• १३ असोज २०८१, आइतबार

समाचारमा एकरूपता हुनुपर्छ : मुख्यमन्त्री

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख २५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरूपता हुनुपर्ने बताउनुभएको छ। 

राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले समान घटनामा फरक तथ्यसहित फरक समाचार आउन नहुने बताउनुभयो। “एउटै घटनाका बारेमा जति वटा मिडिया हे-यो, उति किसिमका समाचार आएका हुन्छन्। यस्ता कुराले जनतामा भ्रम उत्पन्न गर्छ। त्यसैले विचारमा आफ्नो मत जाहेर गरे पनि समाचारमा एकरूपता हुनुपर्छ,” उहाँले भन्नुभयो।  

प्रदेश सरकारले गरेका विकास निर्माण, सुशासन र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन आग्रह गर्दै उहाँले गलत कार्य भए आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई छुट रहेको बताउनुभयो। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पत्रकारको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्य अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो। 

आगामी आर्थिक वर्षभित्र आवश्यक कानुन निर्माण गरी प्रदेशस्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी उहाँले दिनुभयो। कोशी प्रदेशको राजधानी टुङ्गो लागे पनि संरचनाहरू निर्माण नभएको बताउँदै मुख्यमन्त्री कार्कीले सरकारका आवश्यक संरचनाहरू कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगामी वर्ष काम अगाडि बढाउने बताउनुभयो। 

“पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू र प्रदेश सभाको कार्यालय निर्माण हुन्छन्। त्यसका लागि केही तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “हामीले आवश्यक संरचना तयार पारेर प्रदेशको स्थायित्व चाहेका छौँ।”  कोशी प्रदेश नामकरणका सन्दर्भमा भइरहेका विरोध कार्यक्रमप्रति मुख्यमन्त्री कार्कीले शान्तिपूर्ण दबाब दिएर जनमत बटुल्ने छुट सबैमा भएको बताउनुभयो। उहाँले आफ्ना फोरममा छलफल गरेर जनमत तयार पार्ने, सङ्गठन विस्तार गर्ने काम गरेर आगामी निर्वाचनपछि दुई तिहाइ बहुमतले नाम परिवर्तन गर्ने लक्ष्य राख्न आग्रह गर्नुभयो। 

कार्यव्रmममा कोशी प्रदेशभित्रका चार अग्रज पत्रकार सोमनाथ सुसेली, राजेश विद्रोही, चन्द्रकला (अम्बिका) भण्डारी र सटेन्द्र जबेगूलाई एक लाख रुपियाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ र सम्मानपत्रमार्फत पुरस्कृत तथा सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पुरस्कृत व्यक्तित्व सोमनाथ सुसेली र चन्द्रकला भण्डारीले पनि पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।