• १३ साउन २०८१, आइतबार

जीवित छ नेवाः संस्कृति (फोटो फिचर)

blog

काठमाडौँ, चैत २५ गते । नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवा: शब्दले कुनै नस्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौँका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौँमा नेवा: संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ । 

नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् ।अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौँका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो । नेवारहरूको पर्व, नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक् जातका रूपमा रूपमा स्थापित गरेको छ । 

विश्वको सांस्कृतिक रङ्गमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दै गर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

न्युज एजेन्सी नेपालबाट