• ९ मंसिर २०८१, आइतबार

सामाजिक सञ्जालको दुरुपयोग

blog

हाल विश्वको सबैभन्दा धेरै सूचना सम्प्रेषण गर्ने माध्यम बनेको सामाजिक सञ्जाल अहिले कतिपयका मानिसका लागि मायाजाल बन्न पुगेको छ । निकट भविष्यमा यो बहुजनका लागि महाजाल अर्थात् चक्रव्यूहमा परिणत हुने निश्चित छ । मानव जीवनको अभिन्न अङ्ग बन्न सफल सामाजिक सञ्जालले कैयौँ मूल्य र मान्यता स्थापित पनि गरेको छ जस्तैः सूचना सम्प्रेषण गर्ने, सूचनामाथिको पहँुच, विविध ज्ञान आर्जन गर्ने, सीपको विकास, नाता सम्बन्ध जोड्ने, व्यापार प्रवद्र्धन, नवप्रवद्र्धन, ज्ञानमा आधारित समाजको निर्माण र गुणस्तरीय सेवा प्रवाह आदि । सामाजिक सञ्जालको प्रयोग गरेर विश्वले नयाँ नयाँ कुरा सिकेको छ र व्यवहारमा लागू पनि गरेको छ । 

विश्वमा अभिव्यक्ति स्वतन्त्रताको बलियो खम्बाको रूपमा स्थापित सामाजिक सञ्जालहरू जस्तै ः इष्टाग्राम, युट्युब, फेसबुक, ट्वीटर, टिकटक, पिन्टेष्ट, स्यापच्याट, लिङ्कइन आदि हुन् । मानिस र समुदायको बीचमा अन्तक्र्रियामार्फत विचार, रुचि, ज्ञान, मनोरञ्जन, जानकारी एकआपसमा आदानप्रदान गर्ने सशक्त माध्यम बनेको छ सामाजिक सञ्जाल । डेस्कटप कम्प्युटर, ल्यापटप, ट्याबलेट र मोबाइलबाट समेत चलाउन सकिने भएकोले यो सबै नागरिकसम्म पहुँच पु¥याउन सफल भएकोे छ । प्रविधिमा भएको विकासको बदलिँदो परिवेशसँगै इन्टरनेट मानवजातिको अत्यावश्यक वस्तुभित्र पर्न सफल भएको विश्वले स्वीकार गरिसकेको छ । हाल विश्वमा दुई किसिमको सभ्यता सुरुवात भएको छ, पहिलो भर्चुअल र दोस्रो भौतिक । आउँदो केही दशकभित्र संसारको जनसङ्ख्याभन्दा करिब तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखापर्ने आकलन गर्न सकिन्छ । अहिले सामाजिक सञ्जालका धेरै रूप छन् । जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, पोडकास्ट, तस्बिर भिडियो, चलचित्र आदि । सेवा प्रवाहअनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधि पनि उपलब्ध छन् । विकिपिडियाका अनुसार फेसबुक अहिले विश्वको सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जालमध्येको एक हो ।

बढ्दो दुरुपयोग

सामाजिक सञ्जाल चलाउँदा, खेल्दा अत्यन्त रमाइलो, मजाक हुने भए पनि यसले धेरैको घरबार चौपट बनाइदिएको छ । नाता सम्बन्धमा दरार ल्याएको छ । यसको गलत प्रभावमा परेर विद्यार्थीको पढाइ बिग्रनुको साथै मानव बेचबिखनको जोखिम बढेका समाचार आइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले ससाना धेरै नानीबाबुको नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास ल्याउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय बर्बाद गरिदिएको छ । समाजमा विभिन्न विकृति विसङ्गति सिर्जना गर्न, जाति धर्म, विचारका विरुद्ध आमसर्वसाधारण नागरिकबीच विभ्रम फैलाउन सामाजिक सञ्जालले मलजल गरेको छ । कतिपय मानिसका लागि पूर्वाग्रह साध्ने साझा चौतारी बनेको छ समाजिक सञ्जाल । सूचनामाथि जाजुसी गर्ने, समाज राष्ट्रमा भ्रम फैलाउने, गलफती गर्ने, नानाथरी कुरा काट्नका लागि चिया पसल बनेको छ, सामाजिक सञ्जाल । यसको गलत अभ्यासले कैयौँ देशका सरकार समय समयमा निकै विवादमा परेका पनि छन् र राज्यले ठूलो मूल्यसमेत चुकाउनु परेको छ ।

सामाजिक सञ्जालमार्फत आफूलाई रिस उठेको मान्छेको हुर्मत काड्ने, गालीगलौज गर्ने, लज्जास्पद र लाल्छनायुक्त शब्द प्रयोग गर्ने प्रवृत्ति बढेको छ । कसैसंँग रिसइबी साध्न, बदला लिन, जो कसैको फोटा बिगारी, अश्लील सामग्रीको भिडियो बनाई विभिन्न व्यक्ति, समूह र आफन्तजनलाई ट्याग गरी पठाइदिने अनि घर, परिवार, आफन्त, समाज र राष्ट्रमा घृणा फैलाउने, भ्रम सिर्जना गर्ने कार्य दिनहँु वृद्धि भइरहेको साइबर ब्युरोले गरेको अध्ययनले देखाएको छ । समाजिक सञ्जालमा छाउने हल्ला, झुठा समाचारले सत्य र तथ्यमा आधारित समाचार स्रोतलाई समेत ओझेलमा परिदिने गरी फैलिरहेका हुन्छन् । आममानिस नै ती समाचारलाई सत्य ठानेर सेयर, ट्याग र ट्वीट गरिरहेका हुन्छन् । कति मानिसले राम्रो मनसायले ती कार्य गरेको भए पनि त्यसको परिणाम अत्यन्त खराब र घातक साबित हुने गरेको तथ्यले देखाउँछ । हिजोआज विभिन्न बहाना बनाई नजिक हुने, घरपरिवार, व्यावसाय, सङ्गठन र राज्यको बारेमा सूचना प्राप्त गर्ने र पछि तीनै सूचनालाई दुरुपयोग गरी उनीहरूमाथि नै जाई लाग्ने गरेका घटनाहरू तमाम छन् हाम्रै समाजमा । केही मानिसले गलत नियत राखेर शब्द, तस्बिर, श्रव्य, दृश्य सामग्री तयार गरी व्यक्ति, परिवार, समाज र राष्ट्रकाविरुद्ध विभिन्न भ्रम, अफवाह फैलाउने गरिरहेका उदाहरणहरू प्रशस्त छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी कैयौँ स्थानमा चोरी, ठगी, अपहरण, बलात्कार, यौनदुराचार, मानव बेचबिखन, व्यक्तिगत वा सङ्गठनिक सूचनाको चुवावट र चोरी हुने गरेको छ । यसले आममानिसमा भ्रम, तिरस्कार, दोष, नौराश्यता, कुन्ठा, बैमनस्यता पैदा गरेको नेपाल प्रहरीको दाबी छ । पत्रकार किशोर नेपालका अनुसार, सामाजिक सञ्जालमा छाएका व्यक्ति एकै विचार समूहका हँुदैनन् । विविध विचार समूहका ती मानिस, जो सम्पन्न संसारमा रमाउन चाहन्छन्, आफ्ना असामाजिक विचारसहित रमाइरहेका हुन्छन् ।

सामाजिक सञ्जाल अहिले निकै असामाजिक विचार र सामग्रीले भरिँदै गएको पाइन्छ । यसमा प्रेषित कतिपय सामग्री, विचार झुठा, भ्रम फैलाउने, दङ्गाफसाद गराउने, अरूको चरित्रहत्या गर्ने, मानमर्दन गर्ने, पीडितमा अनेक खालका पीडा, डर, बेचैनी, डिप्रेसन पैदा गरिदिने, खालका हुने हुँदा अब यो असामाजिक सञ्जाल बन्न पुगेको हो कि भन्न सकिन्छ । यसको लतमा फसेपछि अन्त्यमा मृत्युको मुखसम्म पनि मानिसलाई पु¥याएको अन्तर्राष्ट्रिय एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल गफाडीका लागि गफ लगाउने साझा चौतारी भएको छ, अहिले । कतिपय मान्छे तीनै गफको पछि लागेर कमेन्ट, लाइक, सेयर, पोष्ट गर्न अरूलाई उत्पे्ररित गरिरेहका हुन्छन् । उनीहरू स्वयंलाई थाहा हुँदैन कि यसको परिणाम के हुन्छ र यस कार्यले कस्तो सजाय आकृष्ट गर्छ । यसको परिणाम कि त सजाय भोग्नेलाई थाहा छ कि त जागिर गुमाउनेलाई थाहा छ । अहिलेसम्म सयौँ जना सजायको भागीदार र कैयौँ जनाले नेपालमा समेत जागिरबाट हात धुनु परेका उदाहरण छन् ।

कानुनी अड्चन 

नेपालमा सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने कानुन प्रयाप्त छैन । कानुन निर्माणमा ढिला भएकै छ । कानुन समयमा नबन्दा अन्यायमा परेकाले न्याए पाउन सकिरहेका छैनन् । कानुनले मात्र सबै ठिक हुन्छ, त्यसो पनि सत्य होइन तर इन्टरनेट र सामाजिक सञ्जाललाई समेट्ने कानुनचाँहि देशलाई चाहिएको छ । सरकारले यसलाई चासो र चिन्ताका साथ लिन जरुरी छ ।

जनचेतनाको कमी

हामी सूचना प्रविधि र सामाजिक सञ्जाल प्रयोगका हिसाबले धेरै नै अपरिपक्व अवस्थामा छौँ । सबैका बुवाआमा, छोराछोरी, आफन्त, गुरु गुरुआमा, मान्यजन, अग्रज, भाइबहिनी र साथीसँगी प्रायः सबै सामाजिक सञ्जालमा रमाइरहेका हुन्छन् । समय यसै खेर गएको हुन्छ । के हेर्ने के नर्हेने, के लेख्ने के नलेख्ने, के सेयर गर्ने के नगर्ने, कस्तो सामग्री राख्ने कस्तो नराख्ने धेरैलाई ज्ञान अलि कम छ, त कतिलाई छैन नै । पाए जति, भेटाए जति सबै हेर्ने, प्रयोग गर्ने त्यसो गर्दा त्यो दुरुपयोग भइसकेको थाह नहुन पनि सक्छ । जब हाम्रा आमाबुवा, दाजुभाइ दिदीबहिनी, आफन्त, गुरुहरू मान्यजन, अङ्ग्रजहरूमा सामाजिक सञ्जाल सञ्चालन र प्रयोगको बारेमा चेतना, ज्ञान आउँछ तब मात्र हाम्रो घर, परिवार, समाज, विद्यालय, महाविद्यालय र विश्वविद्यालयका गुरुहरूले नियन्त्रणको प्रयास सुरु गर्नु हुनेछ । आफन्तजन, अग्रजले सल्लाह सुझाव दिनुहुनेछ जो अहिले उहाँलाई आवश्यक छ । अतः राज्यको ध्यान नियमन र नियन्त्रणभन्दा पहिले सामाजिक जागरणमा जान जरुरी छ । शिक्षक, प्रशिक्षक, समाजसेवी तयार गर्न आवश्यक छ । राज्यले गुरु योजना बनाएर लागू गर्न चाहेमा नसकिने कुरा पनि होइन । आमसञ्चार माध्यम र सामाजिक सञ्जाललाई नै सामाजिक जागरणको कार्यक्रममा उपयोग गर्न सकिन्छ । यसका लागि सरकारले डिजिटल साक्षरता कार्यक्रम तुरुन्त लागू गर्नुपर्छ ।

सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगको हिसाबले हामी पनि अन्य विकसित देशका नागरिकभन्दा कम छैनौँ तर सामाजिक सञ्जाल प्रयोगकर्ताको दैनिक गतिविधि नियाल्दा लाग्छ यसको सदुपयोगभन्दा दुरुपयोगमा बढी ध्यान गएको हो कि ? आफूले प्रयोग गरेका वा राख्ने गरेका सामग्रीको सकारात्मक र नकारात्मक पक्षको बारेमा ज्ञान अभाव भएको हो कि ? यो हाम्रो सामाजिक मूल्य मान्यताभित्र पर्छ कि पर्दैन, हाम्रो धर्म संस्कृतिभित्र पर्छ कि प्रदैन, हाम्रो कानुनले छुट दिएको छ कि छैन । त्यसतर्फ हेक्का नभएको हो कि ? कारण जे सुकै भए पनि आज कैयौँ सोझा नागरिक सामाजिक सञ्जाल सही तरिकाले सञ्चालन र उपयोग गर्न नजान्दा प्रहरीको फन्दा पर्न बाध्य भएको सत्य हो । राज्यले अनुसन्धान गर्दा अपराधी नछुटून् र सोझा जनता नफसून् भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, धान खाने मुसो, चोट खाने भ्यागुतोजस्तै हुनेछ । सूचना प्रविधिको प्रयोगको अधिकतम फाइदा उठाउँदै सामाजिक सञ्जालको उपयोग गर्दा सबै सचेत र सजग बनौँ । 

लेखक ई–गभर्नेन्स र सूचना प्रविधिविज्ञ हुनुहुन्छ ।    

Author

डा. शैलेन्द्र गिरी