• ३० असार २०८१, आइतबार

गोरखापत्र प्रकाशन सनदसम्बन्धी मिथ्या कथन

blog

वि.सं. १९५८ वैशाख ११ गते ‘गोर्खापत्र’ प्रकाशन गर्न सनद जारी भएको थियो ।

  गोरखापत्र प्रकाशनको प्रारम्भ १९५८ साल जेठ ३ गते भएको हो ।

  गोरखापत्र साहित्यिक साप्ताहिक हो ।


देशको जेठो र जीवित अखबार ‘गोर्खापत्र’ (गोरखापत्र) सँग गाँसिएका यी तीन यस्ता कथन हुन्, जुन पत्रकारितासँग सम्बन्धित पुस्तक तथा लेखहरूमा बेलाबखत प्रयोग हुने गरेको पाइन्छ । यीमध्ये गोरखापत्र प्रकाशनको प्रारम्भसम्बन्धी मिथ्या कथनको निप्टारा भइसकेको छ । प्रयोगमा भने यदाकदा गल्ती पनि हुने गरेकै पाइन्छ । ‘गोर्खापत्र’ को पहिलो अङ्कको ‘मास्टहेड’ मुनिको ‘फोलियो’ हरफमा ‘साप्ताहिक समाचारपत्र’ उल्लेख छ तर अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट प्रकाशित दुई पुस्तकमा साहित्यिक साप्ताहिक (लिटररी विक्ली) प्रयोग भएका छन् । सन् १९८२ मा प्रकाशित ‘न्युज्पेपर्स इन एसिया ः कन्टेम्पोररी ट्रेन्ड्स एन्ड प्रब्लेम्स’ र सन् २००० मा प्रकाशित ‘ह्यान्डबुक अफ द मिडिया इन एसिया’ मा यस्तो प्रयोग भएका हुन् । यी पुस्तकहरू नेपालमा सहज उपलब्ध नहुँदा उक्त मिथ्या कथनले नेपाली अध्येतामा प्रभाव पारेको पाइँदैन । 

प्रस्तुत लेखको मूल सन्दर्भ ‘गोर्खापत्र’ प्रकाशन गर्न सनद जारी भएको मितिसम्बन्धी मिथ्या कथनसँग जोडिएको छ । २०७९ वैशाख २४ को ‘गोरखापत्र’ मा ‘पत्रकारिताको पाठशाला’ शीर्षकमा एउटा लेख छापिएको पाइन्छ । देशका एक वरिष्ठ पत्रकारले लेख्नुभएको सो लेखको पाँचौँ अनुच्छेदमा ‘वि.सं. २०५८ वैशाख ११ गते नरदेव पाण्डेलाई श्री ३ देवशमशेरले दिएको सनदमा’ भनी उल्लेख गरिएको छ । यहाँ वि.सं. १९५८ हुनुपर्नेमा २०५८ भएको देखिन्छ । लेखकले वि.सं. १९५८ लेख्न चाहेको तर टङ्कण गल्तीले २०५८ भएको अनुमान गर्दा उल्लिखित मिति वि.सं. १९५८ वैशाख ११ गते हुन्छ । ‘पत्रकारिताको पाठशाला’ मा मात्र होइन, अन्य केही लेखमा पनि १९५८ वैशाख ११ गते सनद जारी गरिएको उल्लेख भएको पाइन्छ । के सनद वैशाख ११ गते नै जारी भएको थियो त ? यसको जवाफतर्फ लाग्नुअघि चर्चित र सन्दर्भ पुस्तकमा रूपमा प्रयोग गरिएका र आगामी दिनहरूमा पनि गरिन सक्ने दुईवटा महत्त्वपूर्ण पुस्तकमा उल्लिखित मितिका सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक र उपयोगी हुन्छ ।  पहिलो पुस्तक हो, २०५८ सालमा प्रकाशित ‘आमसञ्चार र कानुन ।’ आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी तथा अध्येताहरूले उक्त पुस्तकलाई सन्दर्भ पुस्तकका रूपमा समेत प्रयोग गर्ने गरेका छन् । पुस्तकका लेखकले पछिल्ला दिनहरूमा ‘राष्ट्रिय आमसञ्चार नीति, २०७३’ को निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । आमसञ्चार क्षेत्रमा उहाँका विचारलाई गम्भीरतापूर्वक लिइन्छ, सुनिन्छ । २०५८ सालमा पुस्तक प्रकाशित हुँदा विद्वान् लेखकले भूमिकामा उल्लेख गर्नुभएको रहेछ, “प्रस्तुत पुस्तक प्रेस विधिशास्त्रको अद्यावधिक स्वरूप हो ।” पछिल्लो दुई दशकभन्दा बढीको अवधिमा आमसञ्चार र कानुनको क्षेत्रमा धेरै कुरा फेरिइसकेका छन् तर पुस्तकको महत्त्व घटेको छैन । आमसञ्चार विषयक अध्येताहरूका लागि यो अझै पनि उपयोगी पुस्तककै रूपमा रहेको छ । सो पुस्तकको विषयसूची र अनुसूची (१) मा ‘सम्बत् १९५८ साल बैशाख ११ रोज २ को गोरखापत्र प्रकाशनका सम्बन्धमा जारी गरिएको सनद’ छापिएको पाइन्छ ।

दोस्रो पुस्तक हो, २०२४ सालमा पहिलो पटक प्रकाशित ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास ।’ नेपाली पत्रकारिताको ऐतिहासिक जानकारी दिने उक्त पुस्तकमा उल्लिखित तथ्य तथ्याङ्कलाई पत्रकारिताका विद्यार्थीले आफ्नो लेखनमा निर्धक्क उद्धृत गर्ने गरेका थिए, गरिरहेकै छन् । उक्त पुस्तकको जगमा नेपाली पत्रकारिताको इतिहासको थप अध्ययन अनुसन्धान हुने गरेको छ । उक्त पुस्तकमा सनद जारी भएको मिति ‘सम्वत् १९५८ साल मिति वैशाख बदी ११ रोज २ का दिन’ उल्लेख छ ।

दुई पुस्तकमा उल्लिखित दुई मिति ‘सम्वत् १९५८ साल मिति वैशाख बदी ११ रोज २’ र ‘सम्बत् १९५८ साल बैशाख ११ रोज २’ बीचको अन्तर नबुझी सनद जारी मितिमा देखिएको अन्योल बुझ्न सकिँदैन, गल्ती खुट्ट्याउन सकिँदैन । यी दुई मितिबीच प्रस्ट देखिने मूल अन्तर हो, ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा ‘बदी’ शब्द हुनु र ‘आमसञ्चार र कानुन’ मा ‘बदी’ शब्द नहुनु । यससँगै गाँसिएर आउने महत्त्वपूर्ण कुरा हुन्, सौरमास र चान्द्रमास ।

सौरमासमा सूर्यको गतिका आधारमा महिनाको गणना हुन्छ । सौरमासले सङ्क्रान्तिदेखि मसान्तसम्मको अवधिलाई समेट्छ । चान्द्रमासमा चन्द्रमाको तिथिअनुसार महिनाको गणना हुन्छ । यसमा दुई पक्ष हुन्छन्, कृष्णपक्ष र शुक्लपक्ष । सामान्यतः कृष्णपक्ष र शुक्लपक्ष १५–१५ दिनका हुन्छन् । पूर्णिमापछिको प्रतिपदादेखि औँसीसम्मका दिनहरूको समूहलाई कृष्णपक्ष र औँसीपछिको प्रतिपदादेखि पूर्णिमासम्मका दिनहरूको समूहलाई शुक्लपक्ष भनिन्छ । चलनचल्तीमा कृष्णपक्षलाई वदी र शुक्लपक्षलाई सुदी भन्ने, लेख्ने गरिन्छ । वदी वा सुदीसँग गाँसिएको अङ्कले सौरमासको गते जनाउँदैन । यसले निश्चित तिथि वा दिनलाई जनाउँछ । जस्तो, वदी ३ ले कृष्णपक्ष तृतीया र सुदी ३ ले शुक्लपक्ष तृतीयालाई जनाउँछ । ‘आमसञ्चार र कानुन’ मा ‘बदी’ छुटेको छ । मितिबाट वदी वा सुदी शब्द हट्नासाथ निश्चित दिन वा तिथि जनाउने मूल तत्त्व हराएको छ । अन्योल र अस्पष्टता यसैले जन्माएको छ ।

पछिल्ला समयमा आमसञ्चार तथा पत्रकारिता विषयक केही लेखहरूमा त सनद जारी भएको मितिबाट ‘रोज २’ लाई पनि हटाएर निर्धक्क र निःशङ्क वि.सं. १९५८ वैशाख ११ गते प्रयोग गर्ने गरिएको पाइन्छ । यसो गर्दा ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ मा उल्लिखित मितिबाट दुई अंश ‘बदी’ र ‘रोज २’ बेपत्ता भएका छन् । ‘रोज २’ लाई हटाइँदा एकातिर गल्ती त भएकै छ, अर्कोतिर दिइएको मितिको सत्यापन गरौँ न त भन्दा त्यसो गर्ने एउटा बलियो आधार पनि मेटिएको छ । ‘रोज’ को शाब्दिक अर्थ हो, दिन; दिवस । प्रायः लिखतमा ‘रोज’ को प्रयोग गरिएको हुन्छ । जस्तो; रोज १, रोज २, रोज ७ आदि । यहाँ रोज १ ले आइतबार, रोज २ ले सोमबार र रोज ७ ले शनिबारलाई जनाउँछ । ‘सम्बत् १९५८ साल बैशाख ११ रोज २’ ले ‘१९५८ साल बैशाख ११ गते सोमबार’ भन्ने सन्देश सञ्चार गर्दछ । अब कुनै जिज्ञासु व्यक्तिले १९५८ सालको पात्रो फेला पारेर पल्टाएर हे¥यो अथवा सम्बन्धित सफ्टवेयरको सहयोगबाट स्क्रिनमा हे¥यो भने उसले वैशाख ११ गते सोमबार परेको पाउँदैन । यस्तो स्थितिमा मिति शङ्कास्पद रहेको निश्चित हुन्छ । व्यक्तिका लागि सही गते, बार अत्यावश्यक रहेछ भने थप खोजी, अनुसन्धान गर्छ । तर, ‘१९५८ साल बैशाख ११ गते’ मात्र उल्लेख गरियो भने खोजी वा सत्यापनको बाटो नै अवरुद्ध हुन्छ । 

धेरैले लामो समयसम्म गोरखापत्र प्रकाशन ‘१९५८ जेठ ३ गते’ सुरु भएको मानियो । गोरखापत्र आफैँ पनि यो भ्रमजालोमा फसिरह्यो । २०१३ सालमा विद्वान् लेखक तथा अनुसन्धाता कमल दीक्षितले ‘गोर्खापत्र’ को पहिलो अङ्कमा छापिएको ‘नेपाल संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमवार’ लाई गते र तारिखमा निकाल्दा पो १९५८ साल वैशाख २४ गते तदनुरूप सन् १९०१ मे ६ भन्ने पत्तो लाग्यो । उहाँले गोरखापत्रका ‘सम्पादक बाजेबाट पुरेतको पगरी’ पनि पाउनुभयो । तर, वि.सं. २०६० को दशकसम्म पनि नेपाली विद्वान्हरूले ‘गोर्खापत्र’ को प्रकाशन १९५८ साल जेठ ३ गते भएको भनी भन्न, लेख्न छाडेनन् । सनद जारी मितिका सम्बन्धमा पनि त्यस्तै स्थितिले निरन्तरता पाइरहेको देखिन्छ ।

‘गोर्खापत्र’ प्रकाशनको सनद राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वको दस्ताबेज हो । यसले नै देशमा समाचारपत्र प्रकाशनका लागि वैधानिक बाटो खोलेको थियो । विश्वमा पत्रकार आचारसंहिताको कुरो उठ्दा पनि सन् १९०१ मा जारी सनदका केही प्रावधानतर्फ अध्येताको ध्यान तानिन्छ । यसैले पनि सनदको तिथिमितिमा स्पष्टता आवश्यक छ । 

‘सम्वत् १९५८ साल मिति वैशाख वदी ११ रोज २ का दिन’ मा रहेको ‘वदी’ शब्दले नै स्पष्ट जनाउँछ, ‘ज्येष्ठ वदी ३’ भनेको जेठ ३ गते नभएजस्तै वैशाख वदी ११ भनेको पनि वैशाख ११ गते नहुन सक्छ । वैशाख वदी ११ ले वैशाख कृष्णपक्ष एकादशी जनाउँछ । यी तथ्य तथा जानकारीका आधारमा यहाँ ज्योतिष सेवा र जानकारीलाई सबैका लागि पहुँचयोग्य बनाउँदै आएको ‘प्रोकेरला’ को पञ्चाङ्ग र ‘अशेष’ को ‘नेपाली डेट कन्भर्टर’ को सहयोगबाट सनद जारी भएको मितिको निक्र्योल गरिएको छ । 

प्रोकेरलाको पञ्चाङ्गअनुसार, १९५८ वैशाख वदी ११ मा सन् १९०१ अप्रिल १५ मन्डे (सोमबार) पर्छ । ‘रोज २’ पदावलीले पनि उक्त दिन सोमबार पर्ने छर्लङ्ङ पारेको छ । यसैलाई आधार मानेर ‘डेट कन्भर्टर’ को सहयोगबाट सन् १९०१ अप्रिल १५ लाई वि.सं. मा रूपान्तरण गर्दा १९५८ वैशाख ३ गते सोमबार देखाउँछ । सुदर्शन पौडेलद्वारा विकसित ज्योतिषशास्त्रीय सफ्टवेयर ‘स्काइभिजन’ ले पनि यही तिथिमिति देखाउँछ । उता १९५८ वैशाख ११ गते मङ्गलबार पर्छ । यस्तै वैशाख वदी ११ र ज्येष्ठ वदी ३ का बीच २१ दिनको अन्तर रहेको पञ्चाङ्गले देखाउँछ । यी तथ्यका आधारमा गोरखापत्रको सनद जारी भएको मिति प्रचलनमा ल्याइएको ‘वैशाख ११ गते’ नभई १९५८ वैशाख ३ गते रहेको निष्कर्षमा पुग्न सकिन्छ । 

यति हुँदाहुँदै पनि गोरखापत्र व्यवस्थापनले सम्बन्धित विषयविज्ञसँगको सहयोगमा सनद जारी भएको मितिको किटान गरी सार्वजनिक जानकारी दिनु र उपयोगमा ल्याउनु जरुरी छ । गोरखापत्रमा समेत सनद जारी भएको गलत मिति प्रकाशित भइरहनु सही होइन । गोरखापत्र संस्थानको संस्थागत वेबसाइटको ‘हाम्रोबारे’ मा ‘वि.सं. १९५८ वैशाख १ दी ११ रोज २ मा ‘गोर्खापत्र’को प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण’ भएको उल्लेख हुनु त झनै लाजमर्दो कुरो हो । यसमा बिनाविलम्ब सुधार अपेक्षित छ । गोरखापत्रका बारेमा मिथ्या र भ्रामक जानकारी सम्प्रेषित नहोस् भन्नेतर्फ ध्यान दिने मुख्य दायित्व तथा जिम्मेवारी गोरखापत्र संस्थानकै हो । अब पनि सत्यतथ्यको निप्टारा गर्नमा किन ढिलाइ गर्नु र ? राष्ट्रिय सम्पदा भइसकेको अखबारको आधार मानिएको सनद प्रकाशनको यकिन समय निर्धारण ऐतिहासिक दृष्टिले झनै महत्त्वपूर्ण छ । 

Author

कृष्ण श्रेष्ठ