• १३ साउन २०८१, आइतबार

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १५ गते ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक नाईन एन–एबीटी जहाजले सफल उडान भरेको छ । काठमाडौंबाट बिहान ६ बजेर ४६ मिनेटमा उडान भरेको सो जहाजले रेसुङ्गा विमानस्थलमा ७ बजेर ३९ मिनेटमा अवतरण गरेको हो ।

यस विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो । पुनः २४ पुस २०७९ मा तारा एयरको १८ सिट क्षमता भएको जहाजले सफल परीक्षण उडान गरेको थियो । तर पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले आफ्नो योजना पछाडि धकेलेको हो ।

लगत्तै नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तत्काल उडानको अनुमति नपाएपछि परीक्षण उडान प्रभावित बनेको थियो । तारा एयरले परीक्षण उडान गरेको झण्डै चार महिनापछि शुक्रबार रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ ।

फ्लाइट प्याचर, इन्जिनियर, पाइलट, एयर नेभिगेटर लगायतको प्राविधिक टोलीले कुन एंगलबाट ल्यान्ड गर्न सजिलो हुन्छ, कति हावा लाग्छ, लोड लिन सकिन्छ, कताबाट टेक अफ गर्न सकिन्न भन्ने विषयमा पनि मापन गरेको छ । निगमका क्याप्टेन मनिष विष्टले आफूहरूले बढीमा एक साताभित्र नागरिक उड्डयन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले व्यवसायीक उडानका लागि आफ्नो आवश्यकता अनुसार नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको बताउनुभयो । “कनेक्टिभिटी समृद्धिको पहिलो आधार हो, त्यसमा पनि हवाई कनेक्टिभिटी महत्वपूर्ण छ ।” उहाँले भन्नुभयो,–“लामो समयदेखि गुल्मेली जनताको हवाईसेवा पाउने सपना छ अब त्यो समपना केही दिनभित्रै कमर्शियल उडानबाट पुरा हुँदै छ । त्यसको प्रारम्भका निम्ति परीक्षण उडान सम्पन्न भएको छ ।”

गत फागनु १७ गते परीक्षण उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग रेसुंगा नगरपालिकाले सम्झौता गरेको थियो । तर प्राविधिक कारणले ढिला भएको नगरप्रमुख पन्थीले बताउनुभयो । केही दिनमै सम्झौता बमोजिम कमर्शियल उडान प्रारम्भ हुने उल्लेख गर्नुभयो । उहाँले हवाई यायतयातसँग जोडिएसँगै गुल्मीको गौरव पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,– “जिल्लालाई हवाई यातयातसँग जोड्ने  महत्वपूर्ण कार्य सफल भएको छ ।”

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० अवस्थित रेसुङ्गा विमानस्थल कुल ३५ करोड लागतमा सम्पन्न भएको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । विमानस्थले गुल्मीको पर्यटनलगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ ।