• ९ मंसिर २०८१, आइतबार

नयाँ आयाममा फोटो पत्रकारिता

blog

कुनै राम्रो तस्बिर वा फोटो देख्नेबित्तिकै धेरैले आहा भनेर सकारात्मक प्रतिक्रिया दिन्छन् । राम्रो कुराले धेरैलाई आकर्षित गर्छ नै । त्यही भएर एउटा तस्बिरले हजार शब्दको वर्णन गर्न सक्छ भन्ने मान्यता राखिन्छ । खासमा फोटो जीवन, जगत् र संस्कृतिसँग जोडिएको विषय पनि हो । इतिहास बोल्ने विषय पनि हो । प्रत्यक्ष अनुभूति गराउने माध्यम पनि हो । खासमा फोटो मानवीय संवेदनाको अर्को पाटो पनि हो । ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी पनि हो । त्यसकारण फोटोप्रति आममानिसको चासो उत्तिकै हुने गरेको छ । परम्परागत तवरले खिचिँदै आएको तस्बिरमा आज ठूलो परिवर्तन आउनुका पछाडि पनि सोही कारणले काम गरेको छ । विज्ञान, प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम विकसित हुन थालेका छन् । 

सहज प्रविधिको प्रयोगले खिच्दा खिच्दै गरेको तस्बिर सम्बन्धित सञ्चारमाध्यममा पुग्ने र एकाध क्षणमा नै प्रकाशित हुने अवस्था सिर्जना गरिदिएको छ । यसले खास अर्थमा सहजता प्रदान गरिदिएको छ । जतिसुकै राम्रो सामाचार सामग्री बनाइए पनि त्यसमा तस्बिर छैन भने त्यसको सान्दर्भिकता नरहने अवस्था सिर्जना भएको छ । तस्बिर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्छ । पछिल्ला दिनमा विकसित अनलाइन सञ्चार माध्यममा त फोटो झनै अत्यावश्यक बनिसकेको छ । शब्दभन्दा तस्बिरको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छन् तर भावनालाई यथार्थतामा परिवर्तन गर्ने तागत भने तस्बिरले राख्छ । विज्ञान र प्रविधिको आविष्कारले पनि त्यसैलाई सम्मोहित गर्छ । 

सन् १९९० को दशकपछि डिजिटल प्रविधिको प्रयोग सुरु भयो । रिलमा खिचिने तस्बिर पछिल्लो दिनमा सहज रूपमा डिजिटल प्रविधिमा खिचिन थालेको छ । त्यसले आमपाठक, दर्शक तथा जानकारलाई समेत सहज र सरल बनाइदिएको छ । फोटो पत्रकारिताको ओज र गरिमा बढ्दै गएको छ । मानिसको चाहना पनि उत्तिकै बढ्दै गएको छ । यस क्षेत्रमा थप रोजगारी र अवसरको सिर्जना भएको छ । स्मार्ट फोनले हरेक घरमा फोटोग्राफर जन्माइदिएको छ । आमनागरिक पत्रकारिताको रूपमा आफूलाई मन लागेको तस्बिर खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दो छ । त्यसले फोटोप्रतिको अनुराग बढाइदिएको छ ।

सामाजिक सञ्जाल विशेषगरी फेसबुक, ट्वीटर, ह्वाट्एस इन्टा टिकटकजस्ता सञ्जालमा दिनप्रतिदिन फोटोको प्रयोग बढ्दै गएको छ । सहज रूपमा आममानिसलाई जानकारी दिन मात्रै भए पनि फोटोको प्रयोग गर्ने क्रम बढेर गएको पाइन्छ । व्यावसायिक रूपमा फोटो पत्रकारिता गर्नेलाई त नयाँ खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्को सौखको विषय बन्न सक्छ । विश्वभर त्यस्ता जमात बढ्दै गएको छ । फोटो आफैँमा हरेक इतिहासको साक्षी पनि हो । जङ्गबहादुर राणाले बेलायतबाट सौखको रूपमा पहिलो पटक नेपालमा क्यामरा भिœयाएका थिए । वि.सं २००७ को क्रान्तिको खोजी गर्नुपर्दा फोटो नै खोजिन्छ । त्यसपछि मात्रै राजनीतिक दस्ताबेज र अन्य राजनीतिक विषयका पाना पल्टाइन्छ । 

नेपालको इतिहास बोल्ने मात्रै नभई संसारभरकै इतिहासको खोजका लागि समेत फोटो महìवपूर्ण र आकर्षक विधा हो । राजनीतिक, सांस्कृतिक, खेलकुद, आर्थिक तथा सामाजिक विषयमा ज्ञान र चासो राख्ने सबैलाई फोटो नै तानिरहेको हुन्छ । राजनीतिक परिवर्तनको साक्षी पनि क्यामेरा र फोटो नै हो भन्ने कुरा नेपालको आफ्नै इतिहासले पुष्टि गरेको छ । वि.सं २०४६ को राजनीतिक परिवर्तन, २०५२ सालपछिको सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन, नेपालमा गणतन्त्रको घोषणा, संविधान सभाको निर्वाचन, संविधान सभाले संविधान निर्माण गरेको क्षण नै किन नहोस् सबैको एउटै साक्षीको रूपमा फोटो पत्रकारले मेहनतले खिचेको फोटो नै अग्रस्थानमा आउँछ । 

प्रविधिले ठूलो फड्को मारे पनि नेपालमा हालसम्म पनि फोटो पत्रकारिता पूर्ण रूपमा व्यावहारिक र वैज्ञानिक बन्न सकेको छैन । यसमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ । केही जानेर, बुझेर वा सिकेर आउनेभन्दा पनि गर्दै जाउँ, भइहाल्छ नि भन्ने मान्यताका साथ काम गर्ने प्रवृत्ति हाबी छ । विश्वविद्यालय तथा कलेजमा फोटो पत्रकारिताको अध्ययन अध्यापन न्यून रूपमा छ । यसमा सैद्धान्तिक ज्ञान मात्रै लिने, दिने काम गरिन्छ । व्यावहारिक ज्ञान लिनेतर्फ सीमित व्यक्तिले बाहेक कोही कसैले ध्यान दिन सकेको छैन ।

सिर्जनशीलतालाई केन्द्रमा राखेर फोटोपत्रकारिता गर्दा त्यसले दिने परिमाण पनि सकारात्मक र सिर्जनात्मक नै हुन जान्छ । आममानिसलाई पनि सिर्जनाशीलता प्रिय लाग्छ । त्यसकारण फोटो पत्रकारले इमानदार भएर पेसामा क्रियाशील हुनुपर्छ । इमानदार प्रयासले मात्रै सार्थक परिमाण दिन सकिन्छ । त्यसलाई ध्यान दिएर अगाडि बढ्दा मात्रै फोटो पत्रकारिताले प्रभाव र महìव राख्छ ।

नेपालको फोटो पत्रकारिताको इतिहासमा गोरखापत्रको नाम अग्रस्थानमा छ । विसं १९८४ वैशाख १३ गते वीरगञ्ज निवासी सूर्यमती श्रेष्ठले आफ्नो कपासको बगैँचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलो पटक गोरखापत्रमा छापिएको थियो । सोही दिनलाई मानेर राष्ट्रिय फोटो पत्रकार समूहद्वारा विगत २७ वर्षदेखि निरन्तर रूपमा फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गर्दै मनाउँदै आइरहेको छ । नेपालमा फोटो पत्रकारिताको सुरुवात गोपाल चित्रकारले गोरखापत्रबाट गर्नुभएको हो । 

फोटो पत्रकारहरूको सबैभन्दा ठूलो चुनौती भनेको नै आफ्नो सुरक्षाको सामना गर्नु हो । फोटो जोकोहीको पनि सजिलै खिच्न त सकिन्छ तर त्यो फोटो मिडियामा प्रकाशित भएर उसको व्यक्तित्वमा क्षति अपमानित भएमा फोटो पत्रकारलाई सजिलैसँग चिन्न सक्छन् र आक्रमण गर्नसक्ने हुन्छ । फोटो पत्रकारले प्रयोग गर्ने महँगो उपकरणमा क्षति पनि पु¥याउन सक्ने हुुन्छ । साथै कुनै पनि विरोध तथा द्वन्द्वको अवस्थामा फोटो पत्रकार फोटो खिच्नका लागि कार्यक्षेत्रमा नजिक जान आवश्यक हुन्छ उक्त बेलामा पनि धेरै जोखिम मोलेर फोटो पत्रकारिता गर्नुपर्ने हुन्छ । यस्ता घटनामा विश्वमा फोटो पत्रकारले सामान्य दुर्घटनालगायत ज्यानसम्म गुमाएका समाचार हामीले देखेका र भोगेका छौँ । 

हाल नेपाललगायत विश्वमा अनलाइन पत्रकारिताका कारण फोटो पत्रकारको मेहनत र क्षमता दुवैको प्रयोग भइरहेको छ । विभिन्न फरक फरक फोटो प्रयोग हुनुचाहिँ राम्रो पक्ष पनि हो । सामान्यतः पहिला पत्रपत्रिकामा दिनभरिको मेहनत गर्दा राम्रो फोटो खिचे पनि एउटा प्रिन्ट हुने गथ्र्यो भने अहिले अनलाइनले कला र क्षमताको चाहिँ कदर गरेका र अडियन्समा सजिलै फोटोहरू देखाउने अवसर प्रदान गरेको छ । सामान्य मानिसले मोबाइलमार्फत फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिनाले पनि व्यावसायिक फोटो पत्रकारितालाई चुनौती थपेको छ । हाल नेपालमा फोटोको बजारीकरणमा पनि ठूलो समस्या छ । लाखौँ खर्च गरेर कैद गरिएका फोटोहरूको उचित मूल्य नपाउँदा फोटो पत्रकारको मनोबल उच्च हुन सकेको छैन । 

आममानिसले क्षणिक लाभका लागि कुनै पनि फोटो वा भिडियोको गुणस्तर मापन नगरिकन प्रयोग गर्नाले पनि यस पेसालाई समस्या पारिरहेको छ । हाल नयाँ–नयाँ प्रविधिसँगै उपकरणको मूल्यवृद्धि भएका कारण पनि आवश्यक फोटो पत्रकारितामा समस्याहरू थपिएका छन् । फोटो पत्रकारले पनि आफ्नो ज्ञान, सीप र क्षमतालाई थप स्तरोन्नति गर्नु आवश्यक छ । 

लेखक राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष हुनुहुन्छ ।    

Author

प्रदीपराज वन्त