• ३० असार २०८१, आइतबार

त्यो बेलाको समाचार सङ्कलन

blog

धेरैलाई पत्यार नलाग्न सक्छ, मुलुकको जेठो अखबारमा आजभन्दा ३५ वर्षअघिसम्म आफ्नै समाचारदाताबाट समाचार सङ्कलन गर्ने चलन नै थिएन तर यो यथार्थ हो । त्यतिबेला गोरखापत्रका सम्पादकहरूले कहिलेकाहीँ समाचार बनाउँथे तर कार्यालयमै आएका विभिन्न मन्त्रालय, विभाग, संस्थानलगायत विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका विज्ञप्तिमा आधारित रहेर । 

त्यसैले होला, त्यस्ता समाचारमा कार्यालय प्रतिनिधि भनेर लेखिएको हुन्थ्यो । कहिलेकाहीँ राजाको सवारीमा, मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा समावेश भएर स्वदेश वा विदेश भ्रमणमा जाने अवसर मिलेका बेला भने सँगै गएका सम्पादकहरूले हाम्रा प्रतिनिधि, विशेष प्रतिनिधि भनेर केहीमा समाचार लेख्नेको नाम (बाइलाइनमा)समेत भएका समाचार छापिन्थे । 

वि.सं. २०४५ माघमा यो पङ्क्तिकार गोरखापत्रमा प्रवेश गरेको दिनबाट झन्डै एक महिनासम्म तत्कालीन प्रमुख समाचारदाताले हरेक दिन बिहान अफिस पुगेर हाजिर गरेपछि नगर प्र्रहरीमा गएर २४ घण्टामा भएका अपराध घटनाका विषयमा समाचार बनाउन लगाउनुभयो । भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा गएर त्यस्ता विवरण माग्दा कार्यालयमा रहेको दर्ता रजिस्टरमा विगत २४ घण्टामा दर्ता भएका विभिन्न घटना विवरण टिपोट गरी लैजान भन्थे । त्यहाँबाट कार्यालय पुगेपछि त्यसको समाचार बनाउन भनिन्थ्यो । 

कहिले सबै च्यातेर फालिन्थे भने कहिले केही फालिन्थे । केही भोलिपल्टको गोरखापत्रमा नगर समाचार शीर्षकमा प्रकाशित हुन्थे । कहिलेकाहीँ कतैबाट पत्रकार सम्मेलनको निमन्त्रणा प्राप्त भयो भने कहिले ठूला सम्पादकसमेत त कहिले हामीलाई मात्र पठाएर पनि समाचार लेख्न भनिन्थ्यो । त्यतिबेला गोरखापत्र केन्द्रमै समाचार सङ्कलनको अवस्था त त्यस्तो थियो भने जिल्ला–जिल्लामा आफ्नै समाचारदाता राख्ने विषय त कल्पनाभन्दा बाहिरको थियो ।

यसरी मुलुकको जेठो अखबार गोरखापत्रमा २०४५ सालसम्म गोरखापत्रका समाचारको स्रोत राष्ट्रिय समाचार समिति नै थियो । अहिले त्यसमा धेरै फरक छ । उदाहरणका लागि यही २०८० साल वैशाख १४ गतेको गोरखापत्रमा प्रकाशित समाचारहरूमा मनाङको एउटा समाचार राससको रहेछ । बाँकी सबै आफ्नै समाचारदाताका समाचार रहेछन् । 

खासगरी २०४६ सालको ऐतिहासिक परिवर्तनपछि गोरखापत्रमा पनि थोरै भए पनि परिवर्तन देखिन सुरु भयो । गोरखापत्रमा पनि आफ्नै समाचारदाताका समाचार छापिन सुरु भयो । गोरखापत्रमा कार्यरत सम्पादकहरूलाई बिस्तारै समाचार सङ्कलन कार्यमा खटाउन थालियो । गोरखापत्रमा त्यतिन्जेलसम्म कार्यालय प्रतिनिधि भनेर समाचार छापिने गरेकामा भर्खर काम सुरु गरेका नयाँ सम्पादकहरूले त्यसमा चित्त बुझाएनन् र समाचारदाता, संवाददाता वा कार्यालय प्रतिनिधि के लेख्ने भन्ने विषयमा निकै लामै छलफल भयो र समाचारदाता नै लेख्ने तय भएको थियो । 

निजी क्षेत्रको साप्ताहिक पत्रिकामा काम गर्दागर्दै गोरखापत्रमा आइपुगेको यो पङ््क्तिकारलाई गोरखापत्रमा प्रवेश गरेलगत्तै सुरु भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनकोे बेला समाचार सङ्कलन गर्न निकै अप्ठ्यारो हुन्छ भन्ने सोच थियो तर संस्थानका तत्कालीन कार्यकारी अध्यक्ष श्रीशशमशेर जबरा तथा गोरखापत्रका तत्कालीन प्रधानसम्पादक बालमुकुन्ददेव पाण्डेका कारण त्यस्तो कुनै अप्ठ्यारो अवस्थाको सामना गर्नु परेन । किनभने उहाँहरू दुवै जनाले गोरखापत्र सरकारी स्वामित्वको अखबार भएकाले त्यतिबेलाको राजनीतिक व्यवस्था र सरकारका विरुद्धमा गरिने आन्दोलनको पक्षमा समाचार वा विचार छाप्न नमिल्ने भए पनि जनआन्दोलनको विरुद्धमा समाचार वा विचार लेख्न पनि हामीलाई दबाब दिनुभएन । 

त्यसबाहेक त्यतिबेला मुलुकमा भइरहेका अनियमितता, भ्रष्टाचार, अनावश्यक ढिलासुस्तीजस्ता विषयमा खोजी समाचार लेख्न प्रोत्साहित नै गर्नुभयो । खर्च फस्र्योटमा समस्या हुने भएकाले बाध्यताले बाहेक कोही पनि स्वेच्छाले उपत्यकाबाहिर गएर समाचार सङ्कलन गर्न उत्साहित हँुदैनथे । श्रीशशमशेरकै पालामा हामीले आफ्ना समस्या प्रस्तुत गरेपछि छलफल गरेर दिनको निश्चित रकम खर्च उपलब्ध गराउने त्यो फस्र्योट गर्न बिल भर्पाई बनाइरहनु नपर्ने व्यवस्था गरियो । 

२०४८ सालमा जननिर्वाचित सरकार गठन भएर गोरखापत्रमा नयाँ व्यवस्थापन नआएसम्म उपत्यकाबाहिरका समाचार यसैगरी केन्द्रबाटै सम्पादक पठाएर मात्र सङ्कलन हुने अवस्था कायमै थियो । यसै क्रममा गोरखापत्रमा पुरुषोत्तम बस्नेत कार्यकारी अध्यक्ष भएर आउनुभएपछि गोरखापत्रमा पनि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा आफ्नै समाचारदाता भर्ना गर्न सुरु गरियो । सुरुमा एक दर्जन हाराहारी जिल्लामा आफ्नै समाचारदाता राख्न सुरु गरेको गोरखापत्रमा अहिले प्रायः सबै जिल्लामा अझ कतिपय जिल्लामा त सहरैपिच्छे अलग अलग समाचारदाता राख्न सुरु भइसकेको छ । 

गोरखापत्रमा त्यतिबेला नै छपाइका लागि वेब अफसेट प्रेस आइसकेको भए पनि चिम्टाले सिसाका अक्षर टिपेर कम्पोज गरेर पेज बनाउनुपर्ने प्रविधि पनि कायमै थियो । कोलमका हिसाबले कम्पोज गरेर फोटो धोएजस्तै गरी धोएर निस्केको पेपरलाई गोरखापत्रको डमी सिटमा टाँसेर पेज तयार गरी प्लेट बनाएर छापिन्थ्यो भने जिल्लाबाट समाचार प्राप्त गर्न त्यत्तिकै समस्या थियो । कम्प्युटर नै नभएको समयमा इमेल कल्पनाभन्दा बाहिरको कुरा भयो । त्यसैले बल्लतल्ल भर्ना भएका जिल्ला समाचारदाताबाट समाचार प्राप्त गर्नै समस्या हुन्थ्यो । केही ठूला जिल्लामा भने फ्याक्ससम्म थियो, त्यो पनि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा । 

प्रजिअको आदेशबेगर समाचार पठाउन सम्भव नै नहुने । त्यस्तो भएपछि भ्रष्टाचार, अनियमितताका समाचार कसरी प्राप्त हुनु ? त्यसरी बल्लतल्ल प्राप्त भएका समाचार पनि आधा काटिएर अचकल्टो तथा कतै मसी उडेर अक्षर नबुझिने गरी प्राप्त हुन्थ्यो । त्यस्तोमा टेलिफोनबाट टिप्नेबाहेक अर्को विकल्पै हँुदैनथ्यो । त्यसरी प्राप्त भएका समाचार पनि छाप्न लायकका कहाँ पाउनु ? टिपोटबाट आफैँले मेहनत गरेर समाचार तयार गर्नुपर्ने हुन्थ्यो ।

पछि क्रमशः थप जिल्लामा पनि समाचारदाताहरू थ्पिँदै गए । उनीहरूलाई गोरखापत्रको वार्षिकोत्सवका अवसरमा काठमाडौँमा बोलाएर दुई÷तीन दिनको आधारभूत पत्रकारिता तालिम दिने पनि गरियो । ¬पछि केन्द्रमा सरकार बदलिएपिच्छे गोरखापत्रको व्यवस्थापन फेरिने र व्यवस्थापनको नेतृत्व फेरिएपिच्छे जिल्ला समाचारदाता पनि पुराना फालिने नयाँ भर्ना गर्ने प्रचलनले गर्दा समाचार लेख्न सक्ने भइसकेकाहरू हटाइने र नसक्नेहरू भर्ना गर्ने क्रम चलिरहँदा गोरखापत्र संस्थान पत्रकारिता तालिम केन्द्रजस्तो हुन पुग्यो । 

गोरखापत्रले त्यसमा दुःखमनाउ गर्नुभन्दा गर्व गर्दा हुन्छ । किनभने गोरखापत्रमा जिल्ला समाचारदाता भएर तालिम प्राप्त गरेकामध्ये कति जना त अहिले गोरखापत्रको केन्द्रमै आएर विभिन्न तहका सम्पादकमा कार्यरत छन् भने कतिपय गतिला पत्रकार भएर मुलुककै सम्पत्तिमा गनिने पनि भएका छन् तर दुःखको कुरा त्यसै गर्दागर्दैमा गोरखापत्रको स्तर कहिल्यै माथि उठ्न सकेन । 

मुलुकमा उपलब्ध सञ्चार क्षेत्रको अत्याधुनिक प्रविधि गोरखापत्रमा पनि मनग्गे मात्रामा उपलब्ध भइसकेकै हुनुपर्छ तैपनि मेसिन पनि मानिसले चलाएर त्यसबाट उपलब्धि लिने त होला ! मेसिनले आफैँ गर्ने त होइन होला । सम्भवतः त्यस्तै भएर होला, कहिलेकाहीँ एउटै पेजमा एउटै समाचार दुई ठाउँमा छापिएको पढ्नुपर्दा भने करिब २५ वर्ष त्यही संस्थामा कार्यरत रहेकाले पनि हो, असाध्यै नरमाइलो लाग्दो रहेछ । 

यसरी काम गर्दै जाँदा सामान्यतया सरकारी स्वामित्वको अखबारमा सरकारका आलेचना गरिएका समाचार वा विचार प्रकाशित होला भनेर कसैले पनि अन्दाज गर्दैन र पत्याउँदैन पनि तर त्यतिबेला पनि प्रधानमन्त्रीका आमसभामा कालो झन्डा देखाउने, ढुङ्गामुढा गर्ने, बिजुली तार काटिदिएर कार्यक्रम नै केही बेर बिथोलिएका समाचार पनि गोरखापत्रमा छापिएका छन् ।

एक पटक भरतपुरमा आमसभा भइरहेको र प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा आमसभाको भिडबाट केही व्यक्तिले कालो झन्डा देखाए, प्रहरीले स्वाभाविक रूपमा तिनलाई धरपकड गरे । त्यसपछि सम्बोधनकै क्रममा “कालो झन्डा देखाउँदा तर्सने म भैँसी होइन” प्रहरीलाई तिनीहरूलाई केही नगर्नू ! भनेर प्रधानमन्त्रीले सम्बोधनकै क्रममा भन्नुभयो । 

ती समाचार छापिएपछि त्यतिबेलाका स्वनामधन्य वरिष्ठहरूले यो पङ्क्तिकारसँग त्यस्तो समाचार गोरखापत्रले कसरी छाप्यो भन्दै आश्चर्य मान्दै प्रश्न गरे भने केही मूर्धन्य व्यक्तित्वले गोरखापत्रले प्रधानमन्त्रीलाई भैँसी भनेर लेख्यो भनेर एउटा समीक्षा बैठकमा सगर्व प्रस्तुत गरे । यी केही उदाहरण मात्र भए । सरकारी स्वामित्वको पत्रिका भन्दैमा मालिकको नाकमा बसेको किरोलाई तरबारले छप्काएजस्तो गर्नु आवश्यक नै थिएन र छैन पनि तर बिगार्ने भनेको यस्तै बढी स्वामीभक्ति देखाउनेले रहेछन् । 

अर्को एउटा उदाहरण पनि छ, त्यतिबेला समाचार सङ्कलनमा जाँदा हामी पनि निजी क्षेत्रका साथीहरूसँगै जाने हो । भोलिपल्ट त्यही कार्यक्रमको समाचार प्रकाशित हुँदा त्यतिबेलाको नाउँ चलेको दैनिकले उल्टोपाल्टो कुरो छापेको देखियो । भोलिपल्टै वा केही दिनपछि सम्बन्धित पत्रिकाको समाचारदाताले आफ्नो दुखेसो यसरी सुनाए, “हाम्रो त समाचार लेखेर सम्पादकलाई बुझाउँदा सम्पादकले टेबलको घर्राबाट बनिबनाउ समाचार दिएर त्यो होइन यो चाहिँ छाप्ने हो ।” यसरी निजी क्षेत्रका केही पत्रिकाले आफ्नो अधिकारको दुरुपयोग गर्दा रहेछन् भने सरकारी स्वामित्वका अखबारले बढी स्वामीभक्ति देखाउँदा आफ्नो अधिकार प्रयोग नै गर्दैनन् र अन्ततोगत्वा पत्रकारिता र पत्रकारकै बदनाम गराउँदा रहेछन् ।   

Author

आनन्दराम आचार्य