• १३ असोज २०८१, आइतबार

खोप सुनिश्चित गर्नु सरकारको दायित्व : मुख्यमन्त्री

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख ४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभएको छ।

प्रदेश राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभयो। 

मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताउँदै प्रदेशको राजधानी र कोशी प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको बताउनुभयो। विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ, उहाँले भन्नुभयो, “प्रदेशको राजधानी पनि यहीँ भएकाले राम्रा कामले प्रशंसा पाउँछ।’’

खोपमा सबै बालबालिकाको सुनिश्चित पहुँच स्थापित हुनु गौरवको विषय हुने उहाँले बताउनुभयो। विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै उहाँले प्रविधिमैत्री बनाएर नयाँ जन्मिने बालबालिकाको अभिलेख राख्नुपर्नेमा जोड दिनुभयो। 

विराटनगर महानगरपालिका कोशी प्रदेशका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ। विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकालाई खोप लगाइसकिएको छ। कुल १७ हजार ५०२ बालबालिकामध्ये एक हजार ५९२ जना बालबालिका पूर्ण खोप लगाउनबाट छुटेका थिए। उनीहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। 

प्रमुख कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, सङ्घीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, विराटनगर महानगरपालिकाकी उपप्रमुख कार्कीलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। जन्मिएको १५ महिनाभित्र सात पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो।