• १३ साउन २०८१, आइतबार

साङ्गीतिक नृत्य नाटिका

सुन्दर परीको कथा ‘जून’

blog

काठमाडौँ, वैशाख ४ गते । हामीले सानैदेखि धेरै किसिमका कथा सुन्दै आएका हुन्छौँ । यस्ता कथामध्ये अधिकांश दन्त्य कथा वा परी कथाले आदिम मानव सभ्यता र सङ्घर्षलाई काल्पनिक कथानकमार्फत प्रस्तुत गर्छन् ।

अघिल्ला पुस्ताले आउँदा पुस्तालाई सुनाउने दन्त्य कथा वा परी कथामा पात्रले भोगेका, अनुभव गरेका घटनामार्फत वर्तमान समय र भावी पुस्तालाई केही सन्देश, केही शिक्षा दिने उद्देश्य हुन्छ । सतही रूपमा हेर्दा कतिपय सन्देश पुरातन र अन्धविश्वासी लागे पनि ती कथालाई हेर्ने दृष्टिकोण बदल्दा जीवनपयोगी शिल्प, तकनिकी र आग्रहसमेत भेटिन्छन् । प्रस्तुत नृत्य नाटिका ‘जून’  पनि हामीले बाल्यावस्थादेखि सुन्दै आएका त्यस्तै दन्त्य कथा र परी कथाको सङ्गम हो तर यसले दन्त्य कथा र परी कथाभन्दा बढी आधुनिक समाजमा काम लाग्न सक्ने विषय उठान गरेको छ । 

प्रस्तुत नृत्य नाटिकामार्फत आदिमकालदेखि सीमान्तमा पारिएका महिला पात्रको पुनर्परिभाषा गर्ने उद्देश्य राखेको देखिन्छ । इतिहासका हरेक कालखण्डमा महिलामाथि दमन, शोषण भएका छन् तर ती दमन र शोषणका विरुद्धमा समयमै बोल्न सकियो भने त्यसले परिस्थितिलाई थोरै भए पनि बदल्न सक्छ भन्ने कुरा नाटकमार्फत देखाउन खोजिएको छ । सिक्वेल फाउन्डेसनसँगको सहकार्यमा एस्थेटिक डान्स स्टुडियोद्वारा उत्पादित यस नृत्य नाटिकाको पहिलो मञ्चन २०७९ चैत १० गते राष्ट्रिय नाचघरको प्रेक्षालयमा गरिएको थियो । आगामी वैशाख १५ देखि २४ गतेसम्म यस नृत्य नाटिकालाई मण्डला नाटक घरमा नियमित मञ्चन गरिनेछ ।

सानैमा आमा गुमाएकी जूनले परिस्थितिवश नयाँ आमा र बहिनीसँग जीवन गुजारा गर्नुपर्ने हुन्छ । व्यक्तिगत इच्छा आकाङ्क्षा जुध्दा नयाँ परिवार बनाउने यो प्रक्रिया त्यति सहज हुँदैन । असमझदारी, प्रताडना, बिछोडका साथसाथै जूनले आफ्नो जीवन सहज बनाउन एउटा यात्रा सुरु गर्छिन् । यात्रामा आएका बाधा व्यवधानलाई आफ्नो बुद्धिमत्ता र शिल्पले पन्छाउँछिन् र आफ्नो निर्णय आफैँ गर्न सक्ने परिस्थितिमा आफूलाई पु¥याउँछिन् । 

नाटकका नाटककार र गीतकार संयोग गुरागाईं हुनुहुन्छ भने परिकल्पना निर्देशन नम्रता केसीले गर्नुभएको हो । नाटकलाई सोमनाथ खनालले निर्माण गर्नुभएको छ । नाटकमा सङ्गीत भर्ने काम सलिन मगर र शाश्वत श्रेष्ठ, सेट डिजाइन राजन खतिवडा, सेट निर्माण हुम बीसी, मणि कुलुङ राई र रोशन लोहोरुङ राई, लाइट डिजाइन र परिचालन इँगिहोपो कोइँच सुनुवार वेशभूषा सञ्जिता पराजुली र अदृशा चौधरी रहेको छ । नाटकमा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनीषा बस्नेत, मेलिसा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियङ्का चम्लागाईं, दिलाशा गुरुङ, शर्मिष्ठा दास, सुजाता दास, सृष्टि दास, दृष्टि दाहालको अभिनय रहेको छ । नृत्य नाटिकामा सबै कलाकारको अभिनय प्रशंसायोग्य छ । निर्देशक केसीको निर्देशनमा खोट लगाउने ठाउँ छैन । नाटकभित्र उहाँले आफ्नो सीपलाई सही ढङ्गबाट पस्कनुभएको छ ।