• २३ वैशाख २०८२, मङ्गलबार

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

blog

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी कुनै कानुन बनाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो।

नेपाल रिपब्लिक मिडियाको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर र आगामी दिनमा पनि नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको उच्च कदर सरकारले गर्ने उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको जानकारी दिनुभयो।

पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहनेहरू सल्बलाउन थालेकाले यसप्रति पनि सतर्क हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले सबैको दायित्व भएको बताउनुभयो। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकारिता र राजनीतिक क्षेत्रबीच भएको सहकार्यलाई लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ गर्न पनि निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएकाले अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिबद्ध बनाउन सञ्चार क्षेत्रको सधैँ रचनात्मक आलोचना आवश्यक रहेको स्पष्ट पार्नुभयो। 

सञ्चारमाध्यम सरकारको आँखा र कानसमेत भएको बताउनुहुँदै यसले गरिरहेको काममा कुनै कमजोरी भएमा सरकारले सच्याउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राज्यका विभिन्न निकाय एवं राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घचघच्याउँदै आएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले खासगरी माओवादी जनयुद्ध, जनआन्दोलन, त्यसअघि र पछिका सबैजसो आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानकै कारण परिवर्तन सम्भव भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रकै योगदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्यो भन्न मलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन। यो कुरा मैले भूमिगत जीवनबाट सार्वजनिक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा समेत व्यक्त गरेको थिएँ।”

उहाँले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको बताउँदै यस व्यवस्थामा जनताको आवाज सुनिने प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “त्यो पारदर्शिता र जनताप्रति जवाफदेही भएका कारण यसका गल्ती पनि खुल्छन्। ती गल्ती र कमीकमजोरीप्रति निर्मम बन्दै कमीकमजोरी सुधारेर अघि बढ्नु हाम्रो दायित्व हो।”