• १० पुस २०८१, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

blog

सुर्खेत, वैशाख १५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । 

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले प्रदेश सभाको  आज दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिनुभयो । माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी ) र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको थियो । उहाँले माघ ६ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको थियो । तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत १७ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।  

दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपा बाहेक काँग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका  थिए ।  तर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको लिनुपरेको हो । केन्द्रमा बनेको एमाले–माओवादीसहित ७ दलको सत्ता गठबन्धन भत्किएसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिएको छ ।  सरकारमा काँग्रेस सहभागी बनेको छ । 

काँग्रेसबाट तीन जना मन्त्री सरकारमा सहभागी छन् ।   कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १४, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र गरेर एक-एक जना प्रदेश सभा सदस्य छन् ।  

Author

मुना हमाल