• १३ साउन २०८१, आइतबार

दूध आयातबारे प्रतिवेदन मन्त्रीलाई

blog

काठमाडौँ, वैशाख १७ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्नुपर्ने प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई बुझाएको छ । बोर्डले डेरीसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको आधारमा सो प्रतिवेदन मन्त्री भुसाललाई बुझाएको हो । डेरी उद्योगीले झोल तथा धुलो दूध र बटरको अभाव देखाउँदै केही समयका लागि भारतबाट आयात खुला गर्न माग गर्दै कृषि मन्त्रालय र बोर्डमा निवेदन दिएका थिए । 

सो निवेदनका आधारमा बोर्डले सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गरेर मन्त्री भुसाललाई बुझाएको हो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले सरकारी तथा निजी डेरी उद्योगीले दूधको अभाव छ भनी आग्रह गरेका थिए, त्यसका आधारमा छलफल गरी प्रतिवेदन तयार गरेर मन्त्री भुसाललाई बुझाएको बताउनुभयो । तर, दूध आयातका लागि खुला गर्नुअघि सबै तथ्य र अवस्थाका बारेमा विश्लेषण गरेर मात्र खुला गर्न सुझाव दिएको उहाँले बताउनुभयो । 

डेरी उद्योगीले झोल तथा धुलो दूध र बटर आयात गर्न पाउनुपर्ने भनेका छन् । बोर्डले बटर र धुलो दूधको अभाव नदेखिएको विश्लेषण गरेको छ । यद्यपि यसबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, नेपाल, नेपाल डेरी उद्योग सङ्घले दूधको अभाव रहेको भन्दै केही समयका लागि दूध आयात गर्नुपर्छ भन्दै कृषिमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् तर यी डेरी उद्योगीले सुगममा मात्र दूध खोजेको तर दुर्गम गाउँमा गएर सङ्कलन नगरेका कारण दूधको अभाव देखिएको किसानको गुनासो छ ।  

आफ्नो नाफाका लागि किसानका दूध खरिद नगरी भारतबाट सस्तोमा दूध ल्याएर नेपालमा महँगोमा बेच्नका लागि आयात गर्न दबाब दिइरहेको किसानको गुनासो छ । नेपालभन्दा भारतमा सस्तोमा दूध पाउँछन् र सङ्कलन तथा ढुवानीको पनि झन्झट नहुने भएको हुनाले डेरी उद्योगीले आयातमा विशेष जोड दिएका हुन् । 

तराई, पहाडका ग्रामीण क्षेत्रमा दूध सङ्कलन गर्दा जति पनि दूध पाइन्छ तर उद्योगीले सङ्कलन तथा ढुवानी खर्चको डरले सुगम क्षेत्रबाट मात्र दूध सङ्कलन गर्ने गरेको किसानसँग सम्बन्धित सङ्घसंस्थाको दाबी छ ।