“प्रविधि अवश्य पनि दुईधारे तरबार हो । आगोले हाम्रो खाना पकाउन त सक्छ नै तर हामीलाई जलाउन पनि सक्छ,” जेसन सिल्भाको यो भनाइले धेरै कुरालाई इङ्गित गर्छ । खासगरी नेपाल जहाँ बाह्रैमास आगलागीजन्य घटना भइरहन्छन् । प्राविधिक अर्थमा घरायसी प्रयोजनका लागि प्रयोग हुने, घर–धनसम्पत्तिमा लाग्ने आगोलाई ‘आगलागी’ (अङ्ग्रेजीमा फायर) भनिन्छ भने वनजङ्गलमा लाग्ने आगोलाई ‘डढेलो’ (अङ्ग्रेजीमा फरेस्ट फायर वा वाइल्ड फायर) भनिन्छ ।
नेपालमा बाह्रैमास विभिन्न कारणबाट आगलागीका घटना भइरहन्छन् । चाहे त्यो झम्झम् झरी पर्ने वर्षायाम होस् या कठ्याङ्ग्रिने चिसोयाम । जेसन सिल्भाले भनेझैँ आगो एउटा यस्तो प्रविधि शक्ति हो; जसका कारण हाम्रो खाना पाक्छ, हाम्रो घर तातो हुन्छ, उज्यालो हुन्छ, धातुलाई आकारमा ल्याइन्छ, नयाँ शक्ति उत्पादन गर्न सकिन्छ आदि, आदि । यो यस्तो प्रविधि हो, यसलाई राम्रो काममा प्रयोग गरे फाइदा लिन सकिन्छ तर यसलाई प्रयोग गर्न जानिएन भने यसले हाम्रो ज्यानै लिन सक्छ ।
नेपालमा बाह्रैमास हुने आगलागी ग्यास पड्केर, खाना पकाउँदा आगो सल्केर, प्रज्वलनशील पदार्थमा आगोले टिपेर, चिसोमा आगो बाल्दा सल्केर, बिजुली सट भएर, लाइटर वा सलाई जथाभावी फालेर लगायतका विभिन्न कारणबाट हुने गर्छ । जसबाट बर्सेनि लाखौँ रुपियाँ बराबरको क्षति, नोक्सानी, मानिस एवं पशुपन्छीसमेतको ज्यान जाने र घाइते हुनेसम्मका घटना भइरहेको पाइन्छ ।
घरायसी आगलागीका घटना कतिसम्म डरलाग्दा हुन्छन् भन्ने कुरा भर्खरै बिदा भएर गएको वर्ष २०७९ मा ग्यास चुहिएर भएको आगलागीबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमाको मृत्यु र नेता भण्डारीलाई एयर एम्बुलेन्सबाट भारतको मुम्बई लगेर उपचार गराउनु परेको घटनाले प्रस्ट्याएको छ । मानवीय क्षतिका कारण आगलागी अति डरलाग्दो देखिन्छ तर त्योभन्दा अझै भयङ्कर र विनाशकारी वनजङ्गलमा लाग्ने डढेलो हुन्छ ।
डढेलोले करोडौँ रुपियाँबराबरको क्षति पु-याउँछ, लाखौँ हेक्टर वनजङ्गल खरानी बनाउँछ, दर्जनौँ गाउँबस्ती सखाप पार्छ र सयौँ वन्यजन्तुको एउटै चिहान बनाउने सामथ्र्य राख्छ । सबैभन्दा ठूलो कुरा त डढेलो सुरु भएपछि नियन्त्रणबाहिर गएर आकलन गरिएको भन्दा धेरै धन, जन, वन र वन्यजन्तुको क्षति पु-याउँछ । नेपाल सरकारको वन तथा वातावरण विभाग र दक्षिण एसियाली डढेलो सञ्जालका अनुसार जाडोयामसँगै सुरु हुने डढेलोका घटनाबाट चैत–वैशाखसम्म आइपुग्दा दैनिक सयौँ ठाउँमा सल्किएर वा फैलिएर सम्बन्धित क्षेत्रको वनविनाशसँगै वायु प्रदूषण बढाउँदै एयरपोर्टको भिजिबिलिटी कम गरेर उडानसम्म प्रभावित हुने गर्छ ।
गत चैत ३० गते विभागले विज्ञप्ति जारी गरेर बारा, पर्सा, चितवनलगायत देशभरका १४० स्थानमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशको मध्य र पूर्वी भागमा बढेको र त्यो बिहान–बेलुका झन् बढी भएको जनाएको थियो । विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको थियो ।
त्यस्तै वैशाख ३ गते बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमा समस्या उत्पन्न भएको थियो भने अन्तर्राष्ट्रिय उडान भिजिबिलिटी नपुग्दा धेरै समय होल्डमा परेका थिए । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको डढेलो तथ्याङ्क (मोडिस)अनुसार अङ्ग्रेजी नयाँ वर्ष २०२३ सुरु भएको दिनदेखि अप्रिल १७ (वैशाख ४ गते))सम्म देशभर एक हजार ५०६ वटा डढेलोका घटना भइसकेका छन् ।
डढेलोको ‘पिक सिजन’ भएकाले अबका दिनमा वर्षा नलागुञ्जेल दैनिक रूपमा डढेलोका घटना अझै बढेर जाने भएकाले सावधानी अपनाउन सम्बन्धित निकायले सूचना जारी गरिसकेका छन् । सञ्चारमाध्यममा दैनिक रूपमा डढेलोका समाचार आइरहेका छन् । तराई क्षेत्रबाट डढेलो बढेसँगै वनजङ्गलमा चराचुरुङ्गी देखिन छोडेको र हजारौँ हेक्टर वन विनाश भइरहेको रिपोर्ट आइरहेका छन् भने पहाडी क्षेत्रमा जङ्गलमा लागेको डढेलो नियन्त्रणबाहिर जाँदा बस्ती, सञ्चारमाध्यम र टेलिकमका टावर जोखिममा परेका समाचार सञ्चार माध्यममा आइसकेका छन् । डाँडामा रहेका मठमन्दिर र पर्यटकीय संरचनालाई समेत डढेलोले प्रभावमा पारेको छ ।
डिभिजन वन कार्यालयका अनुसार कतिपय जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाइदिँदा पछि हावा चल्ने र सुक्खायाममा पातपतिङ्गर सुकेकाले डढेलो छिट्टै फैलिएर बेकाबु हुन पुग्छ । यसरी बर्सेनि सयौँको सङ्ख्यामा अनियन्त्रित भएर धेरै वनजङ्गल र वन्जजन्तुसँगै मानवीय धनजनमा समेत क्षति पु¥याउने डढेलो नियन्त्रण गर्न विभिन्न उपाय सुझाइए पनि नेपालमा डढेलोका घटना घट्नुको सट्टा झन्–झन् बढेर गइरहेका छन् । भनिन्छ, नेपालमा विश्वका अन्य घना जङ्गल भएका देशमा जस्तो रुख–रुख ठोकिएर डढेलो सल्किँदैन तर पनि डढेलोका घटना हरेक सुक्खायाममा बढेको बढ्यै छन् ।
यसका पछाडि मानवीय कारण प्रमुख रहेको जानकारहरू बताउँछन् । पानी नपरेर पातपतिङ्गर सुकेर सानो आगो पनि क्षणभरमै ह्वार्र फैलिने गरी यतिबेलाको जङ्गल दिन प्रतिदिन सुक्दै प्रज्वलनशील पदार्थजतिकै आगो टिप्ने भइसकेको हुन्छ । कतिपय विशेषज्ञले सुक्खायाममा धेरै सुक्खा हुनु र पानी नपर्नेजस्ता मौसमी घटना प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोडिएकाले डढेलो बढ्नुमा जलवायु परिवर्तनलाई कारक तìव माने पनि नेपालमा असावधानी र जानचेनताको कमी नै डढेलेको मुख्य कारण मानिने प्रसस्त आधार छन् ।
सुक्खायाममा यसै पनि जताततै जङ्गल पानी नपर्दासम्म दिन प्रतिदिन प्रज्वलनशील पदार्थजस्तै बन्दै गइरहेको हुन्छ । त्यसमाथि स्थानीयस्तरमा जङ्गलमा डढेलो लगाए नयाँ मुना राम्ररी पलाउँछ भन्ने मनोविज्ञान व्याप्त छ । जसका कारण सरकारद्वारा संरक्षित राष्ट्रिय निकुञ्जहरू, आरक्षण केन्द्र र सिकार आरक्षबाहेक जति पनि वन छ, सबै क्षेत्रमा नयाँ पालुवा पलाउने विश्वासमा जानेबुझेका मानिसले जानीजानी आगो लगाउँछन् ।
सुक्खायाममा सुकेको पात–पतिङ्गरमा तेज हावासँगै आगो ह्वारह्वार्ती वनभरी फैलिन्छ । त्यसको चपेटामा बस्ती पर्दा मात्रै मानवीय क्षतिको तथ्याङ्क आउँछ तर त्यही डढेलोमा परी नास भएको वन र डढेर मरेका वा आफ्नो वासस्थानबाट लखेटिएर भाग्दै जाँदा मारिएका र चोरी सिकारीमा परेका वन्यजन्तुको कुनै हिसाबकिताब देखिँदैन ।
जानीजानी लगाइने आगलागी अनियन्त्रित हुनु अति सामान्य मानिँदै गर्दा यसबारे सचेतना फैलाउने काममा सरकारले ध्यान पु¥याउनु जरुरी छ । राष्ट्रिय निकुञ्ज र सरकार नियन्त्रित तराईका वन क्षेत्रमा सरकारले गर्ने ‘कन्ट्रोल फायर बर्निङ’ राम्रो प्रयास भए पनि भिरालो भू–अवस्थितिका कारण पहाडी भू–भागमा सम्भव छैन । सुकेका पातपतिङ्गर नष्ट गर्न वरिपरि अग्नि रेखा बनाएर तराई र समथर क्षेत्रमा गरिने यस्तो नियन्त्रित आगलागी पहाडमा गर्न थाले हावाको लप्काले उडाएर आगो नियन्त्रण रेखाभन्दा धेरै पर–परसम्म पु-याउने हुँदा यसको प्रभावकारिताको सट्टा उल्टै डढेलो सल्किने कारण थपिने खतरा रहन्छ ।
जानीजानी जङ्गलमा डढेलो लगाउने कारणभन्दा पछि चुरोटको ठुटो ननिभाई फ्याँक्ने, सलाईको काँटी ननिभ्दै फ्याँक्ने लगायतका हेलचेक्र्याइँका कारण पनि स–साना कुरामा ध्यान नदिँदा सुक्खायाममा वनमा डढेलो सहजै सल्किन्छ । बाँकी कारण थाहा नभई वनमा डढेलो सल्किएका घटना निकै कम मात्रै हुने गरेको पाइन्छ ।
डढेलोका जानकार सुन्दर शर्माका अनुसार जानीजानी कारण जस्तै नयाँ घाँसको मुना पलाओस् भनेर आगो लगाउने र लापरबाहीजस्ता नियतबसका मानवीय कारणबाट नेपालमा ६४ प्रतिशत डढेलोका घटना हुन्छन् । त्यस्तै ३२ प्रतिशत आकस्मिक वा लापरबाहीले र ४ प्रतिशत अज्ञात कारणले लगाइने गरेको पाइन्छ । वन तथा भूसंरक्षण विभागका अनुसार सन् २००५ देखि २०२० सम्म आगलागीका कारण १५ लाख २८ हजार ८२९ हेक्टर वन क्षेत्र जलेको थियो ।
मानवीय, नियतबस र जानीजानी जस्ता कारणबाट बर्सेनि फैलिँदै गएका डढेलोका घटनालाई कम र नियन्त्रण गर्न चेतना विस्तार नगरी हुन्न । सरकारले यसको पहल गरिरहेको भए पनि परिणाम देखिसकिएको छैन । सुक्खायाम, गर्मी बढिरहेको र तत्कालै वर्षा भइहाल्ने छाँटकाँट नदेखिकाले दिनदिनै डढेलोका लागि झन्झन् अनुकूल वातावरण भइरहेको अवस्थामा लागिसकेको डढेलो नियन्त्रणका साथै डढेलो लाग्दै नदिने गरी जनचेतना विस्तारदेखि हरसम्भव प्रयास गरिनुपर्छ ।
जानीजानी आगो लगाएर वन क्षेत्रमा क्षति पु-याउने गतिविधि भए त्यसलाई वन ऐन, २०७६ अनुसार कानुनी कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा भएका प्रभावकारी र सफल अभ्यास पछ्याउँदै हरेक नागरिकलाई वन र वन्यजन्तु संरक्षणको महत्व बुझाउन सरकारले ढिला गर्नु हुन्न । नत्र बाढीपहिरो रोकथाममा नलागी बाढीपहिरो आइसकेपछि उद्धार गर्न खटिने कार्यजस्तै डढेलोले जङ्गल सखाप पारेर नियन्त्रणबाहिर गइसकेपछि हारगुहार गर्नु मृत्युपछिको औषधि–उपचार मात्रै हुनेछ ।
लेखक वन र वातावरण क्षेत्रमा क्रियाशील पत्रकार हुनुहुन्छ ।