• १३ साउन २०८१, आइतबार

हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु

blog

शुक्रबारबाट हेटौँडामा सुरुभएको हेटौँडा साहित्य महोत्सवको उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा । तस्विरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, वैशाख ८ गते । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौँडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ । 

महोत्सवमा कला र साहित्यसँगै हेटौँडाका विविध पक्षमा बहस एवं छलफल हुने सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो । साहित्यका विभिन्न पक्ष, हेटौँडाको विकासको बहस, कविता, गजल, मुक्तक वाचन, चित्रकला प्रदर्शनी, आदिवासी जनजातिका कथालगायत महोत्सवको छलफलको विषय रहेको उहाँले बताउनुभयो ।

यस्तै, महोत्सव अवधिमा नै मुक्तक महक, ३३० औँ साहित्य सन्ध्या, स्रष्टा सम्मान तथा कृति विमोचन गरिने बताइएको छ । महोत्सवको शुक्रबार हेटौँडामा उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले साहित्य र कलाको विकासबिना समाज विकासले पूर्णता नपाउने बताउनुभयो । 

पहिचानलाई स्थापित गर्न साहित्य, कला र संस्कृतिको क्षेत्रको संरक्षण विकास आवश्यक रहेको उहाँले बताउनुभयो । सङ्गमले महोत्सवका अवसरमा साहित्यकार एवं गीतकार शम्भु बास्कोटासहित एघार जना स्रष्टालाई सम्मान गर्ने जनाएको छ ।