गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखापत्रलाई आफ्नो प्रकाशनका सामग्रीको गुणस्तरीयता र विविधतामा ध्यान दिन जोड दिनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बनाउनु भएको हो ।
“गोरखापत्रमा राष्ट्रको इतिहास जोडिएको छ, यसको गुणस्तरीयतामा ध्यान दिनुपर्छ, उहिलेभन्दा अहिले गोरखापत्रको सामग्रीमा निकै सुधार भएको छ, यसलाई अझ बढी विश्वसनीय र गुणस्तरीयताका लागि ध्यान दिनुपर्छ ।”
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको प्रवर्धन गर्नेगरी समाचार सामग्री पस्कन पनि उहाँले आग्रह गर्नुभयो । गोरखापत्र नेपाल र नेपालीको गौरव भएको र यसको विश्वसनीयता अन्य पत्रपत्रिका तथा सञ्चार माध्यमभन्दा बढी रहेकाले त्यसलाई कायम गर्दै जिम्मेवारी निर्वाह गर्न गोरखापत्रकर्मीहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै, गोरखापत्र नेपाल र नेपालीको ऐतिहासिक धरोहर भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गोरखापत्रमा राष्ट्रको इतिहास जोडिएको छ, यसको गुणस्तरीयतामा ध्यान दिनुपर्छ, उहिलेभन्दा अहिले गोरखापत्रको सामग्रीमा निकै सुधार भएको छ, यसलाई अझ बढी विश्वसनीय र गुणस्तरीयताका लागि ध्यान दिनुपर्छ ।”
गोरखापत्र नागरिकलाई प्रतिनिधित्व गर्ने युगपत्र पनि भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, “मुलुकको सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र हो, थुप्रै आरोह अवरोध पार गर्दै यो अवस्थामा पुगेको छ, यसलाई अझ प्रतिस्पर्धी, विश्वसनीय र जनताको आवाज बोल्ने पत्रिकाको रूपमा विकास गर्दै लैजानुपर्छ ।”
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नागरिकलाई सही सूचनाले सुसुचित गराउनुपर्छ, विश्वसनतामा विशेष ध्यान दिनुपर्छ ।”
गोरखापत्र संस्थान व्यवस्थापन पक्षले सुशासन, पारदर्शिता र जबाफदेहितामा ध्यान दिनुपर्ने भन्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नागरिकलाई सही सूचनाले सुसूचित गराउनुपर्छ, विश्वसनीयता विशेष ध्यान दिनुपर्छ ।”
संस्थानमा कार्यरत रहेका पत्रकार, कर्मचारी तथा सबै जनशक्तिको वृत्ति विकासमा व्यवस्थापकीय नेतृत्वलाई ध्यान दिन उहाँले निर्देशन दिनुभयो । गोरखापत्र मुलुकको र जनताको पत्रिका भएकाले सकारात्मक सोचको विकासमा बढी ध्यान दिनुपर्छ उहाँले भन्नुभयो, “गोरखापत्रले प्राविधिक पक्षमा सुधार गर्दै समयानुकूल परिमार्जन गर्दै अघि बढ्नुपर्छ, जनतालाई आशा र विश्वास तथा उज्यालो सोचको विकास गर्नमा भूमिका खेल्नुपर्छ ।”
बजार अहिले प्रतिस्पर्धी भएकाले युग सुहाउँदो भूमिकाका लागि प्रविधिको बढीभन्दा बढी सदुपयोग गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभयो । सरकारले गरेका राम्रा कामको सही सूचना नागरिकलाई दिएर जनतामा विश्वास दिलाउने गरी भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । गोरखापत्र संस्थानको वार्षिकोत्सवकोको अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखापत्र १२३औँ वार्षिकोत्सवको अवसरमा आयोजित ऐतिहासिक फोटो प्रदर्शनको अवलोकन गर्नुहुँदै ।
प्रधानमन्त्री प्रचण्ड गोरखापत्रका प्रमुख समाचारदाता केदारप्रसाद भट्टराईलाई सम्मानित गर्नुहुँदै ।
प्रधानमन्त्री प्रचण्ड रामचन्द्र इन्दु पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार रमेश तिवारीलाई सम्मानित गर्नुहुँदै ।
तस्बिर : मनोजरत्न शाही
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यस प्रकार छ :
गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आयोजित समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन
२४ वैशाख २०८०, राष्ट्रिय सभागृह
समारोहका सभापति तथा संस्थानका कार्यकारी अध्यक्षज्यू,
माननीय संचार तथा सूचना प्रविधि मन्त्रीज्यू
मन्त्रालयका सचिवज्यू,
संस्थानका महाप्रवन्धकज्यू,
संचालक समितिका सदस्यज्यूहरू,
गोरखापत्र तथा दि राइजिङ नेपाल विभिन्न निकायका प्रमुखज्यूहरू,
संस्थानमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीहरू,
अन्य सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
गोरखापत्र राष्ट्रिय दैनिकले आज प्रकाशन थालनीको १२३ औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१ औँ वार्षिकोत्सवको सुखद अवसरमा गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा सबै कर्मचारीलाई बधाइ ज्ञापन गर्दछु ।
नेपालको पहिलो प्रकाशनका रूपमा वि.सं. १९५८ सालको वैशाख २४ गतेबाट ‘गोर्खापत्र’को प्रकाशन प्रारम्भ भएको हो ।
वि.सं. १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रवार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको वि।स। २००० असोज २९ गते सातामा मंगलबार र शुक्रबार गरी दुईपटक प्रकाशन हुँदै २००३ साल पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । वि.सं २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित भएको थियो । यस महत्वपूर्ण दिनमा गोरखापत्रका संस्थापक एवं संस्थान र पत्रिकाको निरन्तर विकासका निम्ति अहोरात्र खट्नु हुने सबैप्रति स्मरण गर्दै आभार प्रकट गर्दछु ।
१९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक संस्था हो । नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान छ ।
राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक छ । पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनहरूको लेआउट डिजाइनमा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध संचारकर्मी र कर्मचारीको काँधमा छ ।
नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन । एउटा युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र हो ।
शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण योगदान छ । यो संस्थाले इतिहासका थुप्रै आरोह अवरोह पार गरेको छ ।
सयमको माग र प्रविधिको गतिअनुसार अब यो संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी छ । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनुपर्दछ । डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्नुपर्दछ । राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ ।
अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकोले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ ।
राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ । राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ ।
राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ । त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्छ । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नसक्नुपर्छ । आजको सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय छ ।
गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आम सञ्चार जगतमा सरकार र सरकारी सञ्चार माध्यमप्रतिको विश्वसनियता कायम राख्न र अभिबृद्धि गर्न सकिन्छ ।
पछिल्लोसमय संस्थानको नेतृत्वको इमानदारिता र कार्यक्षमतामाथि उठेका प्रश्नहरूको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि म विशेष रूपले ध्यानाकर्षण गराउँछु । संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यहरूको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्न सक्दछ, जसको बलमा संस्थाले थप परिस्करणका साथ उचाइ हासिल गर्न सक्दछ । यसतर्फ यहाँहरू सबैको ध्यान जाने नै छ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, आजको ऐतिहासिक दिनले गोरखापत्रमा कार्यरत सबै सञ्चारकर्मी एवं कर्मचारीहरूमा नयाँ उर्जा र आत्मविश्वासका साथ काम गर्ने प्रेरणा र वातावरण पैदा होस्, गोरखापत्रलाई प्रतिस्पर्धी र आधिकारिक सूचना सम्प्रेषणको निर्बिकल्प सञ्चार माध्यमका रूपमा विकास गर्न सफलता प्राप्त होस्, दैनिक घटनाक्रम मात्र नभएर नीतिगत र परिणाममुखी कामको विश्लेषण आम पाठकसम्म पु¥याउन थप रचनात्मक भूमिका निर्वाह गर्न सकोस् । यही अपेक्षा र विश्वासका साथ फेरि एकपटक गोरखापत्र संस्थान र गोरखापत्र दैनिकको निरन्तर प्रगतिको शुभेच्छासहित विदा हुन्छु, धन्यवाद ।