• १३ साउन २०८१, आइतबार

नयाँघरेलाई साहित्य कलाश्री

blog

काठमाडौँ, चैत २८ गते । मदन पुरस्कार विजेता निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार–२०७९ प्रदान गरिएको छ। साहित्य कला सङ्गम दमकले नयाँघरेसहित सात स्रष्टालाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा साहित्यकार चूडामणि रेग्मी, युद्धवीर राना, प्रतिभा पौडेल, मुकुन्द प्रयास र मूर्तिकार हिम्मत नेम्वाङ गरी पाँच जनालाई भवानी मिश्र पुरस्कार–२०७९ प्रदान गरिएको थियो। विभिन्न लोकगीतका सङ्कलक तथा गायक, सीताराम ताजपुरियालाई तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, सञ्चारकर्मी चन्द्र भण्डारी, दमक नगरप्रमुख रामकुमार थापा, प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेली, पूर्व प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले पूर्वेली स्रष्टा, साहित्य र सिर्जनात्मक गतिबारे चर्चा गर्नुभएको थियो।