• १३ साउन २०८१, आइतबार

टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता

blog

टर्च बालेर सुत्केरी गराएपछि नवजात शिशुलाई कपडामा न्यानो पारि राख्दै स्वास्थ्यकर्मी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख ५ गते । जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृह विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत  वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको हो ।  

सिमकोट गाउँपालिका –१ र २ को ठेहे गाउँको स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले मोबाइल र टर्च बालेर प्रसूति गृहमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले हिल्दुम विद्युत वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत नियमित नहुने, भए पनि लामो समय लोड सेडिङ हुने भएकाले गर्भवती महिलालाई सुत्केरी गराउन समस्या हुने गरेको बताउनुभयो । 

सोमबार राती आठ बजे प्रसूति गृहमा आउनु भएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर सुत्केरी गराउनु परेको थियो । विद्युत  आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलरले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्नु पर्ने बाध्यता रहेको छ । 

बच्चालाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ । हिल्दुुम विद्युत  वितरण केन्द्रले हाल दैनिक १७-१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ । विद्युत लोड सेडिङ बढेको कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीहरूको अवस्था पनि उस्तै रहेको छ ।