• ९ मंसिर २०८१, आइतबार

अस्तित्वको खोजी

blog

उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः ।

न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।।


यसको अर्थ हो– मेहनतले मात्रै कार्य सिद्धि हुन्छ, इच्छाले मात्र पुग्दैन । सिंह वनको राजा हो तर सुतेको सिंहको मुखमा मृग आफैँ आएर उसको भोजन बन्न सक्दैन, आफ्नो भोजनको व्यवस्थाका निम्ति सिंहले परिश्रम पनि गर्नुपर्छ ।  

आजको मानिस यति रफ्तारमा दौडिरहेको हुन्छ कि भौतिक विकास होस् या विज्ञानको नयाँ आविष्कार; जुन विकास कहाँ गएर टुङ्गिने हो भन्ने आँकडासम्म निकाल्न सकिन्न । उसले आफू हुनुको महत्व अवश्य भौतिक सफलता र सम्पन्नता नै ठान्दछ । राजनीतिक होस् या प्रशासनिक, साहित्यिक होस् या सामाजिक; जे पनि अस्तित्वले आफूलाई स्थापित गर्न चाहना गर्छ, त्यसकै लागि मेहनत गरिरहेको हुन्छ । एकपछि अर्को मानिसले के–के आविष्कार गरिसक्यो र पनि थाकेको छैन । संसारको यो गतिशील विकास र प्रगति रोकिनेवाला पनि छैन । अनि उसलाई आफ्नो परिचय र प्रतिष्ठा बनाउने मन हुन्छ– धनी, सम्पन्न, विद्वान् र सुखी व्यक्ति । उसलाई यतिञ्जेल थाहा हुँदैन, सुख र सम्पन्नता सृष्टिमा हुन्छ या त्यसलाई हेर्ने दृष्टि आवश्यक हुन्छ ? 

मानिस शारीरिक आवश्यकतासँगै जन्मिन्छ । त्यसैले तिनै आवश्यकता पूरा गर्न लागिपर्ने म एक परिश्रमी व्यक्ति हुँ भन्ने भ्रम पनि धेरैलाई हुनसक्छ । यसकै क्रममा भड्किँदै गर्दा तृष्णा र अपेक्षा कहिल्यै छुट्ने रहेनछन् भन्ने अनुमान नै गर्न नसक्ने गरी समय धेरै अगाडि बढिसकेको हुन्छ । पछाडि के के कुरा छुटे, अब त्यो समय र ती कुरा फर्केर आउँदैनन् । त्यसो हो भने अब आउने समयलाई महìवपूर्ण कसरी बनाउने ? जीवनमा थाहा नपाई नहुने कुरा कसरी थाहा पाउने ? त्यतातिर संयम बन्नैपर्ने हुन्छ ।

संसारको परिचय 

यसो हेर्दा त वर्तमानमा जे छौँ, त्यही हाम्रो परिचय हो । जति आफ्नाबारे कथा बन्छन् त्यति जीवनलाई नजिक र शाश्वत तरिकाबाट बुझ्न सकिँदैन । जीवनलाई, हरेक पल र हरेक कर्मलाई सिनेमामा झैँ हेर्न सके त्यहाँ आफ्नो जीवन जीवन्त पाउन सकिन्छ कि ? नत्र त यो संसारकै परिचय र सम्पन्नतामा पनि कहिले आफूलाई खुसी र सुखी व्यक्तिजस्तो लाग्छ त कहिले दुःखी । कहिले सफल भएझैँ लाग्छ त कहिले असफल । 

त्यस्तै कहिले प्रेम र सम्मान पाएको महसुस हुन्छ त कहिले घृणा महसुस हुन्छ । कहिले आफूमा जिम्मेवारी थपिएको बोध हुन्छ त कहिले अरूले आफूलाई केही गरिदिएनन्जस्तो लाग्छ । कहिले संसारको यो परिचय र जीवनशैलीप्रति सबैलाई धन्यवाद व्यक्त गरौँजस्तो लाग्छ त कहिले सबैप्रति गुनासो भाव प्रकट हुन्छ । त्यसो हो भने यी सब कुरालाई साक्षी भएर हेर्दै शाश्वत र सत्यता के हो अन्तर्तहमा खोज्नुपर्छ कि ? 

बाहिरको कर्तव्य र दायित्व निर्वाह गर्ने व्यक्ति हुँ म, प्रवाहमान गतिमा बगिरहेको नदीजस्तै जीवनको अनन्त यात्रामा हिँड्ने यात्रु हुँ म, स–साना उद्देश्यमा रोकिएर गहन ज्ञानबाट वञ्चित भएको त छैन ? कुनै धर्मको गुरु, सिद्धान्त, वाद, सम्प्रदायको नेतृत्व हुँ म या यी सबै सम्प्रदाय र आस्थाबाट माथि उठेर मात्र जीवनको उद्देश्यलाई साक्षात्कार गर्ने व्यक्ति हुँ म ।

एक्लै हुँदा ‘म’को रहस्य थाहा लाग्छ त । ‘म’को परिचय अर्थात् रहस्य खुल्छ त ? एकान्तमा रहनु र एक्लै हुनु एकै अवस्था हो या फरक छ ? सुन्दा उस्तै लाग्छ तर एक्लै हुनु र एकान्तमा रहनु भिन्न अवस्था हुन् । मसँग मबाहेक कोही छैन । बाहिरी जगत् र आन्तरिक जगत् दुवैलाई छोडेर केवल आत्मासँग मजा लिनु एकान्तपनमा रहनु हो । बाहिर सम्बन्धको जगत् छ, बाहिरी कर्म, संवाद सबै गतिविधि बाहिरी जगत्का गतिविधि हुन् । यसको प्रभाव हाम्रो आन्तरिक जगत्मा पनि पर्छ किनकि कसैले गाली दियो या प्रशंसा दियो भने प्रेम या क्रोध दुवै भित्रबाट उठ्छ । 

सुन्दर बगैँचा, सुन्दर दृश्य, सुन्दर कार्य, सुन्दर व्यक्तिको सत्सङ्ग, अरे वाह ! को भाव, प्रफुल्लता अन्तरजगत्मा आउने महसुस हुन् । एउटा यस्तो अवस्था आउँछ, जहाँ बाहिरी जगत् छुट्छ, भित्री जगत् छुट्छ र केवल अन्तर आकाश बाँकी रहन्छ । त्यही निराकार, अन्तर आकाश हाम्रो आत्मा हो । यही अन्तर आकाशमा स्थित भएर, सुमिरनमा जिउनुको अवस्था एकान्तपन हो । त्यसैले एकान्तपनमा रहनु र एक्लै हुनु फरक अवस्था हुन् । 

एक्लै हुँदा हामी संसारसँग छुटेकोजस्तो महसुस गर्दछौँ । जब कि एकान्तमा रहँदा हामीलाई संसारको ख्याल हुँदैन । संसार पनि छुट्छ एकान्तपनमा । एक्लै हुनु संसारसँगको अलगाव अवस्था हो भने एकान्त आत्मासँगको मिलन हो । एक्लो हुनु भनेको आफ्नासँग बिछोडिएको जस्तो महसुस हुनु हो भने एकान्त स्वयंसँग भेटिएको अवस्था हो । एक्लै छु भन्ने लाग्दा पीडादायक महसुस हुनसक्छ तर एकान्तमा आनन्द मिल्छ । एक्लै हुनु हाम्रो बाध्यता हुन सक्छ तर एकान्त हाम्रो चुनाव हो, हाम्रो रोजाइ हो ।

एक विशुद्ध बोधो हमः

राजा जनकलाई बार–बार आफैँमा एउटा प्रश्न जाग्थ्यो– म को हुँ ? धेरै सन्तबाट उहाँले यो प्रश्नको जवाफ खोज्नुभयो तर कसैबाट चित्तबुझ्दो जवाफ पाउनु भएन । राज्य सञ्चालन गर्दागर्दै पनि उहाँलाई ‘म को हुँ’ को जवाफ कहाँबाट कसरी पाइएला, मैले मलाई नजानिकन जीवन समाप्त हुने होला कि भन्ने कुरामा चिन्तन गरिरहनुहुन्थ्यो । आफ्नोबारेमा धेरै जिज्ञासु हुनुहुन्थ्यो ।  

यसकै लागि एक पटक राजा जनकले दरबारमा शास्त्रार्थ गर्न भनेर विद्वान्हरूको भेला आयोजना गर्नुभयो । संवादमा धेरै पण्डितले उहाँको जवाफ दिन सकेनन् हार माने, कतिले बीचमै सभा छोडेर निस्के । अस्टाबक्र जो आठ वर्षको बालक हुनुहुन्थ्यो र उहाँको शरीर आठ ठाउँमा बाङ्गिएको थियो, त्यसैले उहाँको नाम अस्टाबक्र रहेको हो । उहाँका पिताले शास्त्रार्थमा हारेको खबर फैलिएको सुन्नुभयो र उहाँ दौडँदै राजाको दरबारको ढोकामा पुग्नुभयो र ढोका खोलेर भित्र पस्न खोज्नुभयो ।

यताउति सबैको अनुहारमा हेरेर उहाँ सभा हलभित्र छिर्नुभयो, आठ ठाउँमा कुप्रिएको अपाङ्ग, कुरूप बालक भित्र पसेको देखेपछि सबै हाँस्न थाले । एकछिनसम्म हाँसो चल्यो र सबै चुप भए । सबै चुप भएपछि अस्टाबक्र झन् बेस्सरी हाँस्न थाल्नुभयो । राजा जनक आश्चर्यमा पर्नुभयो र भन्नुभयो– तिमी चाहिँ किन हाँसेको ? चमारहरूको समूहमा सत्यको खोजी र बहस भइरहेको रहेछ त्यसैले हाँसेको अस्टाबक्रले जवाफ दिनुभयो । 

चमार ? हामी पण्डितलाई छालाको व्यापार गर्ने चमार भनेर सम्बोधन गर्ने ? यसलाई हदैसम्मको कारबाही हुनुपर्छ भनेर पण्डितहरू उफ्रिन थाले ।

राजा जनकले अस्टाबक्रलाई सोध्नुभयो– कुन आधारमा तिमीले यी पण्डित विद्वान्लाई चमार भनेको त ? अस्टाबक्रले भन्नुभयो– महाराज मैले जातको कुरा गरेको छैन, यिनीहरूको ज्ञान र चेतना स्तरको कुरा गरेको हुँ । यिनीहरू जातले उच्च भएर के गर्नु, चेतना स्तर निम्न रहेछ । हेर्नुस् न, यिनीहरूले मेरो छालाको शरीर देखेर मूल्याङ्कन गरेका छन् । मेरो छालासँग आफूलाई तुलना गरेका छन् । मभित्रको चेतना स्तर यिनीहरूलाई के थाहा ? महाराज यिनीहरूलाई त थाहा भएन तर हजुरलाई समेत थाहा नभएको देखेर मलाई दुःख लाग्यो । 

राजा जनकले अस्टाबक्रको यो कुरालाई हृदयतः मनन गर्नुभयो । यही कुरा अस्टाबक्र राजा जनकलाई सम्झाउनु हुन्छ– हे जनक ! तिमी यही चैतन्य, शान्त, आन्नद हौ । शरीर, बुद्धि, मन होइनौ । ‘एक विशुद्ध बोधो हमः’– तिमी केवल विशुद्ध बोध हौ । निराकार चेतन हौ तिमी । आँखा, कान, नाक सबै अङ्ग जसको तिमी सहायता लिन्छौ, ती तिम्रा इन्द्रिय हुन्, तिनको माध्यमले देख्ने र सुन्ने, जान्ने चेतनाले हो । जिब्रोद्वारा लिएको स्वाद पनि चेतन शक्तिले नै थाहा पाउँछ । सबै सन्तले बोध गर्ने निराकार, अविनाशी चेतना यही नै हो । हृदयका भाव, मनका तरङ्ग परिवर्तित भइरहन्छन् तर अन्तराकाश, निराकार सदा अमर छ ।

लेखक अधिकारकर्मी हुनुहुन्छ । 

   

Author

डा. नम्रता पाण्डे