घरेलु हिंसा सामाजिक मुद्दा हो । घरेलु हिंसा घरेलु वातावरणमा हुने हिंसात्मक व्यवहार हो, जसमा घरका कोही पनि सदस्यले अरू कुनै सदस्यको शारीरिक तथा मानसिक रूपले क्षति पु-याउँछ । हिंसा आफ्नो शक्ति देखाउन र दोस्रो व्यक्तिलाई आफ्नो काबुमा राख्ने उद्देश्यले हुने गर्छ । घरेलु हिंसा भोगिरहेको मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिकजस्ता समस्या सहनु परेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजका रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ ।
घरेलु हिंसा सबैभन्दा बढी हुने तथा सबैभन्दा कम देखिने हिंसाको किसिम हो । यसको विनाशकारी परिणाम पीडितको जीवनमा मात्र नभई बृहत्तर रूपमा परिवार, समुदाय तथा समाजलाई पनि पर्छ । संसारभर नै घरेलु हिंसा मानव अधिकारको एक भयानक समस्याका रूपमा देखिएको छ तर लाज तथा लाञ्छना लाग्ने डरले पीडित आफूमाथि भइरहेको हिंसाका बारेमा कुरा गर्न तथा सहयोग लिन गाह्रो मान्छन् । त्यसैले यो घरभित्रै गुपचुप र अदृश्य रहन्छ । घरेलु हिंसा संसारका हरेक देश तथा संस्कृतिमा हुन्छ र यसले समुदायका सबैलाई असर गर्छ ।
विभिन्न देशमा झैँ नेपालमा पनि घरेलु हिंसालाई समाजमा गहिरो गरी जरा गाडेर बसेको लैङ्गिक असमानता तथा भेदभावले नै बढावा दिएको तथ्य छ । समानताको अधिकारलगायत महिला, बालबालिका तथा पीडितले न्याय पाउने अधिकारलाई नेपालको संविधान, २०७२ मा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि घरेलु हिंसाका पीडितलाई आवश्यक सहयोग सुनिश्चित गर्न सकस छ । कानुन कार्यान्वयन गर्न कतिपय अवस्थामा चुनौतीपूर्ण छ । पीडितले घरेलु हिंसाको मुद्दालाई अगाडि बढाउन विभिन्न बाधा अड्चनको सामना गर्नु परिरहेको छ ।
नेपालमा हुने घरेलु हिंसाका घटनालाई सम्बोधन गर्न एउटा प्रमुख बाधक भनेको हाम्रो सामाजिक मूल्य–मान्यता हुन्; जसले घनिष्ट सम्बन्ध भएका व्यक्तिबाट हुने हिंसालाई सामान्य रूपमा लिएका छन् । यस्ता घटना प्रहरीकहाँ उजुरी गर्न गएमा आफ्नो र परिवारको इज्जतमा कलङ्क लाग्ने डरले पीडित मौन भएर बस्न र पीडा एक्लै सहेर बस्न बाध्य हुन्छन् । घटनाका बारेमा बताउँदा अरूले नपत्याउने वा सहयोग नगर्ने, सम्बन्ध विच्छेद हुने वा थप शारीरिक तथा मानसिक दुव्र्यवहार र अझ ठूलो दुर्दशा भोग्नुपर्ने अवस्था आएका छन् ।
घरेलु हिंसालगायत लैङ्गिक हिंसाका मुख्य कारण संसारभर महिला र पुरुषबीच रहेको पुरानो संरचनागत शक्ति असन्तुलनमा आधारित लैङ्गिक असमानता तथा भेदभाव हुन् । घरेलु हिंसा सामाजिक नियमसँग सम्बन्धित छ; जसले व्यक्तिलाई लिङ्गका आधारमा निश्चित जिम्मेवारी तोक्छ तथा त्यसमा पारिने बाधालाई स्वीकार्य ठान्छ । लैङ्गिक असमानताले महिला तथा बालिकाले दुव्र्यवहारको सामना गर्नुपर्ने स्थिति छ । हिंसात्मक सम्बन्ध बेहोर्नुपर्ने अवस्था छ । आर्थिक निर्भरता आय आर्जनमा सीमित विकल्प भएको र न्यून अवसरका कारणले शोषण भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
हिंसाले विवाह, सम्बन्ध विच्छेद तथा बालबालिकाको संरक्षकत्वको अधिकार र कानुनी रूपमा भेदभाव सहनुपर्ने जोखिम बढाएको छ । ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो’ भनाइ पराल होइन भुुसको आगोमा परिणत भएको छ । घरेलु हिंसा प्रायः गोप्य वातावरणमा बढ्ने गरेको पाइन्छ । जहाँ घरभित्रको कुरा बाहिरी व्यक्तिसँग गर्न कडा रूपमा निषेध गरिएको हुन्छ । नेपालमा पनि घरेलु हिंसालाई सार्वजनिक रूपमा कुरा गर्न वर्जित ठानिन्छ । मौनताकै भूमरीमा घर तथा समाजमा लुकाइन्छ । जसले गर्दा हिंसा गर्ने व्यक्तिमा थप हिंसा गर्ने चेतना पलाइरहेको हुन्छ र यसले भयानक रूप लिइरहेको हुन्छ ।
घरेलु हिंसा बढ्नुको सबैभन्दा मुख्य कारण लागुपदार्थ सेवन, सांस्कृतिक रीतिरिवाज र चलन, सामाजिकीकरण दाइजो प्रथा, महिलालाई आत्मनिर्भर हुनबाट रोक्नु, पुरुषवादी मानसिकता, महिलालाई कमजोर दृष्टिकोणले हेर्नु, गरिबी तथा निम्नस्तरको सामाजिक स्थिति, आपसी असमझदारीजस्ता कुरा प्रमुख हुन् । घरेलु हिंसाले पीडित व्यक्तिलाई मात्र नभई उनीहरूका बालबच्चा र हिंसा गर्ने स्वयंलाई समेत गम्भीर असर पारिरहेको हुन्छ । यस्तो असरको मनोवैज्ञानिक पक्ष झन् गम्भीर हुन सक्छ ।
घरेलु हिंसा विश्वव्यापी रूपमा एक व्यापक समस्या हो, जसले सबै लिङ्ग, उमेर र सामाजिक तथा आर्थिक पृष्ठभूमिका मानिसलाई असर गर्छ । घरेलु हिंसा चाहे पीडितलाई होस्, चाहे पीडकलाई व्यक्तिको पहिचान, प्रतिष्ठा, स्वतन्त्रता, समानता, क्षमता, मर्यादा र सम्मानलाई प्रभावित गर्न सक्छ । घरेलु हिंसाको असर कुनै पनि व्यक्ति, तिनीहरूको परिवार तथा समाजमा गम्भीर रूपमा तथा लामो समयसम्म रहिरहन्छ ।
घरेलु हिंसाबाट अधिकांश महिला नै पीडित छन् । घरेलु हिंसाबाट बच्न महिला आफ्नो मानसिकता बदल्न जरुरी छ । जबसम्म महिला परिवार र समाजको जागरुक नागरिक बन्नका लागि कोसिस गर्दैनन् र आफूमाथि भइरहेको हिंसा र उत्पीडनविरुद्ध जबसम्म बोल्न सक्दैनन्, तबसम्म घरेलु हिंसाको दलदलमा फसिरहन्छन् । त्यस्तै घरेलु हिंसालाई रोक्न सामाजिक जागरुकताको पनि उत्तिकै महìव छ । यसका लागि विद्यालय, क्याम्पस तथा गाउँ समाजमा घरेलु हिंसाको विषयमा विद्यार्थीसँग व्यवस्थित संवाद हुन जरुरी छ ।
विद्यालय तहदेखि नै काउन्सेलिङ हुन जरुरी छ ता कि महिलालाई जुन किसिमको घरेलु हिंसाको सामना गर्नुपर्छ, उसको समाधान खोज्न सकियोस् । महिलालाई आत्मनिर्भर बन्नका लागि प्रशिक्षित गराउन आवश्यक छ । महिलाको आर्थिक क्षमता विकसित गर्न तथा उत्पादनको साधन र सम्पत्तिमाथि उनीहरूको अधिकार हुन जरुरी छ । महिला आत्मनिर्भर र आफ्नो खर्च आफैँले उठाउन सक्ने स्थिति छ भने घरेलु हिंसाको सिकार हुनबाट बच्न सकिन्छ । घरेलु हिंसा रोक्न नैतिक शिक्षाको पनि उत्तिकै आवश्यक छ ।
सानैदेखि राम्रो असल संस्कार र वातावरणले पनि मान्छेको आचरणमा निकै प्रभाव पार्छ । आपसी समझदारीमा कमी, सहनशीलताको अभाव, आर्थिक र सामाजिक समस्याले घरेलु हिंसालाई बढावा दिइरहेको पाइएको छ । अन्त्यमा घरेलु हिंसा सामाजिक नियमसँग सम्बन्धित छ । घरेलु हिंसा सबैभन्दा हानिकारक र खतरनाक हिंसामध्येको एक हो । यो हरेक समुदायमा हुन्छ । घरेलु हिंसालाई अपराध नमान्ने हाम्रो समाजमा खासगरी महिला तथा किशोरीविरुद्ध हुने घरेलु हिंसाका पीडकले सजिलै उन्मुक्ति पाइरहेको अवस्था छ ।
नेपालमा घरेलु हिंसालाई सम्बोधन गर्ने कानुन भए पनि कमजोर कानुनको कार्यान्वयन र संस्थागत सहयोगको कमी, महिलालाई न्याय र न्यायिक
प्रणालीको स्रोत तथा क्षमताको कमीले पनि हिंसा गर्ने व्यक्तिमा मनोबल बढेको पाइन्छ । घरेलु हिंसाविरुद्ध देशमा कानुन बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्छ । राज्यले लक्षित वर्गमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र स्थानीय तहमा सक्रिय न्यायिक समितिले यस्ता अपराधलाई प्राथमिकतामा राखी कार्य गर्न आवश्यक छ ।
महिलाको तुलनामा धेरै पुरुषले मदिराजन्य र लागुपदार्थ सेवन गर्ने हुनाले अधिकांश हिंसाका घटना पुरुषसिर्जित हुने गरेका छन् र महिला नै त्यस्ता हिंसाबाट प्रताडित हुनु परेको अवस्था छ, त्यसैले नेपाली समाजमा व्याप्त पुरुषप्रधान मानसिकतामा परिवर्तन हुन जरुरी छ । महिलाका श्रम, विनयशीलता, सहनशीलता, लगनशीलता र मेहनती गुणको कदर गरिनुपर्छ । प्रायः कुनै पनि व्यक्तिले आफूमाथि हिंसा भएको कसैलाई सहजै भन्न सक्दैनन् । त्यसैले कसैले हिंसाबाट प्रभावित भएको बताएमा वा त्यस्ता व्यवहार देखाएमा सम्मानपूर्वक उनीहरूको पीडा बुझ्ने र सुन्ने वातावरण बन्नुपर्छ ।
हिंसा चाहे सहरी क्षेत्रमा होस् चाहे दुर्गम तथा ग्रामीण क्षेत्रमा, हिंसा हिंसा नै हो । त्यसैले राज्यका हरेक तह र तप्काका कुनाकन्दरामा, हरेक समुदायमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । घरेलु हिंसा रोक्न कानुनको कडा पालन आवश्यक छ र व्यक्ति स्वयं पनि शिक्षा, संस्कृति, प्रेम र एकअर्काप्रतिको सम्मानको भावनाले मात्रै घरेलु हिंसामाथि प्रभावकारी रोक लगाउन सकिन्छ साथै घरमूलीको परिवारमा समझदारी, सामञ्जस्यता र नियन्त्रण संस्कारको उचित प्रवाह बनिरह्यो भने घरेलु हिंसा स्वतः रोकथाम हुने निश्चित देखिन्छ ।
लेखक सामाजिक मुद्दामा लेख्नुहुन्छ ।