बिजनेस इन्स्टिच्युट र नेपाल सरकारका निकायहरूको समेत साझेदारीमा आयोजित सम्मेलनमा समग्र आर्थिक एवं बैङ्किङ क्षेत्रको सुधार, दिगो विकास एवं विस्तार, आर्थिक एवं बैङ्किङ क्षेत्रका समस्याको पहिचान र समाधानलगायतका विषयवस्तुमा बहस भएको छ । सम्बोधनका व्रmममा प्रधानमन्त्री दाहालले सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ,” उहाँले भन्नुभयो, “यो प्रयासमा सर्वपक्षीय सहकार्य जरुरी छ ।” 

नेपाल जल, जमिन, जडीबुटी, जङ्गल र युवा जनशक्तिजस्ता स्रोतले भरिपूर्ण रहेको भन्दै यस्तै प्रचुर सम्भावनाको खोजी, परिचालन एवं उपयोगमार्फत समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा उहाँले राख्नुभयो । 

सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रमअनुसार नयाँ उद्यमीहरूको उत्पादन, स्वउद्यमशीलताको विकास तथा विस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास, विस्तार गर्दै औद्योगिक एवं आर्थिक क्रान्तिको आरम्भ गर्नु अहिलेको मुख्य आवश्यकता हो,” उहाँले भन्नुभयो ।  

राष्ट्रिय उत्पादन वृद्धि गर्ने, रेमिट्यान्सलाई व्यवस्थित बनाउने तथा स्वाबलम्बी अर्थनीति अवलम्बन गरेर मुलुकको आर्थिक धरातल बलियो बनाउनुपर्ने र यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय बन्नुपर्ने औँल्याउनुभयो । 

प्रधानमन्त्री दाहालले स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेकोतर्पm सबैलाई सचेत गराउनुभएको थियो । यो अवस्था निराकरण गर्न नेपाल सरकार र बैङ्क तथा वित्तीय संस्थालगायत समग्र निजी क्षेत्रको सहकार्यमा उत्पादन अभिवृद्धि, रोजगारीका अवसर सिर्जना, लगानी विस्तार, उद्यमशीलताको विकास एवं विस्तारमा जोडतोडका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

बैङ्क तथा वित्तीय क्षेत्रमा देखा परेका समस्याको समाधानका लागि नेपाल सरकारले आवश्यक कदम उठाइसकेको बताउँदै दाहालले यस क्षेत्रको सुरक्षा, सुधार र विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । “बैङ्क तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाको उचित समाधानका लागि समेत आवश्यक पहल हुने छ,” उहाँले भन्नुभयो,  “लगानीका लागि आवश्यक पुँजी परिचालन गर्ने कार्यमा पनि बैङ्क तथा वित्तीय क्षेत्रलाई आवश्यक सहजीकरण गरिने छ ।”

अर्थतन्त्रमा देखा परेका समस्याको स्पष्ट पहिचानसहित दीर्घकालीन समाधान गर्नका नेपाली आफैँ सक्षम रहेको भन्दै उहाँले नेपाल सरकार, जिम्मेवार निकायहरू, सम्पूर्ण सरोकारवालाबीच बलियो र घनिष्ट सहकार्य र परस्पर सहयोग जरुरी रहेको औँल्याउनुभयो ।