• १३ साउन २०८१, आइतबार

नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर

blog

अमरराज नहर्की  

तनहुँ, वैशाख ३ गते । बन्दीपुर नेपालीहरूको नयाँ वर्षको अवसरमा घुम्नका  लागि धेरैको रोजाइमा  परेको छ। नेपाली नयाँ वर्षमा पर्यटकीय नगरी बन्दीपुर भरिभराउ भएको छ। 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भरिएको जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा बन्दीपुर सांस्कृतिक तथा मौलिक तथा परम्परागत सडक खाना महोत्सव गरिएको र पर्यटकको भिड लागेको उहाँले जानकारी दिनुभयो। बन्दीपुरको होटलमा बास बस्न आउने पहिलो पाहुनालाई एक रुपियाँमै बस्ने सुविधा प्रदान गरिएको प्रधानले बताउनुभयो। 

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ  बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ रेवान बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको हो। महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको छ।  नेवार, गुरुङ, मगर, तामाङ समुदायको खानाको परिकार राखिएको हो। पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले महोत्सव गरिएको प्रधानले बताउनुभयो। प्रधानले भन्नुभयो, “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित तीनदिने सडक खाना महोत्सव गरिएको हो। नयाँ वर्षमा आयोजना गरिएको महोत्सवले पर्यटकलाई थप आकर्षित गरेकाले पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ।’’ महोत्सवमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। महोत्सवमा कौरा गीत तथा नृत्य, कुमारी नृत्य विविध सांस्कृतिक एवं विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिएको छ। 

नयाँ वर्षमा भिड बढेपछि व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी विकास श्रेष्ठले बताउनुभयो। कोरोना र सडक विस्तारले गर्दा प्रभावित भएको बन्दीपुरको पर्यटन हाल तङ्ग्रिने प्रयासमा छ।  

अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनासलु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा, मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि, लमजुङ, मनासलुलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ। बन्दीपुर साहसिक पर्यटक लक्षित गरी बन्दीपुरदेखि रामकोटसम्म साइकल लेनसमेत बनाइएको छ। केबलकार निर्माण अन्तिम चरणमा पुगेको छ। 

बन्दीपुरमा विशेष गरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैस गुरुङले जानकारी दिनुभयो। सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै नौ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ। बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ। बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ।