• ३ असार २०८१, सोमबार

फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा

blog

प्रतिकात्मक तस्बिर

काठमाडौं, चैत २४ गते। फ्रेण्ड्स क्लबमाथि २-० को जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई २-० गोल अन्तरले पछि पारेसँगै समान अङ्क भएको जावलाखेललाई अङ्क तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो। रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अङ्क दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने। 

फ्रेण्ड्सविरुद्ध सुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो। यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरे पनि असफल भएको थियो। खेलको ३४ औँ मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२ औँ मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो।

यो जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ। मनाङले छैटौँ खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ। मनाङले ६ खेलमा १४ अङ्क जोडेको छ। उता अङ्क सुम्पिएको फ्रेण्ड्स ४ अङ्क जोडेर १२ औँ स्थानमा छ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा भएको खेलमा जावलाखेल यूथ क्लब र खुमलटार यूथ क्लबले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे। अङ्क बटुल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले सुरुवातबाट नै आक्रामक खेलेका थिए। सो क्रममा ३२ औँ मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए। तर त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १-१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन। ६३ औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २-१ को अग्रता बनाउन सफल भयो। तर खुमलटारको अग्रता धेरै समय टिकेन। ८६ औँ मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याएपछि दुबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १/१ अङ्क बनाए। यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अङ्क जोडेको छ। जावलाखेल दोस्रो स्थानमा झरेको छ। यस्तै खुमलटार ७ खेलमा ७ अङ्क जोडेर नवौँ स्थानमा छ।