इस्लामावाद, चैत २३ गते । पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।
सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही अप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । प्रधानन्यायाधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पन्जाबको विधान सभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो ।
सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपिल गर्ने अन्तिम मिति अप्रिल १० कायम गरिएको छ भने १७ अप्रिल भित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ अप्रिलमा सार्वजनिक गर्नुपर्नेछ । रासस/पिटिआई