प्रशासनिक संयन्त्र सरकार र जनताबीच उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने एउटा अति नै महìवपूर्ण सरोकारवाला हो । सरकारले जनताप्रति प्रवाह गर्नुपर्ने सेवासुविधा आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्ने गर्छ । यसैले प्रशासनिक संयन्त्रलाई सार्वजनिक प्रशासन पनि भन्ने गरिन्छ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जनआकाङ्क्षालाई नीति निर्माणका लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकारसमक्ष पु¥याइदिने संवाहकको रूपमा सार्वजनिक प्रशासनको भूमिका महìवपूर्ण रहने गर्छ । विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जनआकाङ्क्षाको तह पनि उच्च रूपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति सार्वजनिक मामिलाको व्यवस्थापनमा अनिवार्य सर्त हो । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन् । यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ । यी विशेषताको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्छ, जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्छ । राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न जति सरकारी कर्मचारीको सकारात्मक भूमिका महìवपूर्ण हुन्छ त्यति नै मात्रामा अन्य सरोकारवाला पनि सहयोगी र सकारात्मक हुनु आवश्यक हुन्छ अनि मात्र सार्वजनिक मामिलाका सरोकारवालाको अन्तरसम्बन्ध थप व्यवस्थित हुन पुग्छ ।
सार्वजनिक मामिलाको व्यवस्थापनमा संलग्न सरोकारवालाको अन्तरसम्बन्धलाई नीति, कानुन, निर्देशिका र विभिन्न प्रक्रियाले निर्देश गरिरहेका हुन्छन् । कागजी दस्ताबेजका विविध प्रावधानले कार्य प्रक्रियाको शृङ्खलालाई विधिसम्मत गराउन अवश्य पनि सहयोग पुग्छ तथापि सरोकारवालाको व्यक्तिगत रूपमा हुने सकारात्मक भावना, सकारात्मक प्रवृत्ति र सहयोगी चरित्रले वैधानिक प्रक्रियाको अवलम्बनमा थप सहजता प्रदान गर्छ । सार्वजनिक प्रशासनका कर्ता (कर्मचारी) सरकारको अङ्ग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रूपमा समेत स्थापित हुनुपर्ने कारणले यो अङ्ग बढी सक्षम र प्रभावकारी हुनुपर्छ । उनीहरूको सक्षमता र प्रभावकारिता भनेको पेसागत दक्षतासहितको व्यावसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तरवैयक्तिक र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारितको अवलम्बनजस्ता कसीमा उत्तम साबित हुनु हो । यस्ता सबल पक्षको प्रभावकारिता उसले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ ।
व्यक्ति विशेषमा आन्तरिक रूपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले सकारात्मक स्वस्थितिको विकास र उन्नतिको साथसाथै आफ्नो समाज, राष्ट्र हुँदै समग्र विश्व कल्याणमा योगदान पु-याउने चाहना पनि यसै विषयका अन्तरवस्तुअन्तर्गत पर्छन् । सकारात्मकताको प्रवेशताको प्रवद्र्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापनबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुताजस्ता पक्षको आन्तरिक सबलीकरणमार्फत चारित्रिक विकासबाट पनि थप मलजल गर्न सकिन्छ । सार्वजनिक प्रशासनको सक्षमता अभिवृद्धि पनि यी दुई आयामको परिधिभन्दा बाहिर जान सक्दैन ।
कर्मचारी वा सार्वजनिक प्रशासक परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हो यसभन्दा अघि ऊ एउटा व्यक्ति पनि हो । एउटा व्यक्तिको हैसियतले ऊभित्र सकारात्मकता र नकारात्मकताका कैयन गुण र दुर्गुण हुन सक्छन् तर जब ऊ व्यक्तिबाट कर्मचारी र सार्वजनिक प्रशासनको एउटा संयन्त्र बन्न पुग्छ तब ऊ व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाँधिन पुग्नु पर्छ । यसपछि उसमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वाभाविक रूपमा रहन सक्ने नकारात्मकताको उपस्थितिलाई ग्राह्य मानिँदैन, जब कि एउटा व्यक्तिमा थोरै नै मात्रामा भए पनि नकारात्मकताको अवशेष कुनै न कुनै रूपमा रहन्छ । यस्ता नकारात्मकताका अवशेषलाई सकारात्मकताका गुणले छोपिदिनु वा दृश्य रूपमा प्रकट हुन नदिनु नै सकारात्मकता र नकारात्मकताको बीचको सन्तुलन हो । यसर्थ सार्वजनिक प्रशासनका कर्ताहरूमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य सर्त बन्न पुगेको हो । चारित्रिक विकासबाट मात्र सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रत्याभूति हुन सक्छ ।
कर्मचारी एउटा सेवाप्रदायक, एउटा रणनीतिकर्ता, नीति निर्माता, सहमतिकर्ता, द्वन्द्व निवारक, सम्झौताकर्ता, मध्यस्थकर्ता, समाज परिवर्तनको एउटा संवाहकको बहुपहिचान र बहुभूमिकामा उभिनु पर्छ । यसका लागि ऊ आफैँप्रति, परिवारप्रति र समाजप्रति उति नै अनुशासित, जिम्मेवार, निष्ठावान र चरित्रवान हुनु आवश्यक हुन्छ । यसका लागि मानवता, प्रकृति र समाजका लागि आवश्यकीय र स्वीकार्य मूल्य तथा मान्यता ती मान्यताको आन्तरिक र बाह्य प्रवद्र्धनका आधार र त्यसको प्रयोगप्रतिको तत्परताको आवश्यकता हुन्छ । नैतिकताको सन्दर्भ पनि यिनै आयाममै जोडिएर आउनुपर्छ । मूल्य मान्यताको अवलम्बनको सैद्धान्तिक धरातलमा नैतिकतासहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिस्कृत र पूर्ण व्यक्तिमा दिगो रूपमा रूपान्तरण गर्नमा सहयोग पु¥याउँछ । यसै आधारको अवलम्बनले सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्छ । स्वीकार्य मूल्य मान्यता तथा नैतिकताको प्रवद्र्धन गर्ने गराउने परिपाटीको अभावले आजको सार्वजनिक प्रशासन एकाध अपवाद बाहेक सार्वजनिक बन्न नसकी सदाचारमा कमजोर, बोझयुक्त, अविवेकी, मर्यादाहीन, अनुशासनहीन, नातावादजस्ता नकारात्मक विशेषणबाट आभूषित हुन पुगेको हो । यसैले पनि मूल्यमान्यता र नैतिकताको प्रवद्र्धन सार्वजनिक प्रशासनको चरित्रमा प्रतिविम्बित हुनु पर्ने लागि अपरिहार्य तत्व हो ।
चारित्रिक विकासको विषय मानव सभ्यताको थालनीदेखि नै सुरु भएको अति प्राचीन तर हर कालमा सान्दर्भिक, सामयिक र अपरिहार्य बन्दै गएको विषय हो । सरलता, इमानदारिता, अहिंसा, विनम्रता, स्वच्छता, सकारात्मक विशेषता र मूल्यहरूको अवलम्बन चारित्रिक विकासका अति आवश्यकीय पक्ष हुन् । आत्मसम्मानको व्यवस्थापन, आवेगको उचित व्यवस्थापन र विज्ञताको विवेकपूर्ण प्रयोग, विश्वसनीयता, नैतिक पक्षमा बलियो धरातलयुक्त, सुसंस्कार प्रतिको आन्तरिक र व्यावहारिक प्रतिबद्धता असल चरित्रका सबल तथा आवश्यकीय पक्ष हुन् ।
चरित्रको व्यवहारमा प्रयोग ल्याउन सक्नु असल चरित्रको उदाहरण हो । चरित्रको विकास समय र परिस्थितिको क्रमिक परिवर्तन सँगसँगै नैतिकताको नियमित अवलम्बन र गलत व्यवहारमाथिको विजयबाट हुँदै जान्छ । हाम्रा दैनन्दिनीका परिवेश अनुमानयोग्य हुँदैनन् । जसले धेरै अनिश्चितता निम्त्याउने गर्दछन् । यसै अनिश्चितताका बीच र विविधताका बीच सकारात्मक रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु नै असल चरित्रको विशेषता हो । मानिस सामाजिक प्राणी भएकोले समाजका धेरै अन्तर सम्बन्धित पक्षसँग मानिसको नियमित सम्पर्क, सम्बन्ध र अन्तक्र्रिया एउटा आवश्यकीय सर्त हो । सम्बन्धको असल व्यवस्थापन चारित्रिक विकासको अर्को मापनयोग्य कसी हो ।
आत्मसंयम चरित्र निर्माणको अर्को एउटा महत्वपूर्ण पाटो हो । आत्मसंयमित व्यक्तिले शान्ति, बुद्धिमता र गरिमायुक्त तवरबाट स्थितिलाई विश्लेषण गरेको हुन्छ र आउन सक्ने सम्भावित नकारात्मक व्यवस्थालाई सहन सक्ने शक्ति विकास गरेको हुन्छ । यसै गुणको कारणले असल चरित्रयुक्त व्यक्ति शान्तचित्त, मैत्रीपूर्ण व्यवहारयुक्त र निष्कपट हुने गर्छ । चरित्रयुक्त व्यक्ति भौतिकवादी परिवेश भित्र रहेर पनि आफूभित्र आध्यात्मिक शक्तिको प्रवद्र्धन गर्दै सरलता, सौम्यता परोपरकारिता, सहयोगीपनजस्ता गुण विकास गर्न सफल भएका हुन्छ नजानिँदो रूपमा आध्यात्मिक सिद्धान्तयुक्त व्यक्तिको जीवनशैलीको आधार बनेको हुन्छ । आफ्नो कमीकमजोरीको जिम्मेवार दोस्रो व्यक्ति वा नकारात्मक स्थितिलाई नदिएर त्यसलाई समाधान गर्नेतर्फ प्रयत्नशील रहन्छ ।
पवित्रता असल चरित्रयुक्त व्यक्तिको अर्को महत्वपूर्ण गुण हो । यस्ता व्यक्तिमा शारीरिक र मानसिक शुद्धता र पवित्रता कायम रहेको हुन्छ । सादा जीवन उच्च विचार, वैचारिक शुद्धता र स्पष्टता, पूर्वाग्रहरहित विचार, आफ्नो अधिकारको प्रयोग गर्दा दोस्रो व्यक्तिको अधिकारको हनन नहुने गरी प्रयोग गर्नेजस्ता गुण विद्यमान रहेका हुन्छन् ।
सरकारले जनताप्रति प्रवाह गर्नुपर्ने सेवासुविधा आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्नेे गर्छ । आमजनसमुदाय र सरकारको बीचमा प्रत्यक्ष सम्बन्ध सेतुको रूपमा रहेको प्रशासनिक संयन्त्रले जनआकाङ्क्षालाई नीति निर्माणका लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पु¥याइदिने संवाहकको रूपमा सार्वजनिक प्रशासनको भूमिका अति नै महìवपूर्ण रूपमा निर्वाह गर्नुपर्छ । विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जनआकाङ्क्षाको तह पनि उच्च रूपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति अनिवार्य सर्त हुन आउँछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन् । यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ । यी विशेषताको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्छ, जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्छ ।
लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।