• १३ साउन २०८१, आइतबार

कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा

blog

म्याग्दी, वैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँसहित शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । राजकुमारी अल्थानीलाई आरोही गाइड निर्मल पुर्जासहितको टोलीले आरोहणमा सहयोग गरेको थियो । 

नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरू अन्नपूर्णको शिखरमा पुग्न सफल हुनुभएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो । ई-लाइट ट्रेकिङ कम्पनीले उहाँलाई स्थानीय एजेन्सीको रूपमा समन्वय गरेको थियो । 

शनिबार ४ बजेतिर अन्य दुई टोलीका ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से, आमादब्लम , मनास्लु, पाकिस्तानको केटु हिमालको आरोहण गरिसक्नुभएको छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा आरोहण दलबाट ५४ जना आरोहीले अनुमति लिएका छन् । 

Author

ठाकुरप्रसाद आचार्य