• १० पुस २०८१, बुधबार

प्रदेश राजधानीमा खानेपानी समस्या

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ३ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सुरु भएको छ। गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो। 

स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ। वीरेन्द्रनगर–१, प्रगति टोलकी सीता खड्कालाई दिनहुँ खानेपानीको चिन्ता हुन्छ। गर्मी मौसम सुरु भएसँगै पानीको चरम अभाव भएको उहाँले बताउनुभयो। 

घरमा बिहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दाे व्यवस्था छैन। उहाँ भन्नुहुन्छ, “खोलाबाट दुई घण्टा लगाएर एक ग्रागी पानीको जोहो गर्छौं।” 

त्यस्तै लक्ष्मी खड्का पनि वीरेन्द्रनगर–१ कै बासिन्दा हुनुहुन्छ। गर्मी मौसम सुरु भएसँगै धारामा चार दिनमा एक पटक पानी आउने गरेको उहाँले बताउनुभयो। नियमित र पर्याप्त पानी नआउँदा निकै समस्या भएको खड्काको भनाइ छ। सोही ठाउँका नवीन पुरीले विगत दुई महिनादेखि खानेपानीको सङ्कट बढ्दै गएको बताउनुभयो। कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँ खानेपानीको व्यवस्थापन छैन।

“धारामा पानी आउँदैन, स्थानीय बासिन्दा काकाकुल बनेका छन्। सरकारले के हेरेको छ ?” बर्सेनि खानेपानीको समस्या भइरहने भए तापनि स्थानीय तथा प्रदेश सरकारले यस विषयमा ध्यान नदिएको उहाँको गुनासो छ।

वीरेन्द्रनगर–१ का वडाध्यक्ष दिनेश खत्री भने भूगोलका कारण पानी वितरणमा समस्या भएको बताउनुहुन्छ। स्रोत व्यवस्थापन गरेर उत्तरी जलाधार क्षेत्रमा भएका मुहानको संरक्षण गरी व्यवस्थित गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। 

अध्यक्ष खत्रीले भन्नुभयो, “दुई सय दुई मिटर गहिरो खन्दा पनि पानी आउँदैन। भूगोल नै त्यस्तै छ।” विशेष गरेर प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोललगायतका ठाउँमा पानीको धेरै समस्या रहेको छ। मुहानमा पानी घटेपछि ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताउनुभयो। 

“गर्मीयाम सुरु भएपछि मुहानमै पानीको स्रोत घटेको छ, ४८ घण्टापछि मात्रै धारामा पानीको पालो आउँछ,” उहाँले भन्नुभयो, “खानेपानी समस्या देखिएको छ।” वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ। 

खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पु-याउन नसकेको गौतम बताउनुहुन्छ। संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल गर्मीयाममा सधैँ पानीको समस्या हुने गरेको बताउनुहुन्छ। विशेष गरेर वडा नं. १ देखि १२ सम्म खानेपानीको समस्या देखिएको उहाँको भनाइ छ।

तत्काल पानीको समस्या समाधान गर्नका लागि बोरिङ मर्मत गर्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार गर्मीयाम सुरु भएसँगै खानेपानीको अभाव छ। खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारसँग पनि आवश्यक बजेट माग गरिएको उपप्रमुख खनालले बताउनुभयो। 

खानेपानीको समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउने तयारी भइरहेको छ। यसका लागि वल्र्ड बैङ्क, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भइसकेको छ। सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भएकाले केही दिनमा ठेक्का प्रक्रिया सुरु हुने उहाँको भनाइ छ। आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिनेछ।