• ९ मंसिर २०८१, आइतबार

नैतिक आचरणको मूल्य

blog

मानिस सामाजिक प्राणी हो । समाजमा मान्छे भएर जन्मेपछि जीवनभरि ऊ मानवीय आचरणमा रहन सक्नुपर्छ । समाजका असल मूल्य–मान्यतालाई अनुसरण गर्नु हरेक व्यक्तिको कर्तव्य हो । वर्तमान समाजमा हामीभित्र नैतिक आचरणको पाटो कमजोर हुँदै गएको छ । जसले गर्दा सामाजिक विकृति, विसङ्गतिहरू, भ्रष्टाचारजन्य क्रियाकलापहरूको बढोत्तरी, पारिवारिक विग्रह, मनमुटाव, भाइचारा र विश्वबन्धुत्वको भावनामा समेत क्षयीकरण हुँदैछ । व्यक्तिगत स्वार्थको द्वन्द्व बढेको छ । नीति, नियम, सिद्धान्तको व्यावहारिक प्रयोग हुन नसक्दा किताबमा लेखिने कुरा मात्र हो कि जस्तो भान हुँदै छ । 

नैतिकता बहुआयामिक विषय हो । यो हरेक संस्कृतिको अभिन्न अङ्ग हो । नैतिकता निरपेक्ष रहँदैन । यो पारिवेशिक, विभिन्न स्तरमा अन्तरसम्बन्धित रहन्छ । नैतिक आचरणलाई स्पष्ट परिभाषित गर्न कठिन छ । कतिपय अवस्थामा अस्पष्ट पनि छ । यसको उद्गम न्यायबाट भएको हो । नैतिकता कानुन, आचारसंहिता भन्दा सधैँ माथि रहन्छ । यसलाई प्राकृतिक कानुनको रूपमा लिइन्छ । यसले हरेक व्यवहारलाई अनुशासित बनाउँछ । सबै प्रकारका विषयवस्तुमा सकारात्मक प्रभाव पार्छ । असल समाज निर्माण गर्नु, सभ्य समाज निर्माण गर्नु नैतिक आचरणको प्रमुख अभीष्ट हो । 

नैतिक आचरणले विभिन्न तहमा प्रभाव पार्छ । व्यक्तिगत तहमा हुने व्यवहार नैतिक आदर्शबाट प्रभावित हुन जरुरी छ । जसले गर्दा घरपरिवारमा मित्रता, समुदायमा अमनचयन र विश्वमा शान्ति कायम हुन्छ । हाल हामीमा व्यक्तिगत रूपमा नै नैतिक आचरण कमजोर हुँदा पारिवारिक कलझगडा, सामाजिक मनमुटाव, व्यक्तिवादी स्वार्थको हावी भएको छ । सुखशान्ति र समृद्धिको सपना पर भागेको छ । 

नैतिकताले प्रशासनिक तहमा प्रत्यक्ष प्रभाव पार्छ । हाल सार्वजनिक सेवा प्रवाहमा घट्दो विश्वसनीयता, निर्णय निर्माण र कार्यान्वयनमा ढिलासुस्ती, परिवर्तन व्यवस्थापनमा अवरोध, सर्वसाधारणको हितमा ध्यान नपुग्नुजस्ता विषयहरू कमजोर नैतिक आचरणको रूपमा लिन सकिन्छ । सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्नका लागि प्रशासनिक तहमा उच्च नैतिक आचरण प्रर्वद्धन गर्नु जरुरी छ । जसले गर्दा सेवा प्रवाहमा गुणस्तरीयता, भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण, आवश्यक नीति निर्माण र कार्यान्वयन, परिवर्तन व्यवस्थापन हुँदै सुशासनमैत्री प्रशासनको निर्माण गर्न सकिन्छ । 

राजनीति सबैभन्दा उच्च नीति हो । हाम्रोमा उच्च राजनीतिक संस्कारको अभाव छ । निष्ठाको राजनीति गर्नेहरूको खडेरी परेको छ । व्यक्तिगत स्वार्थ, दलगत स्वार्थभन्दा माथि उठ्न सकेको छैन राजनीति । जसले गर्दा वास्तविक लोकतन्त्रको वितरण हुन सकेको छैन । अस्थिर राजनीतिले सबैमा अशान्ति, डर त्रासको वातावरण सिर्जना गरेको छ । अबको प्रमुख आवश्यकता राजनीतिक तहमा उच्च नैतिक आचरण निर्माण गर्नु हो । जसले वास्तविक लोकतन्त्रको वितरण गरी सामाजिक न्याय काम गर्छ । सबै क्षेत्रमा भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण हुन्छ । सर्वसाधारण आमनागरिकको हित रक्षा गर्दै, राजनीतिको अपराधीकरण रोकिन्छ । अपराधको साझेदारी हटाउँदै आफन्तवाद÷नातावादको चरम दुरुपयोगसमेत दूर हुन्छ । नैतिक आचरणको उचित अभ्यासको माध्यमबाट सरकार सञ्चालनमा स्वच्छ आचरणको निर्माण हुन्छ । 

साङ्गठनिक तहमा नैतिकताको प्रभाव व्यापक रहन्छ । नैतिकताको पाटो कमजोर हुनुको कारणले गर्दा सङ्गठनको साङ्गठनिक लाभ हासिल हुन सकेको छैन । साङ्गठनिक स्वार्थ र व्यक्तिगत स्वार्थ बाझिएको छ । कमजोर साङ्गठनिक वातावरण, भ्रष्ट व्यवहारको हालीमुहाली, मौलाइरहेको नातावादजस्ता थुप्रै कारणले साङ्गठनिक लक्षित उपलब्धि हासिल हुन सकेको छैन । साङ्गठनिक तहमा नैतिकता यस्तो अस्त्र हो जसले साङ्गठनिक मूल्य र व्यक्तिगत मूल्यलाई मिलाउँछ । भ्रष्ट व्यवहारलाई नियन्त्रण गर्छ । नातावादको दुरुपयोग रोक्दै सङ्गठनात्मक इनर्जी हासिल गर्न सहयोग गर्छ । 

हरेक तहमा नैतिकताको मूल्य अमूल्य हुन्छ । अन्तर्राष्ट्रिय तहमा समेत यसले व्यापक प्रभाव पार्छ । कमजोर नैतिकताले अन्तर्राष्ट्रिय तहमा सिङ्गो मुलुकको कमजोर अवस्था सिर्जना गर्छ एकातिर भने अर्कोतिर अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिको अवस्थामा समेत गम्भीर अवस्था सिर्जना हुन्छ । त्यसैले 

अन्तर्राष्ट्रिय तहमा उच्च नैतिकता कायम गरी नैतिक कूटनीतिलाई प्रबल बनाउनु आजको आवश्यकता हो । यसले अन्तर्राष्ट्रिय जगत्मा युद्ध नैतिकता कायम गर्नुको साथै मानव अधिकार, सुरक्षित नागरिक क्षेत्र, रङ्गभेद र जातीय संहार रोक्न सहयोग गर्छ । आर्थिक र मानवीय सहयोग विस्तार हुनुका साथै पञ्चशीलका सिद्धान्त, अहिंसा तथा असंलग्नता विस्तार गर्नमा महìवपूर्ण भूमिका रहन्छ । 

कुनै पनि वस्तुको मूल्य कति छ भन्ने कुरा सो वस्तुको अभावमा बढी महसुस गर्न सकिन्छ । वर्तमान समग्र मुलुकको अवस्था अध्ययन गर्दा हरेक तहमा नैतिक आचरणको अवस्था कमजोर रहेको छ । सामाजिक तहमा हेर्दा पक्षपातपूर्ण सामाजिक व्यवहार, विभेद, विकृति र विसङ्गतिको पर्खाल व्यापक रूपमा बढेको छ । सामाजिक मूल्यमान्यता, सभ्यता र संस्कृतिमा समेत ह्रास आएको छ । जब हामीले सामाजिक तहमा नैतिक आचरणको मूल्यलाई समाहित गर्न सक्छौँ तब मात्र सामाजिक व्यवहारलाई मर्यादित बनाउन, न्याय र निष्पक्षता कायम गर्न सकिन्छ । सामाजिक दुष्कृतिको नियन्त्रण हुन्छ । सामाजिक सद्भाव वृद्धि गर्दैै अहिंसा प्रवद्र्धन गर्न मद्दत पुग्छ । सम्पूर्ण नागरिकमा मानसिक तनावको अवस्थामा नियन्त्रण भई सभ्य समाज निर्माणमा टेवा पुग्छ । 

नैतिकताको क्षेत्र असीमित छ । नैतिकताले वातावरणीय तहमा समेत महìवपूर्ण प्रभाव पार्छ । वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण, पशु अधिकार, जैविक विविधताको रक्षा, वनजङ्गलको संरक्षण लगायतका काम कुरामा नैतिकताको प्रमुख भूमिका रहन्छ । कुनै व्यक्ति होस् वा संस्था जन्मदेखि मृत्युसम्मका सम्पूर्ण क्रियाकलापमा नैतिक आचरण समाहित हुन्छ । नैतिक आचरणको मूल्यलाई सकारात्मक रूपमा प्रयोग गर्नेहरू नै असल, राम्रो र विकसित हुँदै जान्छन् । लक्ष्य र उद्देश्यलाई प्राप्त गर्छन् । नैतिक आचरणको मूल्य बुझ्नेहरूले नै आफ्नो मूल्य बढाउन सक्छन् । 

हरेक काम कुरामा सकारात्मक ऊर्जा प्राप्त गर्नका लागि नैतिक आचरणको अवस्था बलियो हुन जरुरी छ । सभ्य र विकसित समाज निर्माणको हरेक चरणमा इमानदारिता, पारदर्शिता, सदाचारिता, जवाफदेहिता, वस्तुपरकता, विश्वसनीयता, आदरभाव, कानुनप्रति निष्ठा, समयप्रति संवेदनशीलता हुनु नै नैतिक आचरण राम्रो हुनु हो । नैतिकताको पाटो बलियो हुनु हो । हरेक कर्ममा सहकार्य, समर्पण, विश्वसनीयता, उत्पादकत्व, सदाचारिता, अग्रसरता र गुणस्तरीयता प्राप्तिको लागि नैतिक आचरणको मूल्य बलियो बनाउनु वर्तमान आवश्यकता हो । 

हाल मुलुक राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायत हरेक क्षेत्रमा कमजोर अवस्थामा रहेको छ । यसको प्रमुख कारणको रूपमा कमजोर नैतिकतालाई लिन सकिन्छ । नैतिक आचरण प्रवद्र्धनका पूर्वाधारमा राजनीतिक तहको वास्तविक प्रतिबद्धता चाहिन्छ । कार्यान्वयनयोग्य आचारसंहिता, आचरण समन्वय संयन्त्र, पेसागत संरचनाको निर्माण हुनुपर्छ । प्रभावकारी कानुनी संयन्त्र, दक्ष जवाफदेहिता संयन्त्र, सक्रिय नागरिक समाजलगायत अवयव यसका अभिन्न अङ्ग हुन् । हामी सबै नैतिक आचरणको मूल्यलाई सबै तहमा अधिकतम रूपमा प्रयोग गरी असल राष्ट्र निर्माणको अभियानमा जुटौँ । 

लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ । 

   

Author

गायत्री लम्साल