गोरखा समाचारदाता
गोरखा, चैत २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार गोरखा सदरमुकाममा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उहाँले आफूलाई आराम गर्ने छुट नभएको बताउनुभयो ।
“बितेका सय दिन अलि उतार चढाव भयो । फेरि पनि जहाँ आएर ल्यान्ड हुनुपर्ने हो त्यहाँ आएर ल्यान्ड भएको छ,” उहाँले भन्नुभयो, “अब खुसीका साथ मलाई आराम गर्ने छुट छैन ।”उहाँले विगत तीन महिना राजनीतिक उतारचढाव रहेकाले सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै अब सरकारले तीव्रताका साथ काम गर्ने बताउनुभयो । “सामाजिक न्याय, सुशासन र विकासका क्षेत्रमा यसबीचमा गरिएका प्रयास र उपलब्धि चमत्कारजस्तो नदेखिए पनि प्रगतिको निम्ति आधार तयार भएको छ,” उहाँले भन्नुभयो, “हामीले न्यूनतम साझा कार्यक्रम पनि ल्याइसकेका छौँ । अब धमाधम काम गर्नुको विकल्प छैन ।”
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विकास समस्या समाधान समिति बनाएर छलफल सुरु गरिएको उल्लेख गर्दै यसलाई अझै विस्तार गरेर तल्लो स्तरसम्म छलफल र अन्तक्र्रिया गर्ने तथा जनताको अपेक्षाअनुसार विकास निर्माणका काम अघि बढाउन सरकार अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामीले नीति कार्यक्रम र बजेट परम्परागत तरिकाबाट नभई गुणात्मक र परिणाममुखी ढङ्गले अघि बढाउनुपर्छ भन्ने एउटा समझदारी बनेको छ । केन्द्र, प्रदेश र स्थानीय तहका ऐन, कानुन बनाउने बारेमा पनि हामीले सहमति कायम गरेका छौँ ।”
उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी ऐन, सङ्घीय निजामती ऐन, सङ्घीय शिक्षा ऐनजस्ता धेरै कानुन र कार्यविधि ल्याउन लागिएको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम अब दुई वर्षभित्र टुङ्ग्याउनुपर्छ भन्दै यसबारेमा दलहरूसँग सहमति पनि बनेको र आवश्यक ऐन, कानुन बनाएर देखिएका जटिलता हटाउने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो ।
गोरखा अस्पतालको स्वर्ण जयन्तीका सन्दर्भमा गोरखा आउनुभएका प्रधानमन्त्री प्रचण्डले अस्पतालको आईसीयू कक्षको उद्घाटन गर्नुभएको थियो । उहाँले स्वास्थ्य र शिक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । बूढीगण्डकी आयोजनालाई सरकारले प्राथमिकतामा राखेको भन्दै उहाँले अबको केही महिनाभित्र शिलान्यास गर्ने योजना रहेको बताउनुभयो । उहाँले गोरखकाली रबर उद्योग, पालुङटार विमानस्थल सञ्चालनलगायत कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।