• ९ मंसिर २०८१, आइतबार

एसईईपछि अभिभावकको दायित्व

blog

विद्यालय जीवनको महत्त्वपूर्ण परीक्षाका रूपमा लिइने एसईई भर्खरै सकिएको छ । देशभरबाट चार लाख ८४ हजार २२७ विद्यार्थी यस पटक एसईई परीक्षामा सामेल भएका थिए । केही विसङ्गतिपूर्ण समाचारको निरन्तरतासँगै सारगत रूपमा एसईई मर्यादित ढङ्गले सम्पन्न भएको छ । वि.सं १९९० देखि सुरुवात भएको एसएलसी सरकारले विद्यालयीय शिक्षामा गरेको संशोधनसँगै एसईई भएको छ । शाब्दिक रूपमा केही भिन्नता भए पनि सारगत रूपमा भने एसएलसीसरहको मान्यता एसईईले पाइरहेको छ । एसईईका रूपमा विद्यार्थीलाई फलामे द्वारका रूपमा चित्रित भएको एसएलसीलाई केही सहज र खुकुलो बनाएको भए पनि अभिभावक र विद्यार्थीमा अझै पनि एसईईप्रतिको त्रास यथावत् रहेको देखिन्छ । शिक्षाको संरचनाअनुसार कक्षा १२ लाई विद्यालय शिक्षाका रूपमा चित्रण गरिएको भए पनि एसईईलाई प्राथमिकतामा राख्न सरकारले छाडेको छैन । अहिले सबैभन्दा बढी चर्चा हुने परीक्षाका रूपमा एसईई नै रहेको छ । 

विद्यार्थीले एसईई परीक्षा दिइसकेपछि तीन महिनाजसो समय त्यसै व्यतीत गरिरहेका हुन्छन् । विद्यार्थी भएदेखि नै यति धेरै फुर्सद हुने यो पहिलो समय भएकाले पनि उनीहरूलाई के कसरी समय व्यतीत गर्ने भन्नेखालको द्विविधा कायमै रहेको हुन्छ । यही अन्योलताका बीचमा कैयौँ बालबालिकाले यो समयलाई खासै उपलब्धिबिना नै व्यतीत गरिरहेका हुन्छन् । कतिपय विद्यार्थी उच्च शिक्षाको आधार निर्माणका लागि आधारभूत कुरा पढिरहेका हुन्छन् भने केही विद्यार्थीले आफूले मन लागेका सोख पूरा गरिरहेका हुन्छन् । केही विद्यार्थीले माथिल्लो तहका पढाइका लागि उत्कृष्ट विद्यालयमा या छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नका लागि तयारी कक्षा लिइरहेका छन् भने अधिकांश विद्यार्थी रिजल्टको पर्खाइमा पर्ख र हेरका अवस्थामा रहेका छन् । 

एसईई पछिको तीन महिना भनेको विद्यार्थीका लागि निकै उर्वर समय हो । यसलाई अन्योलतामा व्यतीत गर्नुभन्दा सिर्जनात्मक बनाउनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । एसईईपश्चात् विद्यार्थी करिअरको महत्त्वपूर्ण अवस्थामा प्रवेश गर्ने भएको हुँदा पनि यो समयलाई विशेष ख्याल गर्नुपर्ने अहिलेको आवश्यकता हो । विद्यार्थीको यो समयलाई अर्थपूर्ण बनाउन अभिभावकको विशेष भूमिका हुने गर्छ । यो समयको संवेदनशीलतालाई मनन गरेर अभिभावकले विशेष जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । 

बच्चालाई सही विषय छान्न सहजीकरण

एसईईपश्चात् कुन विषय अध्ययन गर्ने भन्ने कुराको उपर्युक्त छनोट विद्यार्थीले गर्नुपर्छ । आफ्नो रुचि र चाहनाअनुसार कुन कार्यक्रम छनोट गर्ने भन्ने विषयमा विद्यार्थीमा अन्योलता छाएको देखिन्छ । अधिकांश बालबालिकाले साथीसँगीको लहलहैमा कार्यक्रमको छनोट गरेका हुन्छन् । यसरी लहलहैमा कार्यक्रम छनोट गर्दा विद्यार्थीले अध्ययन कार्यलाई निरन्तरता दिने सम्भावना निकै कम हुन्छ । अर्को कुरा आफ्नो अभिरुचिअनुसारको विषय भन्दा पनि कुन विषयको स्कोप छ भन्ने विषयको पछाडि विद्यार्थी दौडिरहेको देखिन्छ । विद्यार्थीको छनोटलाई अभिभावकले समयमै दिशानिर्देश गर्नुपर्छ । यो समय विद्यार्थीले कुन विषय अध्ययन गर्ने भनेर पूर्वयोजना बनाउने उपर्युक्त समय हो । यसकारण विद्यार्थीलाई विषय छनोटका लागि अभिभावकले सहजीकरण गरिदिनुपर्ने हुन्छ । अभिभावकले बालबालिकालाई थप अध्ययनका लागि कुन विषय छान्ने भन्ने बारेमा रुचि र क्षमताको आकलन गरेर सही सल्लाह दिनुपर्छ । 

भर्ना प्रक्रियामा सहयोग

विद्यार्थीमा कक्षा ११ मा कसरी भर्ना हुने ? कस्तो कलेजको छनोट गर्ने ? लगायतका विभिन्नखालका अन्योल हुन्छ । स्थानीय रूपमै पढ्ने, अलि ठूलो सहरमा पढ्ने या राजधानी जाने भन्ने अन्योलताले विद्यार्थीलाई पिरोलिरहेको देखिन्छ । कलेज छनोटको आधारका बारेमा बालबालिकाले परिपक्व निर्णय गर्न सक्ने सम्भावना अत्यन्त न्यून हुने गर्छ । 

विद्यार्थीले चाहेजस्तो कलेज छनोट हुन सकेन भने उसले बीचमै पढाइ छाड्ने सम्भावना निकै हुने गर्छ । कलेज छनोट गर्दा अभिभावकले शुल्कलाई पनि मध्यनजर गर्नुपर्छ । यसका साथै भर्ना प्रक्रियाका क्रममा कलेजहरूले विभिन्न खालका छात्रवृत्तिको पनि व्यवस्था गरेका हुन्छन् । सो विषयमा पनि अभिभावकले सही ढङ्गले विद्यार्थीलाई गाइड गर्नुपर्ने देखिन्छ । आफ्नो बालबालिका जतिसुकै राम्रो भए पनि यदी अभिभावकले सही ढङ्गले विद्यालयको छनोट गर्न सकेन भने विद्यार्थीले सही ढङ्गबाट क्षमता प्रस्फुटन गराउन सक्दैन । 

उच्च शिक्षाका लागि विकल्पको अध्ययन

एसईईपश्चात् अध्ययनका लागि अनेकानेक अवसर र विकल्प छन् । विद्यार्थीको क्षमता अभिरुचिअनुसार विभिन्न कार्यक्रम सञ्चालनमा रहेका हुन्छन् । जस्तो कुनै विद्यार्थीले प्राविधिक शिक्षा आर्जन गर्न चाह्यो भने उसको क्षमताअनुसार एसईई पछि डिप्लोमा र प्रिडिप्लोमा दुवै खालको शिक्षाको व्यवस्था गरिएको हुन्छ । विद्यार्थीले माथिल्लो तहको श्रेणी भएकाले डिप्लोमा तह अध्ययन गर्न छनोट गर्छ तर उससँग सोअनुसारको क्षमता हुँदैन भने त्यसले विद्यार्थीलाई बिस्तारै अध्ययनप्रति निरुत्साहित बनाउने गर्छ । यस विषयमा अभिभावकले समयमै सहजीकरण गर्नु आवश्यक हुन्छ । यसरी विकल्पमध्ये उपयुक्त विकल्पको छनोट गर्नका लागि अभिभावकले सहजीकरण गर्नुपर्छ । आफ्ना बालबालिकाले पढ्न चाहेको विषयमा उनीहरूको क्षमता र अभिरुचि जोडिएको छ या छैन भनेर अभिभावकले सूक्ष्म अवलोकन पनि गर्नुपर्छ । अभिरुचि भएको विषय पढ्ने बालबालिकाको अधिकार भए पनि उसले कसरी विषयको छनोट गरेको छ भन्ने बारेमा अभिभावक जानकार हुनुपर्छ । 

बच्चालाई आफ्नो सपना पछ्याउन प्रोत्साहन दिऊँ आमाबाबुले आफ्ना बच्चालाई उनीहरूको अभिरुचि या कुनै कुरा जसरी पनि गर्छु भन्ने उच्च आकाङ्क्षा सम्बोधन गर्नका लागि प्रोत्साहन दिन सक्छन् । यद्यपि तिनीहरू उनीहरूको शैक्षिक वा करियर लक्ष्यसँग सम्बन्धित छैनन् । बालबालिकाले आफ्नो सोख या अतिरिक्त क्रियाकलाप पछ्याउँदा जीवनका लागि चाहिने महìवपूर्ण कौशल प्राप्त हुने गर्छ । नयाँ शैक्षिक यात्राको सुरुवात नभएको र पुरानो शैक्षिक यात्रा टुङ्गिएको यो निकै नै महìवपूर्ण समय हो । शैक्षिक कार्यका अतिरिक्त बालबालिकाले चाहेको कुरा गर्न उत्प्रेरित गर्दा पनि बालबालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरिरेहका हुन्छन् । 

इन्टरनेटको स्वस्थ प्रयोग 

बालबालिका एसईई परीक्षापश्चात् आफूलाई स्वच्छन्द ठान्छन् । १० वर्षसम्म झोला बोकेर विद्यालय जाने परम्पराबाट आफू मुक्त भएको उनीहरूको आकलन हुने गरेको छ । यस्तो समयमा उनीहरू विशेष गरेर मोबाइलको दुनियाँमा लिप्त हुने सम्भावना अधिक हुन्छ । अभिभावकले उनीहरूको आनीबानीको आकलन नगर्ने हो भने उनीहरूमा मोबाइलको लतसमेत बस्न सक्छन् । यसका लागि अभिभावकले बालबालिकालाई आवश्यक समय दिनुपर्छ यसका साथै मोबाइलको लतबाट टाढा राख्नका लागि उनीहरूलाई विभिन्न घरायसी कामका अतिरिक्त उनीहरूमा रहेको प्रतिभा पहिचान गरी सोही कुरामा अगाडि बढ्न प्रेरित गर्नुपर्छ । जस्तो कुनै बालकले फुटबल मन पराउँछ भने उसलाई फुटबल क्लबसँग आबद्ध बनाएर फुटबल खेल्नका लागि अभिप्रेरित गर्नु आवश्यक हुने गर्छ । यसका साथै बालबालिकाले इन्टरनेटमा कस्तो खालको सामग्री हेरिरहेका छन् भन्ने बारेमा पनि अभिभावकले ख्याल गर्नुपर्छ । 

शैक्षिक दृष्टिले घरलाई पहिलो पाठशाला र बाआमालाई पहिलो गुरु मानिन्छ । बालबालिका अहिलेको अवस्थामा पहिलो पाठशालामा मात्रै केही समय सीमित हुने भएको हुँदा यसलाई अर्थपूर्ण बनाउन अभिभावकले विशेष ख्याल गर्नुपर्छ । 

लेखक तुलसीपुर प्राविधिक शिक्षालयका प्रमुख हुनुहुन्छ ।

  

Author

वसन्त आचार्य