जतिखेर हामीले पत्रकारिता थालेका थियौँ, मानौँ– हाम्रो एकाधिकारजस्तै थियो । त्यतिखेरको पत्रिका भनेकै गोरखापत्र थियो । अरू पत्रिका पनि छन् भन्ने कसैलाई लाग्दैन थियो । पहिले गोरखापत्रमा एकपल्ट सम्पादक भइसकेका मदन शर्माले पछि स्वतन्त्र समाचार भन्ने पत्रिका चलाएका थिए । एक दिन प्रसङ्गवश त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसँग कुरा गर्दा मदन शर्माले स्वतन्त्र समाचार चलाउँछु भनेछन् । जवाफमा प्राध्यापकले गोरखापत्र नै हेर भनेछन् । मदन शर्माले स्वतन्त्र समाचार अर्कै हो भन्दा सोभैm जवाफ दिएछन्, स्वतन्त्र समाचार भने पनि गोरखापत्र नै हो । अर्थात् गोरखापत्रबाहेक नेपालमा अरू पनि पत्रिका छन् भन्ने कुरा बुद्धिजीवीले पनि पत्याउँदैनथे ।
रामराज पौडेलको सहयोगले त्यस्तो पत्रिकामा काम गर्ने मौका पाइयो । पहिले प्रुफरिडरबाट थालेको जागिर केही वर्षपछि समाचारदातामा बढुवा भयो । अनि गोरखापत्रको समाचारदाता भएपछि त रजगज नै अर्को । प्रत्येक हप्ताजस्तो लेख छापिन्थ्यो । गोरखापत्र सबैतिर पुग्थ्यो, सबैले चिन्ने भइहाल्यो । एक÷दुईपल्ट विदेश भ्रमणबाट फर्किंदा त्रिभुवन विमानस्थलमा आफ्नो नाम थाहा पाउनासाथ सुटकेस खोल्न जाँदा पनि पर्दैन भनेर हाकिमले सम्मान प्रदर्शन गर्दथे । जुनसुकै कार्यालयमा जाँदा पनि हाकिमहरूले इज्जतसाथ व्यवहार गर्दथे । साँच्चै आपूmलाई भाग्यमानी ठानिन्थ्यो ।
अब जाउँ अफिसभित्रको व्यवहार । सिनियरहरू हामीलाई भाइ–छोरासरह माया गर्दथे । उपसम्पादक तहसम्मका कसैले नयाँ लुगा लगाएर आएको छ भने त्यस दिनको चियाखर्च उसैको भागमा पर्दथ्यो । तलब आउनासाथ नयाँ लुगा किन्ने मेरो बानीले गर्दा मैले धेरै पटक सिनियर र साथीलाई चिया खुवाउने मौका पाएको छु । नयाँ लुगाको प्रसङ्ग कोट्याउँ – एकपल्ट वायुसेवा निगम र तत्कालीन शाही नेपाल वायुसेवा निगमले गोरखापत्र र राइजिङ नेपालका लागि बैङ्कक घुम्ने एक÷एकवटा निःशुल्क टिकट दियो ।
राइजिङ नेपालबाट मभन्दा निकै वरिष्ठ कृष्णभक्त श्रेष्ठको नाम गयो, गोरखापत्रबाट कसलाई पठाउने भन्ने कुरा चल्दा त्यस्तो भ्रमणमा अफिसले लुगा भत्ता नदिने र मेरो नाम लिएर फलानोसंँग प्रशस्त लुगा भएकाले उसलाई पठाउने भन्ने निर्णय सिनियरहरूले गरेछन् र जुनियर पत्रकारले बैङ्कक घुम्ने मौका पाएको थियो । सिनियरहरूको माया–ममता जुनियरहरूले पाइरहन्थ्यो । अर्को उपलब्धिको कुरा गरौँ, २०४२ सालमा पञ्चायत रजत जयन्ती मनाउने लहर चल्यो । केही समयअघि मात्र नेपालमा टेलिभिजन आएको थियो । त्यसमा आफ्नो अनुहार देखिनु र आफूले काम गरेको संस्थाका बारेमा समाचार टिप्पणी आउनु ठूलै कुरा मानिन्थ्यो ।
रजत जयन्तीमा विभिन्न संस्थाले परिचयात्मक वृत्तचित्र बनाएर टेलिभिजनमा देखाउन तँछाड्मछाड भएको थियो । गोरखापत्रमा त्यतिखेर गोपाल चित्रकारलाई राम्रो फोटोग्राफीका साथै भिडियोग्राफीमा पनि दक्ष मानिथ्यो । दुर्गानाथ शर्माको मिठो बोलीले रेडियोमा समाचार भन्ने मौकासमेत पाएका थिए । लेख लेख्ने र जनसम्पर्कमा म आफूलाई ठिक ठान्दथे । अनि हामी तीन जना मिलेर विभिन्न संस्थाको विकासमूलक सन्देश दिने वृत्तचित्र बनाउन थाल्यौँ । हाम्रो टिमलाई विश्वास गरेर थुप्रै संस्थाले काम दिए ।
गोपाल चित्रकार रातभर बसेर काम गर्थे र समयमा वृत्तचित्र तयार गर्दथे । यसरी तीन जनाको प्रयासमा १० वटाजति वृत्तचित्र वनाइयो । यसलाई पनि म आफूलाई भाग्यशाली पत्रकार ठान्दछु । तत्कालीन परिवेशमा अफिसमा अति नै आत्मीयताको धारणा थियो र सिनियरले जुनियरलाई उन्नतिका लागि पर्याप्त अवसर दिनुपर्दछ भन्ने थियो – त्यो परम्परा अहिले पनि गोरखापत्र परिवारमा होला भन्ने धारणा राखेको छ । जसले आपसमा पारिवारिक वातावरण कायम राख्न सघाउने छ ।
समय परिवर्तन हुँदै छ । प्रतिस्पर्धा बढ्दै गयो र प्रविधिले फड्को मारेको छ । प्रविधिसँग खेल्न नसक्ने त्यतिबेलाका हामीजस्ता कोरा पत्रकारले अहिलेको स्थितिमा अगाडि बढ्ने आशा नराखे हुन्छ तर नयाँ पुस्ता प्रविधिमा चुस्त र दुरुस्त हँुदै गएको छ । प्रिन्ट मिडिया बिस्तारै पछि पर्दै छ । तत्कालीन परिवेशमा प्रविधिको विकास भएको थिएन, त्यसमाथि पनि सञ्चार क्षेत्रमा छपाइ गर्ने प्रेसबाहेक अरू हातले गर्नुपर्ने हुन्थ्यो ।
लेख्ने हातले, कम्पोज गर्ने कम्पोजिटरले, एक–एक अक्षर टिपेर स्टिकमा राख्ने तथा ग्यालीमा राखेर धागोले बाँध्ने र प्रुफ निकाल्ने, प्रुफरिडरले शुद्धाशुद्धि हेरेपछि ग्यालीमा नै शुद्ध बनाउने, बल्ल प्लेट बनेर प्रेसमा जाने । कुनै बेला ग्याली भत्क्यो भने पहिलेका सबै प्रयास विफल । यो थियो हामीले काम गर्दाका बेलाको प्राविधिक पक्ष तर अहिले प्रविधिले फड्को मारेको छ । ल्यापटप र इन्टरनेटको भरमा घरमै बसेर पत्रिकाको पूरै पेज तयार गर्न सकिन्छ तर युवा पुस्ताका पत्रकारका लागि चुनौती पनि त्यत्तिकै बढेको छ ।
प्रविधिमा पोख्त नभएमा सैद्धान्तिक पक्षमा जति नै ज्ञान भए पनि योग्य हुन सकिँदैन । त्यसैले नयाँ पुस्ताका पत्रकारका लागि कार्यक्षेत्रमा प्रतिस्पर्धा गर्न सजिलो छैन । धेरै प्रतिस्पर्धी भएको क्षेत्रमा आफूलाई योग्य मात्र होइन, अब्बल बनाउन नसके बिक्न धेरै गाह्रो छ । कठिन प्रयास र विषय–ज्ञान अबको चुनौती हो । दुई/चारवटा लेख छापिएको भरमा परिचित हुने अवस्था छैन । धेरै अखबार, एफएम, टेलिभिजनमा आफूलाई स्थापित गर्न र समाजमा परिचित हुन ठूलै प्रयास गर्नुपर्दछ । विगतमा जस्तो सजिलो अब पक्कै रहेन ।
त्यसो त थुप्रै अनलाइन आएपछि छापा, एफएम र टेलिभिजनको क्रेज घट्दै गएको छ । जनताको सञ्चार माध्यमप्रतिको अभिरुचि वदलिँदै गएको छ । यस्तोमा युवा पुस्ताका पत्रकारका लागि आफ्नो अस्तित्व जोगाइराख्न र परिचय बढाउन ठूलै सङ्घर्षको खाँचो पर्दछ । सानो पोखरीमा पौडी खेल्न जति सजिलो हुन्छ, ठूलो र गहिरो पोखरीमा पौडी खेल्न त्यत्तिकै कठिन हुन्छ ।
हामीले पत्रकारिताको क्षेत्रमा पौडी खेल्दा साँघुरो परिधि थियो । नयाँ प्रविधिले प्रवेश पाएको थिएन, त्यसैले ठाउँ बनाउन सजिलो भयो । जुन सुविधा हालका लागि छैन । नयाँ पुस्ताले आफूलाई पत्रकारिताको क्षेत्रमा स्थापित गर्न र जनतामा परिचित हुन जुन कठिन सङ्घर्ष गर्दै अगाडि बढ्नु परेको छ । तत्कालीन परिवेशमा त्यति सङ्र्घष नगरी परिचित हुने अवसर भएकाले हामी आफूलाई भाग्यमानी पत्रकार ठान्दछौँ र अझ भविष्यमा नयाँ प्रविधिको विस्तारसँगै भावी पुस्ताले थप सङ्र्घष गर्नुपर्ने देखिन्छ ।
लेखक गोरखापत्रबाट सेवा निवृत्त वरिष्ठ पत्रकार हुनुहुन्छ ।