• १३ असोज २०८१, आइतबार

मोरङकाे पशु अस्पताल निर्माण अन्तिम चरणमा

blog

नगरको वडा नं.३ मा निर्माण भइरहेको पशु अस्पताल । तस्विर : हरिप्रसाद कोइराला

हरि कोइराला

उर्लाबारी, चैत २७ गते । मोरङको पथरीशनिश्चरे -३, पिपलचौकमा निर्माणाधीन पशु अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । पशु सेवा विभागअन्तर्गतको नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्टले एक करोड ८० लाख रुपियाँमा निर्माण गरिरहेको पशु अस्पतालको निर्माण कार्य ८५ प्रतिशत सकिएको हो । 

"निर्माण कम्पनी नर्सिङ निर्माण सेवा जलेश्वरका ओरसियर पप्पु मण्डलका अनुसार ८ कोठाको सुविधा सम्पन्न पशु अस्पताल वैशाखको तेस्रो साता हस्तान्तरण गर्ने तयारी छ," मण्डलले भन्नुभयो, "जग्गा अलि गहिरो स्थानमा भएकोले माटो पुर्ने काम नगरपालिकाले गर्नेछ । त्योबाहेक सम्पूर्ण काम नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्टले गर्नेछ ।" 

पशु अस्पतालले गुणस्तरीय ल्याब सेवासहित ७ जना जनशक्तिबाट सेवा दिनेछ । पथरीशनिश्चरे नगरपालिकाका पशु चिकित्सक डाक्टर सबल पोख्रेलले भन्नुभयो, "नगरको सबैभन्दा बढी पशुपालन हुने क्षेत्र भएकोले अस्पताल वडा नं.३ मा निर्माण भएको हो । ३ कट्ठा जग्गामा निर्माण भइरहेको अस्पताल परिसरमा उपचारका लागि ल्याइएका पशु मरे भने व्यवस्थापन गर्ने अलग्गै स्थानमा वायोपिट निर्माण गरिएको छ ।" 

यस्तै, ठूलो खाडलमा मरेका पशु हालेर केमिकल छर्केपछि पशुहरू गन्ध नआईकन सडिन्छन् । एक पटकमा ३ वटासम्म पशु एकैपटक हाल्न मिल्ने वायोपिटबाट फोहोर र दुर्गन्ध फैलिँदैन । त्यस्तै शौचालयमा पनि सकपिट राखिएको छ । लामो समय सम्म मानव मलमुत्रबाट शौचालयको ट्याङ्की नभरियोस् भनेर सकपिट राखिएको हो । 

स्थानीय तारा कोइरालाले निःशुल्क प्रदान गर्नु भएको जग्गामा पशु अस्पताल बनेपछि स्थानीय पशुपालक किसान समेतखुसी भएका छन् । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले भन्नुभयो, कृषि र पशुपालन नगरको समृद्धिको प्रमुख स्रोत हुन् । त्यसैले पशु अस्पताल निर्माण गरेका हौँ । तुम्वापोले हाल भएको पशु चिकित्सकसहितको टोलीले आगामी वैशाखदेखि अस्पतालबाटै सेवा दिने बताउनुभयो ।