• २४ जेठ २०८२, शनिबार

आलुले फेरिदिएको गाउँ

blog

गुराँस गाउँपालिका ५ रानीमत्तामा गरिएको आलु खेती । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, जेठ २३ गते । खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ । 

बारीमा आलुको उत्पादन बढ्ने भएपछि आम्दानी पनि बढ्ने हुँदा उहाँ हर्षित हुनुहुन्छ । गुराँस गाउँपालिका ५ बडाकाँडाका कृषक हुनुहुन्छ खड्क । ५४ वर्षीया उहाँले गएको सिजनमा १०० क्विन्टल आलु बेच्नुभएको थियो । यस वर्ष करिब डेढ सय क्विन्टल उत्पादन हुने देखिएको छ । 

सिजन पनि राम्रो भएकाले उत्पादन बढ्ने उहाँले जानकारी दिनुभयो । केसी करिब १६ रोपनी पाखो खेतबारीमा आलु रोप्नुहुन्छ । एक वर्षमा एउटै सिजन आलु उत्पादन हुन्छ । उहाँका अनुसार यहाँका किसानका लागि मुख्य सिजन बर्खे हो । उहाँले फागुन २५ मा आलु रोपिसक्नुहुन्छ भने भदौ अन्त्यतिर खनिसक्नुहुन्छ । त्यसपछि असोजमा फेरि आलु र बन्दागोभी लगाउनुहुन्छ । गाउँमा आलुबाट राम्रो आम्दानी गरेको देखेपछि आलु खेतीमै लागेको उहाँले सुनाउनुभयो । २०५४ सालदेखि केसीले आलु खेती सुरु गर्नुभयो ।

बडाकाँडाकै ४१ वर्षीया पूर्ण केसीले पनि गएको सिजनमा ५० क्विन्टल आलु फलाउनुभयो । उहाँले प्रतिक्विन्टल ३३ सयदेखि ३५ सय रुपियाँका दरले बेचेर झण्डै साढे दुई लाख रुपियाँ लिनुभयो । आलुखेतीबाट राम्रो आम्दानी हुन थालेपछि केसी तरकारी खेतीमै लाग्नुभएको हो । उहाँ खेतीबाट सन्तुष्ट देखिनुहुन्छ । उहाँ २२ रोपनी जमिनमा आलुखेती गर्नुहुन्छ । परिवारको मुख्य पेसा पनि यही हो । उहाँको गाउँमा सबै किसान आलुखेतीमा छन् । उहाँले काउली, बन्दा र आलुबाट राम्रो आम्दानी गरिरहनुभएको छ । अर्का कृषक हुनुहुन्छ ५५ वर्षीय देवी चन्द । उहाँको नौ जनाको परिवार आलुखेतीबाटै चलेको छ । यस वर्ष सबै खर्च कटाएर साढे दुई लाख रुपियाँ बचत भएको उहाँले सुनाउनुभयो ।

गुराँस गाउँपालिका ५ का रानीमत्ता, कान्छीबजार, लहरा र नयाँ खर्क लगायत गाउँमा सबैजसो किसान आलुखेती गर्छन् । वडा अध्यक्ष भूपेन्द्र चन्दका अनुसार यो वडाका बासिन्दाको आम्दानीको मुख्य स्रोत आलुखेती नै हो । 

वडा नं. ५ आलुखेतीका लागि प्रसिद्ध भएको छ । यहाँ आलुका साथै काउली, बन्दागोभी, भाजी, स्याउ, किवी, ओखरलगायत खेती हुने गरेको छ । यहाँको धेरैजसो आलु सुर्खेत, दैलेख, बाँके, बर्दिया केही नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौं पनि पुग्छ । गाउँमा बाटो पुगेपछि यहाँका किसान व्यावसायिक रूपमा आलुखेतीमा लागेका हुन् । गाउँका सबै किसान आलुखेतीमा लागेपछि बिक्री सहज भएको छ । 

किसानहरू बजार पुग्नु पर्दैन । व्यापारीहरू गाउँमै आउँछन् र थोकमा लैजान्छन् । किसानहरूका अनुसार व्यापारीलाई एकसाथ थोकमा बेच्दा राम्रो लाभ हुने गरेको छ । 

चिस्यान केन्द्र (कोल्ड स्टोर) मा राख्न जानु पनि पर्दैन । बिग्रिने डर पनि हुँदैन । वीरेन्द्रनगरका सब्जिमण्डीका व्यापारी जयबहादुर महताराका अनुसार चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो हुन्छ ।

वडाध्यक्ष भूपेन्द्र चन्दका अनुसार यस वडामा मात्रै एक हजारभन्दा बढी घरपरिवार आलुखेती गर्छन् । उहाँका अनुसार वडामा एक सिजन भएपनि आलुखेती नगर्ने कुनै किसान छैनन् । एक सिजनमा एक परिवारले आलुबाट कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्छन् । यहाँका किसानले आलुमा रासायनिक मल प्रयोग नगर्ने उहाँले बताउनुभयो । आफैंले बनाएको प्राङ्गारिक मल मात्र प्रयोग गर्छन् । यसकारण पनि यहाँको आलुको माग धेरै भएको उहाँ बताउनुहुन्छ ।           

गुराँस गाउँपालिका कृषि शाखा प्रमुख निर्मल भुसालका अनुसार गएको एक वर्षमा वडा नं. ५ का किसानले कम्तीमा १५ सय ४४ मेट्रिक टन आलु बेचे । यसबाट नौ करोड २० लाख रुपियाँ भित्रियो । यहाँका किसानले ‘आलु बाली विकास कार्यक्रम, खुमलटार’ ले सिफारिस गरेको डेजिरे जातको आलु रोप्ने गरेका छन् ।