• १३ असोज २०८१, आइतबार

कृषिमा आधारित उद्योगलाई परिणाममुखी बनाउन कार्यक्रम

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ५ गते । कोशी प्रदेशमा कृषिमा आधारित उद्योगलाई उच्च परिणाममुखी बनाउन पहिलो चरणमा १० वटा उद्यमलाई सहभागी गराई ‘आद्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु गरिएको छ ।  प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आद्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र नेपाल कृषिबजार विकास कार्यक्रमको मुख्य साझेदारीमा कोशी प्रदेशमा ‘आद्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु गरिएको हो । 

पाँच महिनामा छनौट भएका उद्यमहरू लगानीका लागि योग्य बनाउने लक्ष्य राखिएको छ । यसका लागि सुरुवाती चरणमा झापाको बिर्तामोडमा आइतबारदेखि तीन दिने कार्यशाला गर्दै उद्यमको क्षमता विकासका लागि आधारभूत मापदण्डको विषयमा छलफल भएको छ ।

कोशी प्रदेशमा लगानी प्रवर्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, सहज परियोजना र आध्यन्तबीच सहकार्यमा कार्यक्रम सुरु भएको आद्यन्तका सञ्चारबिज्ञ निश्चलसिंह भण्डारीले बताउनुभयो । पहिलो चरणमा छनौट भएका उद्योगहरूको अवस्था विषयमा हामीले सूक्ष्म अध्ययन गरेका छौँ र त्यही आधारमा उनीहरूलाई थप सक्षम बनाउन लाग्नेछौँ, उहाँले भन्नुभयो । 

आद्यन्त फण्ड म्यानेजमेन्ट लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजत लिएको संस्था हो । कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्धन गर्न अनुमति रहेको छ । उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हाम्रो लक्ष्य छ, भण्डारीको भनाइ छ ।

कोशी प्रदेशमा कृषि व्यवसायीको क्षमता बढाइ उनीहरूलाई थप लगानी प्राप्त गर्न पुँजीमा पहुँच बनाउन सहयोग गर्ने उद्देश्यसाथ कार्यक्रम सञ्चालन गरिएको आद्यन्तका वित्त तथा लगानी प्रमुख स्वरूप ढुङ्गानाले बताउनुभयो । 

राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, सनराइज बैङ्क र लक्ष्मी बैङ्क लिमिटेडलगायतका संस्थागत लगानीकर्ताहरू यसमा आबद्ध छन् । कम्तीमा पाँच महिनासम्म पहिलो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।