• ९ मंसिर २०८१, आइतबार

घरभित्रबाट निस्कने धुवाँ

blog

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सार्वजनिक गरेको एक रिपोर्टअनुसार विश्वका महिलाले दैनिक औसतमा साढे चार घण्टाको समय घरभित्रै घरधन्दा गरेर बिताउने गरेका छन् । जब कि पुरुष घरधन्दामा त्यसको आधा मात्रै समय बिताउँछन् । त्यस्तै अफ्रिका र एसियाका महिलाले त एक दिनमा औसतमा तीनदेखि पाँच घण्टा भान्सामा चुलोकै अगाडि बिताउनुपर्छ, आफ्ना बच्चालाई सँगै राखेर । 

वास्तवमा खाना पकाउने, घर सरसफाइ गर्ने तथा परिवारका सदस्यको हेरचाह गर्नेलगायतका घरेलु काममा पुरुषको तुलनामा महिलाको सहभागिता धेरै हुने कुरा दुनियाँको कुनै निश्चित समुदाय, समाज वा देशमा मात्र सीमित नभई विश्वव्यापी सत्यका रूपमा रहेको छ । हाम्रो परम्परागत समाजमा त यस्ता घरधन्दा महिलाकै ठेक्का हुन् भन्दा फरक पर्दैन । महिलाले हरेक दिन लामो समय घरभित्रै बिताउनु पर्दाका विभिन्न आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा स्वास्थ्यजन्य असर छन् । 

घरभित्रको वायु प्रदूषणबाट महिला स्वास्थ्यमा परेको गम्भीर क्षति एउटा महत्वपूर्ण वैश्विक सवाल बन्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार विश्वका दुई अर्ब ४० करोड अर्थात् करिब एकतिहाइ मानिसले खुला आगो वा धेरै धुवाँ उत्सर्जन हुने चुलोमा खाना पकाउने गरेका छन् । छवाली, ढोँड, परालजस्ता कृषिजन्य वस्तुका साथै दाउरा, गुइँठा, 

मट्टितेल र कोइलालगायत वस्तुको दहन गरिने प्रदूषक चुलोहरू निकै हानिकारक गार्हस्थ वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा रहेका छन् ।

तथ्याङ्कअनुसार विश्वका ग्रामीण क्षेत्रमा बस्ने ५२ प्रतिशत मानिस खाना पकाउनका लागि उल्लिखित प्रदूषक इन्धन तथा प्रविधिमा निर्भर हुन बाध्य छन् भने सहरी क्षेत्रमा समेत यस्तो धुवाँयुक्त चुलो प्रयोग गर्नेको सङ्ख्या १४ प्रतिशत छ । यस्तो स्रोतबाट उत्सर्जित धुवाँमा विषाक्त कणका साथै कार्बनमोनोअक्साइड, बेन्जिन तथा फर्माल्डिहाइडजस्ता मानव स्वास्थ्यमा निकै खराब असर गराउने प्रदूषण हुन्छन् । दाउरा, गुइँठा र तेल, मट्टितेल मात्र होइन, घरभित्र उत्पादन हुने धुवाँका लागि तमाखु तथा चुरोट सेवनले पनि आगोमा घिउ थपिरहेका हुन्छन् । 

चुलो र धूमपानका कारण धुवाँ सिर्जना हुने तर परम्परागत घरहरूमा धुवाँ निष्कासन (भेन्टिलेसन)को उचित प्रबन्ध नहुँदा गृहिणी महिला तथा बालबालिका हरेक सासमा विषाक्त प्राणवायु लिन बाध्य छन् । यसले उनीहरूलाई गम्भीर स्वास्थ्य समस्याको चपेटामा पारिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार घरेलु वायु प्रदूषणकै कारण विश्वमा बर्सेनि ३२ लाख जनाको मृत्यु हुने गरेको छ र त्यसमध्ये दुई लाख ३७ हजार जना पाँच वर्षमुनिका बालबालिका छन् ।

घरभित्रको वायु प्रदूषणका कारण ज्यान गुमाउनेमध्ये ३२ प्रतिशतले धमनीजन्य मुटुसम्बन्धी रोग, २३ प्रतिशतले स्ट्रोक, ४० प्रतिशतले श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमण तथा अन्य समस्या र करिब ६ प्रतिशतले फोक्सोको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । तथ्याङ्कअनुसार वायु प्रदूषणले एक वर्षमा विश्वका सबै मानिसको गरी कुल आठ करोड ६० लाख वर्ष आयु घटाइदिएको छ । विश्वमा सर्वाधिक रोग सिर्जना गर्ने कारक तìवमध्ये आठौँ स्थानमा घरभित्रको वायु प्रदूषण रहेको छ र विश्वव्यापी रोगव्याधीमध्ये २.७ प्रतिशत घरभित्रको धुवाँकै कारण लाग्ने गरेका छन् । 

यसको सबैभन्दा धेरै मार पर्नेमा न्यून तथा निम्न मध्यम आय भएका मुलुकका महिला रहेको पनि तथ्याङ्कले देखाएको छ । त्यस्तै विश्वमा निमोनियाका कारण हरेक वर्ष मृत्यु हुने पाँच वर्षमुनिका बालबालिकामध्ये आधाजसोको मृत्यु घरभित्रको धुवाँकै कारण हुने गरेको छ । घरभित्रको दूषित वायुले स्वास्थ्यमा पार्ने असरहरू केही तत्कालै देखिन्छन् भने केही रोग लामो समयपछि मात्रै देखा पर्दछन् । घाँटी खसखसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, खकार आउने, आँखा बिझाउने तथा चिलाउने, हेर्न कठिनाइ हुने, आँसु आउने, घाँटी दुख्ने, मानसिक तनाव आदिजस्ता असर छोटो समयमै देखा पर्दछन् । जब कि लामो समयसम्म प्रदूषित वायुमा बस्दा निमोनिया, दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु आदिजस्ता रोगको जोखिम हुन्छ । 

त्यस्तै गर्भवती महिलाले धेरै समयसम्म धुवाँमा बसेको खण्डमा समयभन्दा अगाडि बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने र मृत बच्चाको जन्म हुनसक्ने खतरा उत्पन्न हुने बताइन्छ । विभिन्न अध्ययनले देखाएअनुसार नेपालमा घरभित्रको वायु प्रदूषणका कारण उत्पन्न हुने रोगव्याधीबाट बर्सेनि आठ हजार जनाले ज्यान गुमाउने गर्छन् र त्यसमा अधिकांश महिला तथा बालबालिका पर्ने गरेका छन् । नेपालमा हुने रोगव्याधीको कुल भारमध्ये २.७ प्रतिशत रोग घरभित्रको वायु प्रदूषणका कारण उत्पन्न हुने रोगले ओगट्ने गरेको पनि तथ्याङ्क छ । 

पछिल्लो जनगणनाको तथ्याङ्कले नेपालमा अझै पनि आधाभन्दा धेरै परिवारले खाना पकाउनका लागि काठदाउरा प्रयोग गर्ने गरेको देखाएको छ । देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन प्रायः काठ दाउरा प्रयोग गर्ने गरेका छन् । त्यस्तै २.९ प्रतिशतले गुइँठा, १.२ प्रतिशतले बायोग्यास अनि ०.०५ प्रतिशतले मट्टितेल प्रयोग गर्ने गर्दछन् भने खाना पकाउनका लागि ग्यास प्रयोग गर्नेको सङ्ख्या ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्नेको सङ्ख्या ०.५ प्रतिशत छ । 

कर्णाली प्रदेशमा त खाना पकाउनका लागि ८२ प्रतिशतभन्दा धेरैले काठ दाउरा प्रयोग गर्ने गर्दछन् । यसले अझै पनि हाम्रो भान्सामा प्रदूषक इन्धनकै बाहुल्य रहेको र घरभित्रको धुवाँको समस्या ज्यूँका त्यूँ रहँदा महिला र बालबालिका उच्च जोखिममा रहेको देखाउँछ । एक तथ्याङ्कअनुसार विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको हावाको सुरक्षित स्तरको तुलनामा परम्परागत चुलो प्रयोग गर्ने नेपाली घरभित्र वायु प्रदूषण १५ गुणाले बढी छ । 

दाउरा राम्ररी बल्न नपाउने र धुवाँ निष्कासन नहुने खालको परम्परागत चुलो, राम्ररी नबल्ने दाउरा, घरायसी इन्धनका रूपमा दाउरा, गुइँठा तथा अन्य घरेलु जीवांश इन्धनबाहेक अरू सस्तो विकल्प नहुनु र भए पनि गरिबीका कारण पहुँचबाहिर हुनु, घरभित्र हावाको सञ्चार राम्रोसँग नहुने गुजुमुज्ज र झुप्राझुप्री बस्तीको बाहुल्य हुनुका साथै धुवाँले स्वास्थ्यमा पु¥याउने असरका विषयमा समेत जनचेतनाको अभाव छ । गाउँघरतिर त धुवाँले घरलाई मक्किनबाट जोगाएजस्तै धुवाँमा आगो ताप्दा शरीरका रोगव्याधहरू पनि निको हुन्छन् भन्ने मान्यता छ । 

यद्यपि जनगणनाको तथ्याङ्कले नेपालमा ग्यासमा खाना पकाउने परिवारको सङ्ख्या पछिल्लो १० वर्षमा दोब्बर बढीले वृद्धि भएको देखाएको छ । सायद बढ्दो सहरीकरणका कारण यस्तो परिवर्तन देखिएको हुनसक्छ तर सरकारले खाना पकाउनका लागि बिजुलीको प्रयोग गर्न आह्वान गरे पनि ठोस कार्यक्रमसहित प्रोत्साहन गर्न नसक्दा स्वच्छ ऊर्जाका रूपमा रहेको बिजुलीबाट खाना पकाउने परिवारको सङ्ख्या नगन्य नै रहेको देखिन्छ । महिलालाई घरभित्रको धुवाँबाट मुक्ति दिनका लागि भान्सामा बिजुलीको प्रयोग बढाउनुको विकल्प छैन । यसका लागि देशभर भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता, न्यूनतम गार्हस्थ विद्युत् खपतको सीमा बढाउने तथा खाना पकाउने प्रयोजनमा प्रयोग हुने बिजुलीको महसुल दर घटाउने र विद्युतीय चुलोको निःशुल्क वितरण वा अनुदान आदिको व्यवस्था गर्नु आवश्यक छ ।

त्यस्तै परम्परागत ऊर्जा प्रयोग गरिरहेका घरपरिवारमा पनि परम्परागत चुलोको साटो सुधारिएको चुलो प्रयोगलाई बढावा, चुलोबाट निस्कने धुवाँ घरबाहिर पठाउन चिम्नी वा भेन्टिलेसनको व्यवस्था गर्ने, घरभित्र आगो बाल्दा झ्यालढोका खुला गर्ने, राम्रोसँग बल्ने दाउरा प्रयोग गर्ने, काँचो दाउरा नबाल्ने र राम्ररी सुकाएर मात्र बाल्ने, धेरै समय चुलो बाल्ने भान्सामा नबस्ने र घरबाहिर स्वच्छ हावा लिन निस्किने, बालबालिकालाई धेरै समय चुलोमा बस्न नदिने, राम्ररी सुकेको गुइँठा मात्र बाल्ने, सकेसम्म बायो ब्रिकेट प्रयोग गर्ने गरिएमा घरभित्रको धुवाँजन्य प्रदूषण घटाउन सकिन्छ । 

गोबर ग्यास तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा प्रयोग गर्न सकिएमा प्रदूषण घट्ने मात्र नभई वैकल्पिक ऊर्जा प्रयोग गुणस्तरीय जीवनयापनको आधारसमेत बन्न सक्छ । घरभित्रको विषाक्त धुवाँको एउटा उल्लेख्य स्रोतका रूपमा धूमपान पनि रहेको हुँदा घरपरिवारका हरेक प्रौढ सदस्यले घरभित्र धूमपान नगर्ने बानी बसाल्नु पर्दछ । वास्तवमा घरभित्रको प्रदूषण न्यूनीकरण गर्न सकियो भने महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव परी बाल तथा मातृ मृत्युदरमा स्वतः कमी आउँछ । स्वस्थ महिला आयआर्जनका काममा सहभागी हुन सक्ने भएकाले त्यसले परिवार र समाजको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै महिला सशक्तीकरणमा पनि योगदान पु¥याउँछ । घरभित्र धुवाँमा रङमङ्गिइरहेका महिलालाई धुवाँबाट मुक्ति नमिलेसम्म देशको सर्वाङ्गीण विकासको कल्पना गर्न सकिन्न ।  

लेखक महिला तथा सामाजिक मुद्दाबारे जानकार हुनुहुन्छ ।    

Author

मीना मरासिनी