• १३ साउन २०८१, आइतबार

टुकुचा खोलामै पुष्टि, खोला मिचिएर बनाएको घरजग्गा हटाउने काम चाँडै सुरु हुन्छ: बालेन शाह

blog

काठमाडौँ, वैशाख २५ गते । काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ । 

काठमाडौँ महानगरका प्रमुख बालेन शाहले खोलाको  टुकुचा खोला अर्थात् इच्छु मति नदिकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व भएको र यो प्रमाणित न्यायलयबाटै भएको भन्दै तत्काल खोला अधिग्रहण गरिएका संरचना हटाउन सुरु गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । 

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभयो, 

केहि दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छु मति नदिका प्राकृतिक अधिकार पुनः स्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम  लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य वर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।

महानगरले यस अघि टुकुचा खोला अर्थात् इच्छु मति नदिलाई नक्सालबाट उत्खनन कार्य सुरु गरेको थियो । केही समय अघि खोलाको संरचना पुरेर मालपोतबाटै कानुन विपरीत कार्य गरी केही व्यक्ति र संस्थाले खोलाका दायाँ बायाँ र खोला नै बग्ने जग्गा समेत भूमिगत बनाएर संरचना बनाएको महानगरको भनाई छ ।