• १३ साउन २०८१, आइतबार

स्रष्टा सम्मानित

blog

काठमाडौँ, चैत २७ गते । पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आइतबार एक विशेष कार्यक्रमबीच वितरण भएको छ । 

पद्मकन्या क्याम्पसमा सम्पन्न भएको कार्यक्रममा ‘पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार’ साहित्यकार रत्न प्रजापतिलाई प्रदान गरिएको थियो भने तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान शोभा दुलाललाई प्रदान गरिएको थियो । यसैगरी ‘नील–गङ्गा भाषा साहित्य पुरस्कार तथा सम्मान’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीत, सङ्गीत पुरस्कार तथा सम्मान’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान’ सत्यकला राईलाई दिइएको थियो । कार्यक्रममा ‘कृष्णलाल र गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान’ छेवाङ तेन्जिङ लामालाई, ‘परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान’ खेमनाथ दाहाललाई र ‘पुष्पपराग युवा साहित्यकार सम्मान’ डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गरियो । 

साहित्यमा योगदान गरेबापत प्रत्येक वर्ष एक जना व्यक्तिलाई दिइने मानार्थ सदस्य भने यस पटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिएको छ । पुरस्कार लेनदेनमा गुटबन्दी हुने, साटासाट गरिने, किनबेच हुनेजस्ता विकृृति फैलिएको अवस्थामा प्रतिष्ठानले अत्यन्त पारदर्शी ढङ्गले काम गरेको र प्रा.डा. कृष्णहरि बरालले प्रस्ट पार्नुभयो । पुरस्कृत साहित्यिक स्रस्टाहरूको व्यक्तित्व चर्चा डा. अम्बिका अर्याल र डा. जीवन जीवन्त तथा गीत सङ्गीतमा योगदान दिनुहुने कलाकारका बारेमा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।