• १३ असोज २०८१, आइतबार

आत्मदाह गर्ने आचार्य परिवारलाई आर्थिक सहयोग

blog

स्वर्गीय प्रेमप्रसाद आचार्यका परिवारका सदस्यलाई आर्थिक सहयोग गरिदै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), चैत २३ गते । सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्नुभएका स्वर्गीय प्रेमप्रसाद आचार्यका दुई छोरीको पढाइ खर्चका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले सङ्कलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।

बिहीबार इलामको सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा ताप्लेजुङ घर भई बेल्जियममा बस्नुहुने लोकेन्द्र नेपालको अगुवाइमा संकलनगरी पठाइएको पाँच लाख रकम स्वर्गीय आचार्यका छोरी आराध्य र आरोहीलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्तान्तरण गर्नुभयो ।

उक्त रकम आराध्य र आरोहीको माछापुच्छ्रे बैंङको खातामा जम्मा गरिएको छ । उक्त रकम स्वर्गीय आचार्यका दुई छोरीको नागरिकता बनेपछि मात्र झिक्न पाउने व्यवस्था गरिएको छ । दुई छोरीलाई दुई लाख पचास हजारका दरले रकम उपलब्ध गराइएको छ । 

रकम हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले दुई छोरीको शिक्षामा खर्च गर्नेगरी सो सहयोग रकम जुटाइएको जानकारी दिनुभयो । उहाँले स्वर्गीय आचार्यले राज्यको नीतिबाट बिरक्तिएर आत्मदाह गरी गरेको विद्रोहलाई राज्यले सम्बोधन गर्नुपर्ने र दुई छोरीको लालनपालन र पढाइको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यी कलिला अनुहारलाई सबै मिलेर गोडमेल गर्दै आकस्मिक घटनाले दिएको यो चोटलाई परिवारले शक्तिमा बदल्नु पर्छ ।’

कार्यक्रममा सूर्योदय नगरपालिका –१० का वडाध्यक्ष पेमा उगेन लामाले प्रेम आचार्यले स्थानीय उत्पादनलाई बजारीकरणमा जोड्न खोज्दा खाएका हण्डर र ठक्कर अन्य व्यवसायीले भोग्न नपर्ने गरी राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले स्वर्गीय प्रेम आचार्यले व्यवसाय गर्ने सबै युवाको अवस्था आचार्यले छताछुल्ल पार्नुभएकाले उहाँले उठाएका जायज माग सम्बोधन हुनुपर्ने बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य बस्नेतको सचिवालये आयोजना गरेको सो कार्यक्रममा बेल्जियममा बसोबास गर्ने इलामेसहित अन्य व्यक्तिसँग इलामका युवा ज्ञानु दाहालले समन्वय गरी उक्त रकम सङ्कलन गरिएको जानकारी गराइएको थियो । 

दाहालले उक्त रकम स्वर्गीय आचार्यका छोरीको पठनपाठनमा खर्च गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आचार्यले आफूले जे गर्दा पनि राज्य प्रर्णालीका कारण हण्डर मात्र खाएको भन्दै लामो फेसबुक स्ट्याटस लेखी केही महिनाअघि संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुभएको थियो ।