काठमाडौँ, वैशाख २ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको बीपी. नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक तारामान गुरुङको सभापतित्वमा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्ति अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको अभियोगमा स्पष्टीकरण सोधिएको हो । यसअघि गत चैत १८ गतेको बैठकले पनि खड्कालाई नक्कली लेटर प्याड प्रयोग नगर्न र जिम्मेवारीमा नरहेको पद उल्लेख नगर्न सचेत गराएको थियो ।
विज्ञप्तिमा भनिएको छ, "अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः २०८२ चैत ३० गते पार्टीको नक्कली लेटर प्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी प्रेस विज्ञप्ति जारी गरेको कार्य विधान विपरीत देखिएकाले पार्टी विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्णय गरिएको छ ।"
यसैगरी, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा अनुशासन उल्लङ्घन गर्ने पार्टी सदस्यविरुद्ध उजुरी दिने समय सीमा पनि थप गरेको छ । यसअघि चैत मसान्तसम्मको समय तोकिएकोमा अब २०८३ वैशाख मसान्तसम्म उजुरी दिन सकिने निर्णय बैठकले गरेको छ । वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै कारबाही नहुने समितिले स्पष्ट पारेको छ ।