काठमाडौं, चैत ३० गते । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले यस वर्षको अभिनेताको अवार्ड प्राप्त गर्नुभएको छ । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई यो वर्षको अभिनेताको अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर भएको बताउनुभयो । उहाँले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरूको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कोरोना सङ्क्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, "म धेरै खुसी छु । यो अर्वाड म दर्शकहरूमाझ समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशीर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईँहरूको माया सधैँ रहिरहोस् । म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनु पर्छ ।"
कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद रहेको बताउनु भयो । उहाँले २०७९ मा १० वटा चलचित्रहरूले मुनाफा कमाउनु खुसीको विषय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "२०७९ सालमा हाम्रा चलचित्रहरूको समीक्षा गर्दा वास्तवमा यो वर्ष नेपाली चलचित्रहरूको लागि सुखद वर्ष हो, किनभने करिब १० वटा चलचित्रले मुनाफा कमाएका छन् । आउने २०८० साल पनि यसभन्दा सफल हुनेछ । चलचित्रकर्मीहरूको भविष्य पनि उज्ज्वल बन्नेछ । आगामी दिनमा शतप्रतिशत नै नेपाली चलचित्र चल्नुपर्छ।"
अध्यक्ष खड्काले यस वर्ष २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको जानकारी दिनुभयो ।